समयमै क्यान्सरको पहिचान भए सजिलै निको हुन्छ

समयमै क्यान्सरको पहिचान भए सजिलै निको हुन्छ

कर्णाली प्रदेशको जुम्ला जिल्लामा जन्मिएका डा. अरुण शाही युरोपियन सर्टिफाइड मेडिकल अंकोलोजिस्ट हुन्। उनले बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी, ढाका बंगलादेशबाट एमडी गरेका हुन्। भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरबाट मेडिकल अंकोलोजीमा एड्भान्स्ड कोर्स पनि गरेका छन्। क्यान्सरको अवस्था, निदान, उपचारलगायत विषयमा पाटन अस्पतालमा कार्यरत डा. शाहीसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानी :

क्यान्सर रोग कसरी लाग्छ ? 
शरीर अनगिन्ती कोषिकाले बनेको हुन्छ। ती अनियन्त्रित तरिकाले वृद्धि भएपछि अन्य तन्तुलाई पनि असर गर्छ। यस्तो अवस्थामा क्यान्सर रोग हुन्छ। अहिलेसम्म सयभन्दा बढी क्यान्सर पत्ता लागेका छन्। सुरुमै पहिचान गर्न सक्ने हो भने क्यान्सरको उपचार शतप्रतिशत सम्भव छ।

क्यान्सरका बिरामी हरेक वर्ष हजारौंको संख्यामा वृद्धि भइरहेका छन्। यसको कारण ?
खानपिन र जीवनशैली नै हो। धूमपान, मद्यपान, मोटोपना र अस्वस्थ जीवनशैलीले गर्दा नै नेपालमा पनि क्यान्सरका बिरामी बढिरहेका छन्। यसबाहेक ५ देखि १० प्रतिशत क्यान्सरका बिरामीमा वंशाणुगत समस्या पनि देखिएको छ। घरमा हजुरबुवा, आमाबुवा वा नातेदार कसैलाई क्यान्सर छ भने सन्तानलाई पनि भएको पृष्ठभूमि पाइएको छ।

उपचारका लागि विशेषज्ञसमक्ष पुग्ने बिरामीको अवस्था कस्तो छ ?
अधिकांश व्यक्ति समस्याले साह्रै गाह्रो बनायो भने मात्र जँचाउन पुग्छन्। स्तनको गिर्खा नदुख्दासम्म उपचारमा नजाने प्रवृत्ति छ। ९० प्रतिशत बिरामी क्यान्सरले जटिल अवस्थामा पुर्‍याइसकेपछि मात्र विज्ञ खोज्दै आएको पाइन्छ। त्यसैले नेपालमा क्यान्सरका बिरामीको मृत्युदर पनि बढी छ।

मधुमेह, उच्च रक्तचाप र थाइराइडमा लामो समय औषधि खानुपर्छ। क्यान्सर हुँदा लामो समय औषधि सेवन गर्नुपर्छ कि पर्दैन ?
सुरुकै अवस्थामा पहिचान गर्न सक्ने हो भने मधुमेह, उच्च रक्तचाप र थाइराइडभन्दा क्यान्सर केही कुरामा सहज हुन्छ। यी तीन हुँदा मुख बार्नु पर्छ। खानपानमा बढी सजग हुनुपर्छ। तर, क्यान्सरमा केही गर्नु पर्दैन। त्यसैले यी तीनभन्दा पनि असल रोगको रूपमा क्यान्सरलाई लिने गर्छु। तर क्यान्सर विभिन्न अंगमा सरिसकेको अवस्था छ भने यो जति खराब अरू केही रोग छैन। बिरामी मात्र होइन, पारिवारिक वातावरण नै तहसनहस हुन्छ। खर्च पनि बढी गर्नुपर्ने हुन्छ।

क्यान्सरको रोकथाम तथा समयमै पहिचान गर्न के गर्नु पर्ला ?
क्यान्सरको रोकथाम र पहिचानका लागि परीक्षण (स्क्रिनिङ)मा ध्यान दिनुपर्छ। सुरुकै अवस्थामा पहिचान भयो भने ९० प्रतिशत क्यान्सर पूर्णरूपमा निको पार्न सकिन्छ। तर, ढिलो पहिचान हुँदा बिरामीको उपचार पनि खर्चिलो हुने र पूर्ण निको नहुन पनि हुन्छ।

