आठ वर्षदेखि अलपत्र सेतीदोभानको पुल ३ महिनामै बन्ने
स्याङ्जा : अलपत्रै अवस्थामा रहेको सेतीदोभानको पक्की पुल आउँदो ३ महिनाभित्र बनाउन सरोकारवाला सहमत भएका छन्। सहमत जनाएसँगै निर्माण व्यवसायीले मंगलबारदेखि पुल निर्माणको काम सुरु गरेको हो।
विगत ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्यका लागि ठेकेदार कम्पनी र सडक डिभिजनले स्याङ्जा प्रशासनमा सरोकारवालाबीच लिखित प्रतिवद्धता जनाएको छ।
आँधीखोला गाउँपालिका वडा नं ५ र ६ जोड्ने गरी निर्माणाधीने मोटरेबल पुल बन्न नसके गुनासा बढेपछि परेपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पुल निर्माणमा चासो बढाए।
उनले सम्बन्धित निर्माण ब्यवसायी, सडक डिभिजन कार्यालय पोखरा, स्थानीय सरोकारवालाबीच पटकपटक छलफल गराएपछि निर्माण कार्य अघि बढाउन आवश्यक पर्ने कार्ययोजना तयार पारे। त्यसपछि पुल निर्माणका लागि सहज गति बन्यो।
प्रजिअ पौडेलले निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयका इन्जिनियरसहितको बैठक बोलाएपछि दुबै पक्षले आ-आफना कमीकमजोरी सुधार गर्दे निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जनाएका हुन्।
'चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी सरोकारवाला सबैलाई सूचना दिएका छौं, आशा छ, यसवर्ष पुल निर्माण सम्पन्न हुनेछ,' प्रजिअ पौडेलले भने। ०७१ असोजमा सुरु गरिएको मोटरेबल पुल ०७३ असोजमा सक्नुपर्ने थियो। तर, निर्माण कार्यसुरुको ५/६ महिनापछि रोकिन सुरु भयो। सम्झौता अनुरुप ५ jर्षअघि हस्तान्तरण गर्नुपर्ने पुल अझै निर्माण कार्य आधा पुरा भएको छैंन।
निर्माण व्यवसायी र सडकको लापरवाहीका कारण पुल निर्माण हुन नसकेको बताउँछन् गाउँपालिकाका अध्यक्ष सुधिर पौडेल। पुल निर्माणमा दुबै पक्षका कमीकमजोरी छन्। दुबैले कमजोरी सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ।
उनले भने, 'अलपत्र परेको पुलका कारण स्थानीयले धेरै दु:ख भोग्नु परेको छ। ' पटकपटक गरी सम्झौता र सहमति बने तर पुल बन्न नसक्दा यहाँका नागरिकले हैरानी भोग्नु परेको छ। राज्यको लाखौं रकम नष्ट भएको छ।
त्यसो त, निर्माण व्यवासायी ऋषिराम गौतमले पनि सडक र आफूबीच कुनै किसिमको डिजाइन नदिने तर बनेपछि भत्काउने काम गरेकाले पुल निर्माणमा कठिनाइ भएको बताए।
'पुल अलपत्र बन्यो भन्दै गुनासो आउँछन्। बनाउन थाल्छु। फेरि भत्काउन थाल्छन। उनले भने,' पटकपटक पुल भत्काउँदा लाखौं रुपैयाँको नोक्सान परेको उनले भने।
सडक डिभिजन कार्यालय पोखराका डिभिजनल इन्जिनियर पारशमणी हमालले ३ महिनाभित्र निर्माण सम्पन्न गर्न सुझाव दिए। ‘पुल निर्माण गर्नका लागि आवश्यक पर्ने कामदारलगायत थप गर्नुपर्ने कुराहरु थप गर्न कार्यालयले सहयोग गर्नेछ,' उनले भने।
निर्माणाधीन पुलको निरीक्षणसहित सरोकारवालाले स्थानीबासीबीच प्रतिवद्धता जनाएका छन्। पटकपटक आफूहरुमाथि धोका भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे। अब, पनि पुल बनेन् भने सबै मिलेर भत्काउने सम्मका चेतावनी दिएका थिए।
उक्त पुल निर्माणको जिम्मा कान्छाराम आशीष जेबीले पाएको हो। चालिस मिटर लम्बाई र ७ मिटर चौडाईको सो पुल ३ करोड २७ लाखको लागतमा २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी त्यतिबेला सम्झौता भएको थियो।
पटक पटक बन्ने आश्वासन सुन्दै आएका स्थानीयले भने फेरि अलपत्रै पार्ने हो भन्दै निर्माणस्थल पुगेका सरोकारवालामाथि आक्रोश पोखेका थिए। निर्माण कम्पनीका लाखौं मूल्य बराबरका सामग्री नष्ट भएका छन्। पुल वरपर रहेका फलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेर, काठ तथा फलामे सटिङ्का सामग्री यत्रतत्र रहेका छन्।
आँधीखोलामा निर्माणाधीन पुलले सडकलाई सेतीदोभान बजारसँग जोडेको छ। पुल अलपत्र अवस्थामा हुँदा जावतआवतमा समस्या हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा कठिनाइ भएको समाजसेवी प्रेमराज पौडेलले बताए।
उनका अनुसार, पुल निर्माण भएमा नेपालकै पहिलो ग्रामिण पर्यटकीयस्थल सिरुवारी पुग्ने छोटो र सजिलो बन्छ। यहाँबाट दरौ, पञ्चमूल, आरूचौर, चिलाउनेवास, विचारीचौतारा, फापरथुम र पर्वत जिल्लाका केही वडाबासी समेत प्रत्यक्ष लाभान्वित हुनेछन्।