लालपुर्जा साथमा, जमिन खोलामा

लालपुर्जा साथमा, जमिन खोलामा

उदयपुर : त्रियुगा नगरपालिका–२ जोगीदहका छेदीलाल चौधरीको परिवार ५१ वर्षअघि जमिनदारमा गनिन्थ्यो। आमा भुन्टी थरुनीका नाममा १९ बिघा जमिन थियो। पैनी लाग्ने भएकाले तीन बाली उब्जनी हुन्थ्यो। तर, २०२७ सालमा बबिया, लुहाले र त्रियुगा नदीमा आएको बाढी खेतमा पस्यो। जमिन पुर्यो। चौधरी परिवार सुकुम्बासीसरह बन्यो। लालपुर्जा छ। तर, जग्गा बगरमा परिणत भएको छ। उनीहरू अहिले पनि जमिन उक्सने आशामा कर तिर्छन्।

‘आमाले जमिन संरक्षणका लागि धेरै ठाउँ चाहार्नु भयो। तर, कहीँबाट सुनवाइ भएन’, छेदीलाल भन्छन्, ‘तत्कालीन समयमा तटबाँधहरू लगाउने अवस्था नभएपछि जमिन खोलाकै भागमा अझै छ।’ सोही वडाका मुक्तिनाथ गौतमको नाममा रहेको पाँच बिघा बगर बनेको छ। छिमेकी हृदयनारायण राजधामीको सात बिघा, महिकर चौधरी सात बिघा, सवुरलाल राजधामीको तीन बिघा एकै समय खोलामा परिणत भयो। उनीहरू सबै सुकुम्बासी बने। उब्जनी हुने जग्गा बगर बनेपछि स्थानीयवासी कि वैदेशिक रोजगार कि त अरूकहाँ मजदुरी गरेर खान बाध्य भएको वडाध्यक्ष घमानसिंह खत्री बताउँछन्। भन्छन्, ‘हामीले थाहा पाउँदा जमिनदारहरू हेर्दाहेर्दै सुकुम्बासी बने। तीनवटा खोलाले मात्र २ नम्बर वडाका करिब ५ सय बिघा खेतीयोग्य जमिन बगरमा परिणत भयो।’

तत्कालीन सुन्दरपुर गाविस (हाल चौदण्डीगढी–५) का थुप्रै स्थानीयवासीको जग्गामा त्रियुगा नदी कुदिरहेको छ। कतै सुक्खा बगर छ। स्थानीय हरिकृष्ण बस्नेतका तीन दाजुभाइको २०, सोनालाल चौधरीको १०, रामकुमार चौधरीको आठ, रामवत्तीदेवी चौधरी पाँच, भुरुङ चौधरीको चार बिघा जमिन खोलाले पुर्यो। छेरु चौधरी, फागु चौधरी, भरत चौधरीको दुई÷दुई बिघाको लालपुर्जा छ। तर, त्यहाँ खोला कुद्छ। बालकदास चौधरीको एक बिघा पाँच कट्ठा, शान्तिराम बास्तोलाको एक बिघा पाँच कट्ठा, नथरीदेवी चौधरी, दीपेश चौधरीको एक÷एक बिघा, बलराम नेपालको १५ कट्ठा, प्रेम धमलाको १० कट्ठा खोलामै छ। उनीहरू सबैको जग्गा २०५३ सालको बाढीले पुरेको हो। 

गाईघाटलाई छोएर बग्ने त्रियुगाको कटान र डुबानका कारण चौदण्डीगढी–५ सुन्दरपुरका ५ हजार जग्गाधनी पीडित छन्। यो थारू समुदायको बाक्लो बस्ती भएको स्थान हो। सुरुमा नदी कटानको पीडा सहेका उनीहरूको जमिन विभिन्न समयमा आएको बाढीले पुरेको छ। नदीले जग्गा कटान र बालुवाले पुरेपछि स्थानीय लल्कु चौधरी, मिश्रिलाल, मगलू चौधरीलगायत २४ भन्दा बढी जमिनदार परिवार गुजाराका लागि थातथलो छोडेर हिँडेका छन्। उनीहरूको त्रियुगा नदी आसपासको क्षेत्रमा प्रतिव्यक्ति १५–२० बिघा थियो। तर, अहिले एक बिघा पनि खेत छैन। खेतीयोग्य जमिन नदी कटान र सेताम्य बगरमा परिणत भएपछि थातथलो छोडेर हिँडेको चौदण्डीगढी–५ का वडाध्यक्ष देवनारायण चौधरी बताउँछन्।

