हिउँले गुल्जार मुस्ताङ (फोटोसहित)
जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङमा दोस्रो पटक भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि परेको निरन्तर हिमपात शुक्रबार बिहान मात्र रोकिएको हो ।हिउँ परेसँगै मुस्ताङका डाँडाकाँडा ,खर्क र बस्ती सबै सेताम्मे बनेका छन् ।
मुस्ताङमा परेको दोस्रो पटक हिमपातको प्रभाव उपल्लो मुस्ताङभन्दा तल्लो मुस्ताङमा बढी देखिएको छ । उपल्लो मुस्ताङमा दुई फिट हिउँ परेको थियो भने तल्लो मुस्ताङमा ३ फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
दोस्रो पटकको भारी हिमपातो प्रभावले उपल्लो मुस्ताङ जाने सडक र जोमसोम-मुक्तिनाथ सडक पूर्णरुपमा बन्द भएको छ भने बेनी-जोमसोम सडकअन्तर्गत जोमसोम देखि घाँसासम्मको सडकमाथि हिउँ थुप्रिएको छ। मुस्ताङका ५ वटै स्थानीय तहमा भारी हिमपात भएको हो ।
मुस्ताङमा जारी सिजनको गत पुसको दोस्रो साता भारी हिमपात भएको थियो । पहिलो हिमपात परेको एक महिनापछि मुस्ताङमा दोस्रो पटक भारी हिमपात भएको हो ।विगत १० वर्षअघि मुस्ताङमा भारी हिमपात हुने गथ्र्यो ।
पछिल्ला वर्षहरुमा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष हिउँसँगै वर्षा हुने गथ्र्यो ।तर,योवर्ष अपेक्षा गरेअनुरुपमा हिमपात भएपछि स्थानीय किसान उत्साहित भएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिए ।
उनका अनुसार हिउँदको हिउँले जमिनको सतहलाई भित्री सतहसम्म सिंचाई गर्ने , कृषकले लगाएको अन्नबाली सप्रिनुको साथै फलफूल, अन्नबाली र तरकारी फलफूल फल्न र फूल फुल्नमा सहयोग पुग्ने बस्ताकोटीको भनाइ छ ।
मुस्ताङको प्रमुख नगदेबाली स्याल बोटको कटिङ पुसदेखि माघ मसान्तसम्म हुन्छ । स्याउ बगैचा व्यवस्थापनको समयमा हिमपात हुँदा कृषिक्षेत्रलाई फाइदा पुग्ने बस्ताकोटीले बताए । उनका अनुसार हिउँको प्रभावले उत्पादन र गणस्तरीय फल उत्पादन हुने गर्छ ।
यस्तै, मुस्ताङमा परेको हिमपातले पर्यटन क्षेत्रलाई टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । मुस्ताङमा फागुनदेखि पर्यटकीय गतिविधि चलाएमान हुनेगर्छ । हिउँकै कारण जिल्ला बाहिरका पर्यटक मुस्ताङ आउनेमा पर्यटन व्यवसायी आशावादी छन् ।
कोरोना कहर अघि वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथमा दोस्रो राष्ट्रिय प्रतियोगितमा भएको थियो । नेपालका नागरिकले क्रमशः कोभिड भ्याक्सिन लगाएकाले पर्यटक मुस्ताङमा पर्यटक आउने व्यवसायीहरुको अनुमान छ ।
मुस्ताङमा हिउँ परेसँगै अत्यधिक चिसो बढेको छ । हिमपात भएसँगै स्थानीय नागरिक घरभित्रै बस्न बाध्य छन् । उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
भारी हिमपातले मुस्ताङका परम्परागत पुराना घरहरु जोखिम परेका छन् । घरमाथि छतमा हिउँ थुप्रिएकाले परम्परागत घरहरुमा पानी चुहिने र भत्किने गरेका छन् । घरमाथि भारी हिउँ थुप्रिएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय जुटेका छन् । यस्तै, अत्यधिक चिसो र हिमपातका कारण मुस्ताङमा विकास निर्माणका कामहरु ठप्पै छन् ।