नेपालमा भएका सरकारी एवं निजी स्वास्थ्य संंस्थाहरूमा सबै खालका क्यान्सरको उपचार सम्भव छ ?
९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुन्छ। रोबोटिक सर्जरी, प्रोटोन थेरापीलगायत केही उपचारविधि स्वदेशमा उपलब्ध हुन सकेको छैन। त्यसैले बाँकी एक प्रतिशतका लागि मात्र अन्य मुलुक जानुपर्ने हुन सक्छ।

पाटन अस्पतालमा क्यान्सरका बिरामीको उपचार कसरी भइरहेको छ ?
सर्वप्रथम पाटन अस्पतालको व्यवस्थापन समूहलाई हृदयदेखि धन्यवाद दिन्छु। अस्पतालमा रेडिएसन (विकिरण) बाहेक सबै खालका उपचार सेवा उपलब्ध छ। २०७६ जेठ महिनादेखि क्यान्सरका बिरामीको पनि उपचार सुरु भएको हो। अहिले दैनिक २० देखि २५ जनासम्म क्यान्सरका बिरामी केमोथेरापी उपचार सेवा लिइरहेका छन्। बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रवाह गरिरहेका छौं। एक किसिमको रगतकोे क्यान्सर (सीएमएल), पेटको क्यान्सर (जिस्ट), एक खालको मिर्गौला र फोक्सोको क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेका छौं। १५ हजारदेखि 
झन्डै २० लाखसम्म पर्ने औषधि निःशुल्क लिइरहेका छन्। नेपालमा दुई हजार व्यक्तिलाई उपलब्ध गराइएको छ।

चार किसिमको क्यान्सरको औषधि बिरामीलाई आजीवन दिइने हो ?
पाटन अस्पतालको समन्वयमा म्याक्स फाउन्डेसनमार्फत औषधि पठाइएको हो। २० वर्षदेखि यो औषधि दिँदै आएका छौं। मापदण्डभित्र परेका नेपाली बिरामीलाई मात्र आजीवन दिइन्छ।

क्यान्सरका बिरामी स्वदेशभन्दा अन्य मुलुकमा उपचार गर्न जाने प्रवृत्ति कस्तो छ ?
भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पनि कम जाने गरेको अनुभव छ। त्यहाँ जाने बिरामीमध्ये २० देखि ३० प्रतिशत नेपाली नै रहेछन्। त्यसमध्ये झन्डै ८० प्रतिशत नेपालीलाई उपचार कसरी भइरहेको छ भन्नेबारे पर्याप्त जानकारी छैन। सम्पत्ति बेचेर पनि उपचारका लागि भारत गएको प्रत्यक्ष देखें।

भारतलगायत मुलुकमा उपचार गर्न जानेलाई सन्देश के दिनुहुन्छ ?
उपचार गर्न कहाँ जाने वा कोसँग उपचार गर्ने भन्ने बिरामीको अधिकारको कुरा हो। स्वदेशमै क्यान्सरका विज्ञ चिकित्सकहरू हुनुहुन्छ। बाहिर जाने नै हो भने पनि एक पटक नेपाली विज्ञ चिकित्सकसँग रायसल्लाह लिँदा बिरामीलाई धेरै फाइदा हुन्छ। अनावश्यकरूपमा खर्च र दुःख पाउनबाट बच्न सकिन्छ।

क्यान्सरको उपचारमा समतामूलक पहुँच कसरी पुर्‍याउन सकिन्छ ?
बिरामीको संख्या वृद्धि भएअनुसार विज्ञ चिकित्सकको उत्पादन हुन सकेको छैन। चिकित्सक र बिरामीको अनुपात नै मिलेको छैन। दक्ष जनशक्तिसँग पूर्वाधार पनि अपर्याप्त छ। त्यसैले जनशक्ति र पूर्वाधारको विकास गर्नुपर्छ। दूरदराजमा हुर्केका कारण पनि तल्लो तहका जनताको अवस्थाबारे राम्रो जानकारी छ। शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ। त्यसपछि बल्ल समाजको तल्लो तहमा 
उपचारको पहुँच पुग्छ।

