मधेस अनेक वादमा अल्झिएको छ

मधेस अनेक वादमा अल्झिएको छ

खाइपाई आएको सरकारी सेवासुविधा छाडेर मधेस आन्दोलनमा लागेका नेता हुन्, भरतकुमार विमल (यादव)। गजेन्द्रनारायण सिंहसँगै दोस्रो जनआन्दोलनमा सक्रिय बने उनी। तत्कालीन नेपाल सद्भावना पार्टी आनन्दीदेवीका तर्फबाट सातदलीय मोर्चामा आबद्ध भएर जनआन्दोलनमा सक्रिय रहे। अन्तरिम संसद् सदस्यसमेत रहेका उनी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी भएर बसेका छन्।

केही समय संघीय समाजवादी फोरम नेपालमा सहभागी भएर पुनः बाहिरिएका उनी अहिले कुनै पार्टीसँग आबद्ध छैनन्। राजा फ्याँक्नेमध्येका एक विमल दलविहीन अवस्थामा सक्रिय राजनीतिबाट धकेलिएका छन्। यद्यपि, मधेसप्रति त्यत्तिकै जिम्मेवार र संवेदनशील देखिन्छन्। राष्ट्रिय राजनीतिको उतारचढावलाई नजिकबाट नियालिरहेका विमलसँग अन्नपूर्णकर्मी गोविन्द महतोले गरेको कुराकानी :

तपाईंको राजनीतिक जीवन किनारा लागेजस्तो देखिन्छ नि ?

होइन। त्यसरी नबुझौं। राजनीतिबाट पूर्ण रूपमा सन्न्यास लिएको छैन। वेट एन्ड सीमा छु। राजनीतिबाट सन्न्यास लिएको भए सायदै तपाईंसँग यसरी राजनीतिक संवाद गर्थिनँ। साथीहरूको दबाब छ, नयाँ संगठनको नेतृत्व गरिदिनुपर्‍यो भनेर। अहिले राजनीतिक दलबाट अलग छु। दलीय सम्पर्कमा छैन। तर राजनीतिमा आफूलाई हरेक समय जोड्न चाहन्छु। मधेसवादको नाममा जनतामा व्यापक रोष प्रकट भएकाले कसरी अगाडि बढ्ने ? चुनौती छ।

कुनै पार्टीमा सम्बद्ध भएर राजनीतिलाई अगाडि बढाउन चाहनु भएको हो ?
होइन, सकेसम्म राजनीतिक संगठन नै खोल्छु। सकिनँ भने मात्र चिन्तक भएर बस्छु। अन्यथा अहिलेको कुनै पनि राजनीतिक संगठनमा आबद्ध हुन्नँ। सकभर मधेसको राजनीतिको विषयमा अध्यययन र अनुसन्धान गरिरहेकै हुन्छु। त्यसैलाई विभिन्न माध्यमबाट विचार प्रवाहित गर्ने हो। मधेसी समुदायलाई राजनीतिक विषयमा केही फाइदा होस् भन्ने चाहना सदैव रहन्छ। दलगत राजनीतिमा वा अहिलेको कुनै संगठनमा मेरो आबद्धता हँुदैन।

जनआन्दोलन–२ सफल भयो तर तपाईं त ओरालो लाग्नुभयो। किन ?
त्यो मेरो दुर्भाग्य हो। कमजोरी भनेकै छिट्टै विश्वास गरिहाल्ने हो। पार्टीभित्र र पार्टीबाहिर दुवैबाट धोका खाएको छु। पार्टीभित्रबाट त राजेन्द्र महतो र हृदयेश त्रिपाठीबाटै ठूलो धोका खाएँ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमाले सहभागी हुँदा ममाथि धेरै दबाब आयो कि सरकारमा सहभागी भएर सहयोग गर्नुपर्छ। बाहिरको मान्छेबाट लोभलालचदेखि सबै भयो। तर, संगठन मेरो पकडमा भएकाले कसैले आँट गरेनन् मेराविरुद्ध लाग्ने। त्यतिबेला कुन मन्त्रालय लिने, के लिने भन्ने कुरा भित्र र बाहिर दुवैका मान्छेबाट आए। पार्टीभित्रकै मान्छे बाहिरबाट सञ्चालित भएर अन्तर्राष्ट्रिय शक्तिसमेत लगाएर मलाई सिकार बनाए।

ओरालो लाग्नुमा भूमिका पार्टीभित्रबाटै थियो त ?
आन्दोलन सफल भएपछि पार्टी संगठन विस्तार गर्नुपर्छ भनेर राजावादी बद्री मण्डल र लक्ष्मणलाल कर्णको पार्टीलाई मिलाउनुपर्छ भनेर दबाब सिर्जना गरियो। जसको मूल उद्देश्य मलाई कमजोर बनाउनु थियो। आन्दोलनबाट दिएको नेतृत्वलाई कार्यसमितिको बैठकबाट अल्पमतमा पारियो। त्यो एउटा ठूलो षड्यन्त्रपूर्ण खेल थियो। कार्यसमितिमा अल्पमतमा परें। त्यसपछि नैतिकताको आधारमा राजीनामा दिएँ। पछि राजेन्द्र महतो मन्त्री बने। 

