पोखरा-जोमसोम हवाई उडान दुई महिनादेखि ठप्प
जोमसोम: पोखरा-जोमसोम हवाई उडान विगत दुई महिनादेखि ठप्प छ। गत पुस पहिलो सातादेखि ठप्प रहेको पोखरा-जोमसोम हवाई सेवा अझै सञ्चालनमा आएको छैन।
सरकारले आन्तरिक तथा बाह्य उडानमा कुनै रोक लगाएको छैन। यद्यपि, मुस्ताङमा हवाई सेवा ठप्प रहँदा यहाँका पर्यटन व्यवसायी भने चिन्तित देखिएका छन्। मुस्ताङमा हवाई उडान नहुँदा जोमसोम विमानस्थल गुमनाम छ। झन्डै १० सय मिटर क्षेत्रमा फैलिएको यहाँको कालोपत्रे विमानस्थल जहाजको पर्खाइमा छ। तर, जहाज कहिले आउँछ भन्ने अझै टुंगो लागेको छैन। पोखरास्थित तारा एअरलाइन्सका एक प्रतिनिधिले पोखरा-जोमसोम हवाई सेवा मार्च १ तारिखदेखि सञ्चालनमा आउने बताएका छन्। उनका जहाजहरु मर्मत सुधारमा रहेको, मौसम प्रतिकुलता र पर्यटकीय अफसिजन भएकाले उडान नियमित हुन नसकेको हो।
कोरोना सक्रमणकाल अघि हिउँदयामको मौसममा पर्यटकीय अफसिजन समेत भए पनि तारा एअरको जहाजले कम्तिमा एक उडान भर्ने गर्दथ्यो। चालु वर्ष भने विगतमा दिँदै आएको नियमित उडान समेत यसपटक रद्द गरेको हो।
अत्यधिक चिसो र हिमपातका कारण हिउँदयाममा मुस्ताङको पर्यटन सुनसान हुने गर्छ। मुस्ताङमा पर्यटकको उपस्थिति नहुने भएपछि निजी एअरलाइन्स कम्पनीहरुले पोखरा-जोमसोम हवाई उडानमा चाँसो नदिएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले जानकारी दिए। उनका अनुसार यहाँ आउने पर्यटक नहुने र मौसम प्रतिकुलता कारण निजी एअरलाइन्स कम्पनीले सेवा दिन नसकेका हुन्। मुस्ताङमा पुसको पहिलो सातादेखि अहिलेसम्म जहाज आउन नसकेको उनले बताए।
मुस्ताङमा तारा एअर र समिट एअरका साना जहाजहरुले उडान भर्ने गर्दथे। वसन्त ऋतुको आगमनपछि पोखरा-जोमसोम हवाई दैनिक १८ उडानसम्म हुने गर्थ्यो। तर अहिले एक उडानसम्म हुन सकेको छैन।
पोखरा-जोमसोम हवाई सेवा ठप्प हुँदा जिल्लाका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय नागरिकलाई आउजाउमा निकै समस्या पर्दै आएको छ। निर्माणाधीन बेनी-जोमसोम सडकमा ठाउँ-ठाउँमा टाइमकार्ड लगाइएकाले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीयलाई सास्ती हुने गरेको छ। त्यसै मुस्ताङमा कुनै नागरिक आकस्मिक बिरामी पर्दा उपचारका लागि सुगमको अस्पतालमा पुर्याउन समस्या परिरहेको छ। हवाई सेवा नियमित भएको भए यहाँका बिरामीलाई छिटो-छरितो उपचारका लागि सुगमका अस्पतालमा पुर्याउन सहज हुने स्थानीयको भनाइ छ।