रामपुकार : कृषकलाई गँड्यौला मलप्रति आकर्षित बनाउँदै

रामपुकार : कृषकलाई गँड्यौला मलप्रति आकर्षित बनाउँदै

ढल्केवर(धनुषा) : केही महिना अघिसम्म धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ५० वर्षीय रामपुकार यादवको काम देखेर गाउँमा प्रायः जसोले खेदो खन्थे। विगत दुई वर्षदेखि रामपुकारले गँड्यौला मल उत्पादन गरिरहेका छन्।

पछिल्लो समय किसानहरु रसायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास नहुनु कुनै अनौठोको विषय थिएन। तर अहिले त्यसको ठिक उल्टो भएको छ।

रामपुकारले गाउँका किसानको मन जित्न थालेका छन्। त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ। एउटा खाडल(पिट)बाट सुरु गरेको रामपुकारले अहिले आठवटा खाडल विस्तार गरेर गँड्यौला मल उत्पादन गरिरहेका छन्।

दुई वर्षअघि धनुषाको विरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो। त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे सिकेको रामपुकार बताउँछन्। उनका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निःशुल्करुपमा उपलब्ध गराएको थियो।

दुई बिघा जग्गामा कृषि खेती गर्दै आएका उनले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न गँड्यौला मलको उत्पादन सुरु गरेका थिए। तर गँड्यौला मलका प्रयोगले उत्पादनमा व्यापक फरक देखिएपछि व्यवसायिक रुपले यसको उत्पादन गर्ने मनसाय बनाएको उनी सुनाउँछन्।

उनले करिब ६ कठ्ठामा आलु खेती गरेका छन्। ‘आलु वालीमा कुनै पनि रसायनिक मल दिएको छैन्। गँड्यौला मलको प्रयोग मात्र गरेको छु। आलुको विरुवा अहिले पनि हरियो छ। रसायनिक मल प्रयोग गरेको अर्काको आलु खेती देखाउँदै रामपुकारले भने, ‘त्यस खेतको आलुको बिरुवा हेर्नुस्, सबै सुक्न थाल्यो। पातहरु पहेलो भइसक्यो।’

आफ्नो कृषि खेतीको उत्पादन देखेर गाउँका अन्य किसानले गँड्यौला मलको महत्व बुझदैँ गएको उनको भनाई छ। यसवर्ष मात्रै १८ क्वीन्टल गँड्यौला मल विक्री गरेको यादवले बताए। 

‘सुरुको दिनमा यो मलप्रति कसैलाई विश्वास थिएन। उत्पादित मल बिक्री गर्न समस्या थियो। तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो। अहिले गाउँका मात्र नभएर टाँढा–टाँढाका किसान मल लिन यहाँ आउने गरेको छ,’ खुशी हुँदै यादवले भने। छिट्टै आफ्नै नाउँमा एउटा कम्पनी दर्ता गराएर गँड्यौला मल बिक्री केन्द्र संचालन गर्ने योजना रहेको यादवले सुनाए। 

माटोको प्राकृतिक गुण कायम राख्नुकासाथै माटोको मलिलोपना बढाउन गँड्यौला मल एकदमै उपयोगी भएको कृषि प्राविधिक(जेटिए) नरेशचन्द्र बरबरियाले बताउँछन्।

गाउँघरमा गाई भैंसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल  बनाउन सजिलो हुने हुँदा गणेशमान चारनाथ नगरपालिकाका २५ जना किसानलाई दुई वर्षअघि गँड्यौला मल बनाउने तालिम दिइएकोे सामुदायिक सुधार केन्द्र(सिआइसी)का अध्यक्ष सन्जय साहले जानकारी दिए। 

गँड्यौला मल रासायनिक मल जत्तिको नै फाइदा दिने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकोले उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरुकता पैदा गर्ने प्रयासमा लागेको उनले बताए।

रसायनिक मलको परनिर्भरता कम गर्ने हुँदा नेपाल सरकारले गँड्यौला मल उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष साहको बुझाइ छ। रसायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्यालाई न्यूनीकरण गर्न कृषि बालीमा गँड्यौला मलको प्रयोगमा कृषकलाई आकर्षित गर्नु सबैको दायित्व रहेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.