सरकारी जागिर छाडेर कसरी राजनीतिमा आउनु भयो ? फेरि किन मधेसी दलप्रति वितृष्णा जाग्यो ?
भन्नै पर्दा, मधेसको राजनीति अहिले निकै दुःखद् छ। हो, त्यसबेला म सरकारी जागिरमा थिएँ। तत्कालीन श्री ५ को सरकारको डीएफओ। नेपालमा एउटा मधेसी अर्को पहाडी समुदाय मुख्य छन्। जनजाति पनि छन्। उनीहरू थिचोमिचोमा परेका छैनन्, जति मधेसी परेका छन्।

एमसीसीका विषयमा जनतालाई स्पष्ट पारेर मात्रै राजनीतिक दलहरूले निर्णय लिनुपर्छ।

मधेसकेन्द्रित दलको अहिलेको विभाजन सिद्धान्तको विभाजन हुँदै होइन। 

जनजातिको भेदभावको र मधेसीसँगको भेदभावको अवस्था फरक छ। सरकारी जागिरमा हुँदा पनि मधेसीसँग हुने भेदभावको विषयमा नजिकबाट बुझ्ने मौका पाएको छु। २०४६ सालमा कपिलवस्तुमा डीएफओ थिएँ। त्यतिबेला आन्दोलनको क्रममा वनको अतिक्रमण भयो। वन अतिक्रमण मधेसी र पहाडी दुवै समुदायले गरेका थिए। अन्तरिम कालको वनमन्त्रीमा झलनाथ खनाल थिए। वन अक्रिमण हटाउन मलाई आदेश दिइयो। तर मधेसी समुदायले गरेका अतिक्रमण हटाउनु भनियो। जबकि पहाडी समुदायले गरेको अतिक्रमण तत्काल नहटाउन भनियो। जहाँजहाँ अतिक्रमित वन थियो, त्यो सबै हटाऔं अन्यथा कसैलाई नहटाऔं भनें।

साम्प्रदायिकता फैलनबाट बचाउन सीमा क्षेत्र र राजमार्ग दुवैलाई सँगै हटाऔं भनेको थिएँ। सँगै, होइन भने कुनै पनि नहटाऔं भनें। झलनाथजीले फोन गरेर पहिले सीमा क्षेत्र खाली गराउन भने। समस्याको गम्भीरतालाई बुझेरै काम गर्न सुझाएको थिएँ। तर, उनले मन्त्रीको आदेश नमान्ने भन्दै धम्क्याए। त्यसपछि म तपाईंको कर्मचारी कि सरकारको ? तपाईंअनुसार चलौं कि कानुनअनुसार ? भनेर जवाफ दिएँ। ‘राजीनामा पठाउँछु स्वीकृत गर्नुस्’ भनेर जागिरबाट राजीनामा दिएँ। त्यसपछि नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहसँग सम्पर्क भयो। राजनीतिमा प्रवेश गरें। तर, अहिलेको मधेस राजनीति देख्दा लाग्छ, राजनीति कुनै नेतृत्वकर्तामा छैन। केवल पैसा, जातीयता र शक्तिका लागि राजनीति भइरहेको छ।

तपाईंको नाम भरतविमल यादव, नागरिकताको नाम भरतकुमार विमल। यसो हेर्दा नामले नै जातपात विरोधी जस्तो लाग्छ। जातपातबाटै राजनीतिको बागडोरमा पुग्ने गरिन्छ, किन ?
मधेस ब्राह्मण, यादव, वैश्य, दलितवादमै अल्मलिएको छ। उदाहरण हेर्नुस्, महन्त ठाकुरको पार्टीलाई ब्राह्मणबाद, उपेन्द्र यादवको पार्टी यादववाद, राजेन्द्र महतोको पार्टी तेली सुडीवाद छ। यो आमजनताले मूल्यांकन गरेको हो, मैले होइन। हामीलाई त पहिले राष्ट्र चाहिन्छ। नेपालबाट मधेसलाई अलग गर्ने विषय सोच्न र कल्पना पनि गर्नसम्म सक्दिनँ।

संविधानमा देखिएको कमीकमजोरी र खास गरेर मधेसको प्रतिनिधित्व अनि अधिकारको कुरो नेपालमै रहेर खोज्नुपर्छ। पाउनु पनि पर्छ। त्यसैले राज्यको पहिलो दायित्व हो कि मधेसलाई कसरी विश्वासमा लिने। मधेसी भन्नेबित्तिकै नेपाली विरोधी सोच हुन्छ। नेपालमा एक प्रतिशत भारतीय झुकाव भएका मान्छे होलान् तर म त ९९ प्रतिशत नेपाली हुँ। मधेसलाई नेपालमा राख्नुपर्छ, भारतमा गाभिन दिनु हुँदैन भन्ने पक्षधर मान्छे छन्। सीमा समस्या तथा नेपाल भारतको समस्या पहाडका मान्छेभन्दा मधेसका मान्छेले भोग्छ नि। त्यही भएर मधेसी पनि नेपाली हुन् भन्ने सोचको विकास गराउनुपर्‍यो। दोषी चस्मालाई फेर्नुपर्‍यो।

