सोलु करिडोरको लाइन फागुन २ गते प्रसारण गर्ने तयारी
सोलुखुम्बु : बहुप्रतिक्षित सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आगामी सोमबारबाट सञ्चालनमा आउने भएको छ। परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिए।
उनका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख विरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
जसका लागि अहिले रुख विरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ। आयोजनाको काम करिब १ महिना अगाडि नै सम्पन्न भए पनि रुट क्षेत्रमा रुख विरुवाको संख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ।
प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ। वन क्षेत्रमा हुर्किएका र बढेका ३६४ रुख विरुवा कटानका लागि प्रस्ताव पेश गरेको छ। सन् २०१६ को सेप्टेम्बर २५ बाट यो प्रसारण लाइनको निर्माण सुरु गरेको थियो। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ। प्रसारण लाइनको रुटमा ३ सय २ वटा टावर निर्माण भएका छन्। आयोजनाले यसअघि तिङलादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरेको थियो। उक्त परीक्षण सफल भएपछि आज (शनिबार) बाँकी खण्ड उदयपुरदेखि सिराहसम्मको क्षेत्रमा परीक्षण गरिने जनाइएको छ।
प्रसारण लाइन सञ्चालनमा आउनासाथ २३.५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत प्रवाह हुनेछ। वि.स २०७६ चैतदेखि सञ्चालनमा आएको आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।
हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत खेर गइरहेको थियो। सोही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको बेनी लगायत आयोजनाको काम भइरहेको छ।