क्यान्सरमा प्रयोग हुने केमोथेरापीको उपलब्धता र पहुँच कस्तो छ ?
अनियन्त्रित कोषिकाहरूलाई नष्ट गर्न केमो दिइन्छ। क्यान्सरको बिरामीलाई आवश्यक पर्ने केही औषधि विदेशबाट आयातीत हुन्छ। केही महंगा औषधिबाहेक अधिकांश औषधि नेपालमै पाइन्छ। बंगलादेशमा सरकारले क्यान्सरको औषधि निःशुल्क दिन्छ। नेपालमै क्यान्सरको औषधि बनाउन औषधि उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ। त्यसपछि सरकारले निःशुल्क औषधि दिन सके सबैको पहुँच पुग्न सक्छ।

केमोथेरापी पटकपटक र केही समयको अन्तरालमा दिइन्छ। किन ?
केमोले शरीरमा आवश्यक नभएको र अनियन्त्रित तरिकाले वृद्धि भइरहेको कोषिकालाई नष्ट गर्छ। त्योसँगै शरीरलाई आवश्यक भएको कोषिकालाई पनि मार्छ। बिरामीलाई एक पटक दिएपछि फेरि केही समयमा ग्याप राखिन्छ। नचाहिने कोषिका नष्ट नभए पनि आवश्यक पर्ने कोषिका त शरीरलाई चाहिन्छ। यो बीचको ग्याप भनेको शरीरलाई आवश्यक पर्ने कोषलाई स्वस्थ राख्न समय दिइएको हो। खानपिनमा ध्यान दिन भनेको नै चाहिने कोषिकालाई स्वस्थ र बलियो राख्न हो।

केमोथेरापी लिँदालिँदै पनि कतिपय बिरामीको ज्यान जान्छ। कारण के हो ?
कहिलेकाहीँ केमोथेरापीले शरीरका अन्य संवेदनशील अंंगमा पनि असर गर्छ। क्यान्सरका १ प्रतिशतभन्दा थोरै बिरामीमा केमोथेरापी लिँदालिँदै ज्यान गएको पाइएको छ। क्यान्सरको स्थिति र बिरामीको शारीरिक अवस्थाले केमो कसरी दिने भन्ने निर्धारण गर्नुपर्छ। बिरामीको 
शारीरिक अवस्था हेरेर केमो दिइन्छ। डोज मिलाएर केमो दिनुपर्छ। 

एकै छानामुनि क्यान्सरको उपचार सेवा उपलब्ध भए बिरामीलाई सहज हुन्थ्यो नि ?
हो। क्यान्सरका लागि टिमवर्क आवश्यकता पर्छ। क्यान्सरका साथै अन्य रोग पनि जोडिएको हुनसक्छ। शरीरका अन्य अंंगमा पनि समस्या देखिन सक्छ। त्यसैले क्यान्सरको उपचार जटिल प्रकृतिको हुन्छ। क्यान्सरको उपचारका क्रममा मुटु, मिर्गौलालगायत अंंगमा पनि समस्या देखिन सक्छ। त्यस्तो बेला अन्य विज्ञ चिकित्सकको पनि आवश्यकता पर्छ। क्यान्सरको उपचारमा पनि केमोथेरापी दिने मेडिकल अंकोलोजिस्ट, रेडिएसन दिने रेडिएसन अंकोलोजिस्ट, सर्जरी, प्याथोलोजिस्ट, रेडियोलोजिस्टको आवश्यकता पर्छ। सरकारी अस्पतालबाट कम्प्रिहेन्सिभ उपचार सेवा दिनु आवश्यक छ। पाटन अस्पतालमा नयाँ भवन बनाउने योजना छ। त्यसबाट कम्प्रिहेन्सिभ उपचार सेवा दिने लक्ष्य छ।

क्यान्सरको उपचारमा अपनाइने थेरापीहरू महँगो छ नि ?
वास्तवमा स्क्रिनिङदेखि हस्पिससम्मको व्यवस्थालाई क्यान्सरको उपचारको दायरामा राख्नुपर्छ। क्यान्सरका बिरामीको केमोथेरापी, रेडियोथेरापी र सर्जरी गरी तीन किसिमबाट उपचार भइरहेको छ। उपचार सेवा महँगो नै छ।

सरकारले उपचारका लागि रकम उपलब्ध गराएको छ। यसमा तपाईंको टिप्पणी के छ ?
क्यान्सरको पुष्टि हुनेबित्तिकै संघीय सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रदेश तहमा पनि छुट्टै आर्थिक सहयोग दिने योजना सार्वजनिक भएको छ। बागमती प्रदेशले डेढ लाख र लुम्बिनी प्रदेशले दुई लाख दिने घोषणा गरेको छ। यो पर्याप्त त छैन। यसले सुरुको उपचार वा सामान्य शल्यक्रिया गर्न सहयोग गर्छ। सरकारले सबैलाई एकै किसिमले एक लाख दिनेभन्दा क्यान्सरको प्रकृति हेरेर दिनुपर्छ।