राजा पतन गराउन यहाँको ठूलो भूमिका थियो भनिन्छ। राजासँगै तपाईंको पनि विस्तारै पतन भएको महसुस हुन्छ ? के यो संयोग मात्र हो ?
मेरो पतन भएको होइन। राजाको पतन भएको पक्का हो। राजा राज्यको हर्ताकर्ता र खानदानी थिए तर उनी अहिले आमनागरिक भएका छन्। यही नै मेरो ठूलो उपलब्धि हो। हिजो एउटा ग्वालाको छोरा रामवरण देशको प्रमुख बने। आज पहाडकी एउटी छोरी राष्ट्रप्रमुख छन्। भोलि यस्तै कोही आउँछन्। यो नै सबैभन्दा ठूलो उपलब्धि हो।

मधेसकेन्द्रित नेताहरूमा सम्पत्तिा आर्जनको जुन सोच छ, त्यो सोच मधेसका लागि दुःखद् संकेत हो।

मधेस ब्राह्मण, यादव, वैश्य, दलितवादमै रुमल्लिएको छ। 

नेपालबाट मधेसलाई अलग गर्ने विषय सोच्न र कल्पना पनि गर्नसम्म सक्दिनँ।

मधेसमा यत्रो आन्दोलन भयो। मधेस जहाँ थियो त्यहीं छ। समस्याबाट पनि ग्रसित छ। किन ?
मधेसमा नेताहरू छन् तर मधेसी समुदायको समस्या उजागर गर्ने नेतृत्व लिने अवस्थामा छैनन्। केही व्यक्ति मधेसको प्रतिनिधित्व गरे पनि जातीयतालाई आधार बनाएर राजनीति  गर्छन्। निर्वाचनमा दुई÷चार सिट जितेर पार्टी चलाउँछन् तर मधेसीको एजेन्डा अहिले पनि जहाँ थियो त्यहीं छ। कुर्सीको खेलमा लागेर कसरी मन्त्री बन्ने ? कसरी सम्पत्ति आर्जन गर्ने ? त्यो कुरा मात्रै हुन्छ। हिजोसम्म जो नेताको साइकलमा चढ्ने अवस्था थिएन। आज उनीहरूको करोडौंको गाडी छ। यो सबै के हो ? राजनीतिको आवरणमा सम्पत्ति जोड्ने खेल मात्रै हो। मधेसकेन्द्रित नेताहरूमा सम्पत्ति आर्जनको जुन सोच छ, त्यो सोच मधेसका लागि दुःखद् संकेत हो।

दलहरूको विभाजनलाई कुन रूपमा हेर्नुहुन्छ ?
राजनीतिक दलमा सिद्धान्त हराइरहेको छ। मधेसकेन्द्रित दलको अहिलेको विभाजन सिद्धान्तको विभाजन हुँदै होइन। मधेसकेन्द्रित पार्टीलाई जनताले निर्वाचनमा राम्रै मत दिए। जसकारण तेस्रो शक्तिको रूपमा उदय पनि भयो। तर, अहिले नेतृत्वका लागि भएको विभाजन भनेकै नेतृत्वकर्ताबीचको टकराव हो। जसरी पनि नेतृत्वमा हावी हुने सोच र चिन्तन मधेसकेन्द्रित दलको भएकै कारण आजको अवस्था निम्तिएको हो।

जसपाको विभाजन पनि त्यही व्यक्तिगत टकराव हो। त्यसलाई राजनीतिक आवरण दिइएको छ। पार्टी जसरी पनि आफ्नो कब्जामा राख्न जसपाको विभाजन एउटा कित्तामा उपेन्द्र र अर्को कित्तामा महन्थ र राजेन्द्रको छ। महन्थ ठाकुरको चाहना उपेन्द्र आफूलाई नेता मानेर हिँडुन् भन्ने हो। तर, उपेन्द्र आजसम्म कसैलाई नेता मान्ने सोचमा नै देखिँदैनन्। राजनीतिबारे सुझबुझको अभावले संसद् विघटनको क्रममा महन्थ ठाकुरको धारणा गलत थियो।

केही दलका विरोधका बाबजुत एमसीसी संसद्मा टेबुल भएको छ। तपाईंको धारणा के छ ?
एमसीसीका विषयमा जनतालाई स्पष्ट पारेर मात्रै राजनीतिक दलहरूले निर्णय लिनुपर्छ। एकातर्फ सदनमा यो विषयले ठाउँ पाउनु र अर्कोतर्फ सरकारमै भएका दल सडकमा आउनुले राजनीतिक दलको दोहोरो चरित्रलाई प्रष्ट्याउँछ। त्यसैले यस विषयमा स्पष्ट भएर जनतालाई जानकारी दिएर मात्रै टुंगो लगाइनु पर्छ। जनतासँग छल गरियो भने त्यसले देशमा नयाँ दुर्घटना निम्त्याउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.