‘३० बिघाभन्दा बढी खेतीयोग्य जमिन भएकाहरूको अहिले एक बिघा पनि जग्गा छैन’, वडाध्यक्ष चौधरी भन्छन्, ‘स्रेस्तामा अहिले पनि ३० बिघा जग्गा छ। तर, नापजाँच गर्दा मुस्किलले एक बिघामा खेती हुन्छ। बाँकी सबै खोलामा छ।’ नदी उकास हुन्छ कि भनेर सबै जग्गाको बर्सेनि मालपोत तिर्दै आएको वडाध्यक्ष चौधरी सुनाउँछन्। खेतीयोग्य जमिन खोलाले बगाएपछि धेरै युवा वैदेशिक रोजगार र काठमाडौंदेखि छिमेकी मुलुक भारत पुगेको उनी बताउँछन्। 

त्रियुगा नदीका कारण विस्थापितहरू चौदण्डीगढी–५ का जुटपानी, धामीचाप, टोकनीलगायत चुरेवन क्षेत्रमा बसिरहेका छन्। उनीहरूको बसोबास अव्यवस्थित छ। यसले चुरे क्षेत्रमा अतिक्रमण बढेको स्थानीयवासी बताउँछन्। 

खेतबारी नदीले ल्याएको बालुवाले पुरिएपछि झन्डै ७० प्रतिशत किसान मजदुरी गरेर गुजारा चलाइरहेको वडासदस्य तुलसी ढकाल बताउँछन्। ‘चुरे क्षेत्रबाट झरेका खहरेले बस्ती र तल्लो क्षेत्रको त्रियुगाले खेत पुरेपछि किसान ज्याल मजदुरी गर्न बाध्य भएका हुन्,’ उनी भन्छन्। चौदण्डीगढी–५ मा मात्रै ५ हजार ७ सय जग्गाधनीले मालपोत बुझाउने गरेका छन्। तर, तीमध्ये ७० प्रतिशतको खेतमा अहिले त्रियुगाको बालुवा मात्रै छ। उब्जनी नगरेको झन्डै २० वर्ष भएको वडासदस्य ढकालले बताउँछन्। 

सप्तकोसी डुबानको पीडा उस्तै
उदयपुरको पूर्वी क्षेत्रलाई छोएर बग्ने सप्तकोसीको डुबानबाट बेलका–१ र २ का बासिन्दा मर्कामा छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भारदहमा रहेको कोसी पुलको ढोका बन्द हुनु एउटा समस्या हो। अर्को भारतीय पक्षले लगाएको बाँधका कारण तपेश्वरी, भागलपुर र रामपुर क्षेत्रका ७ सय बिघाभन्दा बढी डुबानमा पर्ने गरेको नगर प्रमुख दुर्गाकुमार थापा बताउँछन्। ‘वर्षाको समयमा जब धान रोपिन्छ त्यो बेला पानी उर्लेर आउँछ। पुलमा रहेका ढोका बन्द हुन्छन्। पानी फर्किएर सबै बस्ती नै डुबानमा पर्छ’, उनी भन्छन्।

समाधानका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि अझै सम्बोधन हुन नसकेको बेलकाकी उपप्रमुख राजकुमारी चौधरी बताउँछिन्। 

सिँचाइ आयोजनाले समस्या
उदयपुर र सप्तरीको सिमाना फत्तेपुरस्थित त्रियुगा नदीमा निर्मित चन्द्रनहर सिँचाइ आजोनाले पनि स्थानीयवासीलाई सास्ती दिएको छ। जसकारण बर्सेनि ५ सय बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने गरको छ। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका पालामा निर्मित आयोजना खोलाको भाग पूरै छेकेर बनाउँदा माथिका बस्ती डुवानमा पर्ने गरेको चौदण्डीगढी–१० का वडाध्यक्ष रामकुमार खड्का बताउँछन्। 

नहर खोलाको सतहभन्दा अग्लो रहेको र नदी वारपार छेकेर सप्तरी जिल्लातर्फ सिँचाइका लागि पानी लैजादा खेतीयोग्य जमिन बालुवाले पुरेको खड्काको भनाइ छ। जसकारण सुकुम्बासीको संख्या बढ्दो छ। खड्का भन्छन्, ‘नदी आसपास पाँच बिघा जमिन हुने पनि चन्द्रनहरकै कारण सुकुम्बासी हुने गरेका छन्।’

नहरका कारण त्रियुगाले जोगीदह, हडिया, सुन्दरपुर बेल्टार, सिवाइ र बसाहा क्षेत्रमा झन्डै १ हजार बिघामा बालुवा थुपारेको छ। नहरले कटान गर्दा सुकुम्बासी समस्या बढेको चौदण्डीगढी–९ का वडाध्यक्ष प्रकाश राउत बताउँछन्। १० वर्षयताको तथ्यांक हेर्दा त्रियुगाबाट बगेर जाने बालुवाले तत्कालीन सुन्दपुर गाविस २, ३, ४ र ५ वडाको १ हजार ५ सय बिघाभन्दा बढी बगरमा परिणत गरेको छ। परम्परागत तरिकाले निर्माण गरिएको चन्द्रनहरका कारण खोलाको सतह बढ्दै जाँदा नदीले कटान गर्ने, बालुवाले जमिन पुर्ने समस्या रहेको पीडितको भनाइ छ। 