क्यान्सरको उपचारमा असमानता छ नि, होइन ?
विकसित र विकासोन्मुख तथा अविकसित मुलुकबीच पनि उपचारमा असमानता छ। महिला र पुरुषबीच वा धनी गरिबबीच पनि उपचारमा पहुँचमा फरक छ। जातजातिबीच पनि उपचारमा असमानता छ। उपचारमा पहुँच 
समतामूलक हुनुपर्छ।

उपचारलाई कसरी समतामूलक बनाउन सकिन्छ ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसमा ध्यानाकर्षण गराएको छ। यसवर्षको नारा नै ‘क्लोज द केयर ग्याप’ राखिएको छ। सरकारले यसमा सहयोग गर्नुपर्छ। सरकारको सहयोगबिना उपचारमा असमानता हटाउन सकिँदैन।

क्यान्सर हुनबाट कसरी जोगिन सकिन्छ ?
खानपिन र जीवनशैली स्वस्थकर हुनुपर्छ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन किशोरीहरूलाई खोपको व्यवस्था गर्नुपर्छ। सरकारले राष्ट्रिय खोपमा समावेश गरी लगाइदिनु पर्छ। स्तन क्यान्सरबाट जोगिन ४५ वर्ष माथिका महिलाले हरेक वर्ष म्यामोग्राम गर्नुपर्छ। महिलाले पाठेघरको प्याप स्मेयर गर्नुपर्छ। सरकारले म्यामोग्राम र प्याप स्मेयर परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्नुपर्छ। कलेजोको क्यान्सर हुनबाट जोगाउन हेपाटाइटिस बीको खोप दिन सकिन्छ। सरकारले उपचारभन्दा रोगको परीक्षण (स्क्रिनिङ)लाई प्राथमिकतामा राख्नुपर्छ। क्यान्सरको समयमै पहिचान गर्न सके राष्ट्रलाई नै फाइदा हुने हो।

वंशाणुगत क्यान्सरको जोखिम कत्तिको हुन्छ ? कसरी सजगता अपनाउने ?
अहिलेसम्मका विभिन्न अध्ययनले ५ देखि १० प्रतिशतलाई वंशाणुगत हुन्छ। धेरैजसो वंशाणुगत छिट्टै नै थाहा हुनसक्छ। यसका लागि सजगता अपनाई बेलाबेलामा जँचाउनु पर्छ। लक्षणहरूप्रति सचेत हुनुपर्छ। यसबाहेक ९० प्रतिशत क्यान्सरको जोखिम अस्वस्थ खानपान र जीवनशैली नै हो।

कस्ता लक्षण देखिएको अवस्थामा क्यान्सरको शंका गर्नुपर्छ ?
विश्वमा हुने मृत्युको प्रमुख कारण क्यान्सर पनि बनेको छ। सामान्यतः खोकी दुईचार दिन लाग्छ। तर, लामो समयसम्म पनि खोकी निको भएन, खकारमा रगत देखा पर्‍यो भने शंका गर्नुपर्छ। वजन घट्ने, स्तनमा गाँठा भएको महसुस हुने, पेट दुख्ने, कब्जियत हुने, दिसा पातलो आउने, बान्ता आउनेलगायत विभिन्न लक्षण देखिएको अवस्थामा पनि क्यान्सरको शंका गर्नुपर्छ। कुन क्यान्सर हो ? त्यहीअनुसार विभिन्न लक्षण देखिन्छन्।

क्यान्सरका बिरामी उपचार गर्न ढिलो आउनुको मुख्य कारण के हो ?
नेपालमा स्तन क्यान्सर वा अन्य क्यान्सर भएका महिला उपचार गर्न ढिलो आउने गरेका छन्। यसमा उनीहरूको सोचाइ नै जिम्मेवार छ। आफूलाई क्यान्सर भयो भने श्रीमान् वा छोराछोरीको अवस्था कस्तो होला ? भन्ने स्वयं प्रश्न गरेर सोच्दै घरमा बस्छन्। धामीझाँक्री गर्ने वा आयुर्वेदिक उपचारतिर लाग्छन्। कोही चाहिँ उपचार खर्चिलो होला भनेर रोग लुकाएर बस्छन्। यो प्रवृत्तिमा परिवर्तन नहुँदासम्म चाँडै उपचार गर्न आउँदैनन्।

