किसानलाई आधुनिक उपकरण
उदयपुर : कृषिमा व्यवसायीकरण गर्ने उद्देश्यका साथ किसानलाई मेसिनरी औजार प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) उदयपुरले ५० प्रतिशत अनुदानमा ५५ वटा कृषि सहकारी, समूह र फर्ममा आबद्ध किसानले प्राप्त गरेका हुन् ।
वितरण गरिएका उपकरण ३० लाख मूल्यबराबरका छन्। परियोजनाले ६ वर्षदेखि जोन, ब्लक र पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजना ८ वटै स्थानीय तहमा लागू भएको छ। कार्यक्रम तीन चरणमा सुरु गरेको परियोजना प्रमुख रामसोगारथ साहले बताए।
१० हेक्टरसम्म पकेट स्थानीय सरकारले, एक सय हेक्टरसम्म प्रदेशमार्फत ब्लक र पाँच सय हेक्टरमाथि जमिन उपलब्ध भए संघीय सरकारमार्पmत जोन कार्यक्रम सञ्चालन हुन्छ। ‘सोही आधारमा समूह छनोट गरी किसानलाई मिनिटेलर २५ वटा, कम्बाइन्ड मिल २९ वटा, ट्याक्टर १, पावरटेलर १, विडर १, भर्याङ ३, फुडस्पेयर ६, तौलमेसिन ५, थ्रेसर २, मकै गोड्ने मेसिन १, चार्जिङ स्प्रेयर ५ र क्रेट २ सय ६५ थान उपलब्ध गराइएको हो,’ उनले भने।
कटारी क्षेत्रले हेर्ने गरी सुन्तला जोन, गाईघाटबाट अदुवा÷बेसार र रामपुरबाट हेर्ने गरी धान, मकै, गहुँ लक्षित बहुवाली जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ। किसानलाई उपकरण हस्तान्तरण गर्दै जिसस प्रमुख खड्गबहादुर परियारले कृषि उत्पादकत्व बढाउने र किसानलाई सबलीकरण गर्न परियोजना सञ्चालनमा आएको बताए।
परियारले भने, ‘किसानलाई कम लागतमा बढी प्रतिफल दिलाउने परियोजनाको लक्ष्य छ। उत्पादनमा बृद्धि र व्यवसायीकरणमा जोड दिनुपर्छ।’ कृषिबाट मात्र मुलुक आत्मनिर्भर बन्न सक्ने भएकाले दत्तचित्त भएर कृषिमा लाग्न कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीले बताए।
बढ्दो यान्त्रिकीकरणले किसानलाई समयको बचत, प्रविधिको विकास र संरक्षणमा टेवा पुगेको बताए। १० वर्षमा कृषि क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ सुरु भएको परियोजनाअन्तर्गत जोन, पकेट र ब्लक कार्यक्रम सञ्चालन हुँदै आएको हो।