सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासो र गुलेलीसहित २ जना पक्राउ
सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासो र गुलेलीसहित २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका ४ गुदेलका ४० वर्षीय मोतिनन्द राई र थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका २७ वर्षीय कमल रसाईली २७ रहेका छन्।
उनीहरुलाई लुक्ला मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट २१ थान पासो र एक थान गुलेली सहित गत शनिबार पक्राउ गरिएको निकुञ्जका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए। उनका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ति टोलीले राती साढे ८ बजे राई र रसाईलीलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई निकुञ्जको हिरासतमा राखेर अनुसन्धान गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।