 शिक्षित व्यक्तिहरूमा पनि यस खालको प्रवृत्ति छ र ?
शिक्षित र जागिर खाइरहेका केही व्यक्ति पनि वैकल्पिक उपचारमा गइरहेको पाइन्छ। सञ्चो नभएपछि बल्ल उपचार गराउन विज्ञ खोज्दै आएका उदाहरण धेरै छन्। यस खालको प्रवृत्तिले पनि ढिलो अवस्थामा क्यान्सरको पहिचान 
भएको छ।

आर्थिक अवस्था पनि क्यान्सर रोग बढाउने कारक बनेको हो ?
पेटको क्यान्सर बढीजसो गरिबलाई देखिएको छ। किनकि उनीहरू बासी खाना खाइरहेका हुन्छन्। सुकुटी र मद्यपान सेवन गर्छन्। स्तन क्यान्सर सहरिया महिलामा बढी देखिएको छ। यसो हुनुको मुख्य कारण सहरिया महिलामा मदिरा सेवन गर्ने प्रवृत्ति हो। पाठेघरको मुखको क्यान्सर गरिब महिलामा बढी देखिएको छ। किनकि उनीहरूको खानपान र जीवनशैली स्तरीय हुँदैन।

कोरोना संक्रमणको तेस्रो लहरमा छौं। संक्रमणले क्यान्सरका बिरामीलाई कस्तो असर परिरहेको छ ?
क्यान्सरलगायतका दीर्घ बिरामीलाई संक्रमणले असर परेको छ। संक्रमणको पहिलो लहरमा क्यान्सरभन्दा कोभिडलाई प्राथमिकता दिँदा केमोथेरापी दिनुपर्ने बिरामीले समयमा सेवा लिनबाट वञ्चित हुनुपर्‍यो। संक्रमणको दोस्रो लहरमा सिक्यौं। संक्रमणको दोस्रो लहरमा सेवा चुस्त गर्‍यौं। क्यान्सरका धेरै बिरामीको ज्यान जोगाउन सफल भयौं। संक्रमणको तेस्रो लहरमा क्यान्सरका बिरामीमा पनि संक्रमण देखिएको छ। क्यान्सरका बिरामीले खोप लगाउन मिल्छ। खोप लगाएका कारण मृत्युदर पनि कम भएको छ। जोन्सन एन्ड जोन्सनबाहेक अन्य खोप बुस्टर डोजका रूपमा क्यान्सरका बिरामीले लिन मिल्छ।

स्वास्थ्य सेवामा सरकारी, सामुदायिक र निजी क्षेत्रबीच साझेदारी गर्न सकिन्छ ?
यसका लागि सबैभन्दा पहिले कार्यविधि तयार गर्नुपर्छ। सरकारी, सामुदायिक र निजी क्षेत्रसँगको सहकार्य गरेर सबै प्रदेशमा प्रतीकारात्मक तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न सकिन्छ। समुदायमा आधारित पुनस्र्थापनात्मक तथा प्रशामक (क्यान्सर रोगीलाई उपचारका क्रममा खानपानका व्यवस्था) सेवालाई विकास र विस्तार गर्न 
सकियो भने उपचारमा दूरदराजमा बस्नेको पनि पहुँच पुग्न सक्छ।

संघ, प्रदेश र स्थानीय तीनवटै तहमा सबै किसिमका स्वास्थ्य सेवाको सन्तुलित विकास र विस्तार कसरी गर्न सकिन्छ ?
भौगोलिक अवस्थिति एवं आवश्यकताको आधारमा तीनवटै तहमा दक्ष जनशक्तिको विकास र विस्तार गर्नुपर्छ। जनशक्तिको विकास र विस्तारका लागि प्राथमिकताका आधारमा स्वास्थ्यका विभिन्न विधामा छात्रवृत्ति प्रदान गर्न सकिन्छ। स्वास्थ्य सेवालाई नाफामूलकभन्दा पनि सेवामूलक क्षेत्रमा रूपान्तरण गर्नुपर्छ। सरकारले यसको जिम्मेवारी लिएर विज्ञहरू सम्मिलित छुट्टै रणनीति बनाउनुपर्ने आवश्यकता छ।

