चलचित्रमा सिन्धुलीगढी
काठमाडौं : वि.सं. १९२४ ताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबीचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ।
गोर्खाली फौजले अंग्रेजी फौजलाई पराजित गरेको उक्त युद्धमा आधारित चलचित्र विश्वदीप (विश्वमणि) घिमिरेको निर्देशनमा बन्न लागेको हो। निर्देशक घिमिरेकै पटकथा तथा सम्वाद रहेको चलचित्रको निर्माता सास अधिकारी हुन्। चलचित्र सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो।
निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको पटकथा तथा सम्वाद तयार पारेको बताए। उनले नेपालको सार्वभौमिकताको रक्षामा कोशेढुंगा सावित भएको उक्त वीरतापूर्ण युद्धको कथा र वीरताको गाथा संसारलाई सुनाउने उद्देश्यले चलचित्र ‘सिन्धुलीगढी’ निर्माण गर्न लागेको जानकारी दिए।
निर्माता अधिकारीले ‘सिन्धुलीगढी’ चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले प्राविधिक सहयोग गर्ने जानकारी दिए। उनका अनुसार सिन्धुली, काभ्रे र काठमाडौंमा छायांकन हुने यस चलचित्रको पोस्ट् प्रोडक्सन भारतको मुम्बईमा हुनेछ। चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा समेत स्वराङ्कन गरिने छ। उनले चलचित्रका लागि मुख्य कलाकार अडिसन प्रक्रियाबाट छनोट गर्ने काम भइरहेको जानकारी दिए।