हिउँले भूस्वर्गझैँ खप्तड ! (फोटोफिचर)
डोटी : भू–स्वर्गको रुपमा चिनिएको पर्यटकीय क्षेत्र खप्तडमा अहिले आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ। खप्तडमा हिउँ खेल्न र मनमोहक दृष्यावलोकन गर्न जानेको भिड लागेको हो। केहि दिन अगाडि परेको हिउँका कारण पैदल यात्रा गरेर अहिले खप्तडमा जान नसकिने भएकाले हेलिकेप्टरमार्फत घुम्न जाने बढेका हुन्।
होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा खप्तड होमस्टेका संचालक दिपकबहादुर खड्काको नेतृत्वमा डोटीको दिपायलबाट धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड तथा बडिमालिकामा क्षेत्रमा हेली माउन्टेन हेलिकप्टरमार्फत हेली टुर संचालनमा आएको छ।
फागुन १ गतेदेखि संचालनमा आएको हेली टुर फागुन १० गतेसम्म रहने अध्यक्ष खड्काले बताए। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सी (नाटा), सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश तथा होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेशको सहकार्यमा ‘टुर प्याकेज’ संचालनमा आएको उनले बताए। हालसम्म सयौंको संख्यामा खप्तडको भ्रमण गरिसकेको बताइएको छ।
अहिले हिउँका कारण खप्तडको दृष्य मनमोहक रहेको छ। खप्तडमा रहेका २२ पाटन हिउँले ढपक्क ढाकेर अप्सरा झै देखिएका छन्। खप्तडमा अझै हिउँ करिब चार/पाँच फिट जति रहेको छ। बडिमालिकामा समेत हेली टुर सञ्चालन गर्ने भनिएपनि बाक्लो हिउँका कारण हेलिकप्टर बस्न नसकेर पर्यटकहरु आकाशबाटै बडिमालिकाको दृष्यावलोकन गरेर फर्किरहेका छन्।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्ग लगायतले समेत हेलिकप्टरमार्फत खप्तडको भ्रमण गरेका छन्। खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलको रुपमा रहेको छ। यहाँ वर्षमा ६ महिना हिउँले ढाक्ने गर्दछ।
‘खप्तडलाई अहिले हिउँले ढपक्क छोपेकाले मनमोहक दृष्य देखिएको छ’, खप्तड घुमेर आएका शेरबहादुर कार्कीले भने, ‘भरपुर रमाइलो लिने र वर्षभरीको थकान मेट्ने स्थानको रुपमा अहिले खप्तड रहेको छ।’