खहरेको बर्सेनि पीर
जिल्लाको पश्चिमी क्षेत्र ककरु र मरुवा खोलाले अघिल्लो वर्ष कटारी–६ गवुवा र तित्रीबोटमा करिब तीन सय मिटर तटबाँध भत्काएर खेतमा पस्यो। त्यस क्षेत्रको मात्रै करिब ५० बिघा बगर बनेको स्थानीय देव सुनुवार बताउँछन्।

२०६१ सालमा खोला पसेपछि गाउँ नै विस्थापित भएको थियो। गबुँवामा पुन खोला फर्केपछि गाउँले चिन्तित छन्। २०५५ मा बनाइएको बाँध भत्काएर २०६१ मा खोला गाउँ पसेको थियो। त्यसपछि बनाइएको बाँध पनि यस वर्ष भत्काएको कटारी–६ का मेखबहादुर तामाङ सुनाउँछन्। 

उदयपुर साना र ठूला नदीका कारण बर्सेनि ५ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ। जिल्लाभित्र र आसपासका जिल्लालाई छोएर बग्ने तीन दर्जनभन्दा बढी खोला, खहरे र नदीनालाले दुई दर्जनभन्दा बढी परिवार विस्थापित हुने गरेका छन्। यति ठूलो संख्यामा खेतीयोग्य जमिन बगरमा परिणत हँुदासमेत यसको दीर्घकालीन समाधानको खोजी भने अझै हुन सकेको छैन। 

जिल्लाको ठूलो भूभागलाई छोएर बग्ने सुनकोसी, सप्तकोसी र त्रियुगा नदीले धेरै क्षेत्र कटान गरेको छ। बरुवा, बविया, द्वार, कालिखोला, वैद्यनाथ, ककरु, ताँवा, हुल्मा, राकुली, पुँवारे, छौडिया, गिदेरी, यारी, अँधेरी खोलाले पनिसर्वसाधारणलाई विस्थापित मात्र गरेको छैन सुकुम्बासी नै बनाएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव बताउँछन्। 

२५ वर्षमा २० हजार बिघा कटान

उदयपुरमा २५ वर्षयता २० हजार बिघा जमिन कटान भएर बगर बनेको जिल्ला मालपोत कार्यालयको तथ्यांक छ। त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने दर्जनौं खहरेका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएका हुन्। ‘कुन क्षेत्रमा कति भन्नेसम्मको तथ्यांकचाहिँ छैन’, मालपोत कार्यालय प्रमुख नवराज खड्का भन्छन्, ‘समग्रमा २० हजार बिघा जमिन नदी र खहरेले कटान गरेको छ।’
जिल्लाको नदीमा क्षेत्र ४ लाख ९४ हजार दुई सय ३२ बिघा १४ कठ्ठा एक धुर जमिन रहेको जिल्ला नापी कार्यालयको तथ्यांकमा छ। नापनक्सा भएको ८ लाख ९९ हजार ६ सय ९१ बिघा जग्गामध्ये ७ हजार ५ सय २४ बिघा चार कट्ठा जग्गा खेतीयोग्यका रूपमा रहेको नापी सर्वेक्षक मानपुर चौधरी बताउँछन्। नदी क्षेत्रमा सबैभन्दा बढी साविक मैनामैनी गाविस हालको बेलका ७ मा दुई हजार एक बिघा जमिन छ।

त्रियुगा नगरपालिका-२  
-छेदीलाल चौधरी (आमा भुन्टी थरुनीको नाममा) :  जग्गा १९ बिघा 
-नवराज गौतम (वुवा मुक्तीनाथ गौतमको नाममा) : जग्गा ५ बिघा 

चौदण्डिगढी नपा ५, साविक सुन्दरपुर गाविस 
-सुमन चौधरी (वुवा सोनालाल चौधरीको नाममा) : जग्गा १० बिघा 
-रामकुमार चौधरी : जग्गा ८ बिघा 
-रामवत्तिदेवी चौधरी : जग्गा ५ बिघा 
-रामकुमार चौधरी (वुवा भुरुङ चौधरीको नाममा) : जग्गा ४ बिघा 
-लक्ष्मी चौधरी (वुवा छेरु चौधरीको नाममा) : जग्गा २ बिघा 
-नागिनकुमारी चौधरी (वुवा फागु चौधरीको नामा) : जग्गा २ बिघा 
-प्रभु चौधरी (वुवा भरत चौधरीको नाममा) : जग्गा २ बिघा


-वालकदास चौधरी : जग्गा १ बिघा ५ कठ्ठा
-नथरीदेवी चौधरी : जग्गा १ बिघा 
-जानकीदेवी चौधरी दिपेश चौधरी : जग्गा १ बिघा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.