क्यान्सरलगायत नसर्ने रोगको नियन्त्रण एवं उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन कस्तो रणनीति उपयुक्त हुन्छ ?
सर्वप्रथम त सरकारले नै नेतृत्वदायी भूमिका लिनुपर्छ। नसर्ने रोगबारे जनचेतना फैलाउनु पर्छ। गाह्रो नहुँदासम्म स्वास्थ्य संस्था नपुग्ने बानीमा सुधार ल्याउनु पर्छ। त्यसका लागि मिडिया एवं सामाजिक सञ्जालको उपयोग गर्न सकिन्छ। त्यसैले क्यान्सरबारेको गलत बुझाइ हटाउन सचेतनालाई व्यापक बनाउनु पर्छ। क्यान्सरविरुद्ध प्रतीकारात्मक, प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्छ। त्यसपछि उपचारात्मक र पुनस्र्थापनात्मकका आधारभूतदेखि विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्छ। कम्प्रिहेन्सिभ उपचार सेवा प्रवाह गर्नुपर्छ। सरकारले रोगको पहिचानदेखि उपचारसम्मको व्यवस्था 
एउटै छानामुनि गर्नुपर्छ।

केमोथेरापीलाई सस्तो र सर्वसुलभ कसरी बनाउन सकिन्छ ?
केमो लेखेर दिए पनि कतिपय बिरामीले खरिद गरेर सेवन नगरेको पाएको छु। किनभने उनीहरूसँगै औषधि किन्ने पैसा नै छैन। केही समय खाए पनि बीचमै छोडिदिएको पाएको छु। औषधि महँगो छ। त्यसैले क्यान्सरको औषधि उत्पादनका लागि नेपालकै औषधि कम्पनीहरूलाई प्रवद्र्धन गर्नुपर्छ। स्वदेशमै क्यान्सरको औषधि उत्पादन गर्न सके धेरै सस्तो पथ्र्यो।

क्यान्सरका कस्ता बिरामीले कोरोना संक्रमणविरुद्धको खोप लिन हुन्छ ?
क्यान्सरका सबै बिरामीले कोरोनाविरुद्धको खोप लिन मिल्छ। भर्खरै बोन म्यारो ट्रान्सप्लान्ट गरेका बिरामी, कार्टिसेल लिएका बिरामी, एएनसी नम्बर हजारभन्दा कम भएका बिरामीले कोभिड–१९ विरुद्धको खोप लिन हुँदैन। उनीहरूले ट्रान्सप्लान्ट गरेको बेलादेखि ३ देखि ६ महिनामा आफूले उपचार गरेको विज्ञ चिकित्सकसँग 
परामर्श गरी खोपबारे सल्लाह लिन सकिन्छ। केमोथेरोपी÷रेडियोथेरापी÷अप्रेसन गर्नुपर्ने सेवा लिनु केही दिनअघि वा केही दिनपछि कोरोनाविरुद्धको खोप लिन सकिन्छ। खोप लिने वा नलिनेबारे अन्योल भएमा क्यान्सरका विज्ञ चिकित्सकसँग परामर्श गर्नुपर्छ। बुस्टर डोजको सन्दर्भमा जोन्सन खोपबाहेक सरकारले उपलब्ध गराएका कोरोना विरुद्धको खोप लिन सकिन्छ।

क्यान्सरको उपचारमा दक्ष जनशक्ति उत्पादन गर्न के गर्न सकिन्छ ?
मुलुकभर विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। निजी मेडिकल कलेजहरू छन्। सबै शैक्षिक संस्थाले दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ। यसमा सरकार, निजी क्षेत्रको इच्छाशक्ति भए पुग्छ। दक्ष जनशक्ति उत्पादन गर्न गाह्रो छैन।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हकको व्यवस्था गरेको छ। यो हकलाई व्यवहारमा कार्यान्वयन गर्न के गर्नुपर्ला ?
शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ। सरकारले यी दुई क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ। गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवामा समतामूलक पहुँच सुनिश्चित गर्नुपर्छ। यो त राज्यको दायित्व नै हो। शिक्षा, स्वास्थ्य, सुशासन र अनुसन्धानमा लगानी बढाउनु पर्छ। कुनै पनि व्यक्ति शिक्षाको ज्योतिबाट वञ्चित नहोस्। कुनै पनि नागरिक उपचार नपाएर मर्न नपरोस्। सरकारले उत्तरदायित्व र प्रभावकारी नियमन बढाउनु पर्छ। सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै शिक्षित र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्नुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.