हिमपातपछि खुम्बु क्षेत्रमा टेलिकमको नेटवर्कमा समस्या
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा केही दिनयता नेपाल टेलिकमको नेटवर्क स्थिर नहुँदा समस्या भएको छ। पछिल्लो एक सातादेखि नेटवर्क आउँने जाने भईरहदाँ खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित बनेको स्थानीयले बताएका छन्।
खुम्बुमा नेपाल टेलिकमको एनटिसी र एडिएसएल फोन सेवा बारम्बर अवरुद्ध भईरहदाँ कार्यालयको सेवा प्रभावदेखि आफन्तहरुसँग कुराकानी गर्नसमेत समस्या भएको स्थानीय अमृत मगरले बताए। एडिएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवासमेत अवरुद्ध हुने भएकाले कार्यालयको काम नै बारम्बार प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ।
कार्यालयको अधिकांश कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट अवरुद्ध हुने वित्तिकै विमानस्थल नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताए। सोलुखुम्बुको क्याम्जे टावरको अटो व्याकपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए।
त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केहि दिन यता क्याम्जे टावरमा जान नसकेको कारण व्याकप सुचारु गर्न नसकेको उनको भनाई छ। समस्या समाधानका लागि आफुले टेलिकम शाखा सल्लेरीलाई निर्देशन दिइसकेकाले समस्या पूर्णरुपमा समाधान हुने प्रमुख पन्थीले बताए।