घरअगाडि कारमा शव भेटिएका गायक लामाको मृत्यु कसरी भयो ? पोष्टमार्टम रिपोर्ट कुर्दै प्रहरी
काठमाडौं : बुधबार विहान घर अगाडि मृत भेटिएका प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबारे प्रहरीले अनुसन्धान थालेको छ ।
लामाको निधन शंकास्पद भन्दै परिवारका सदस्य र शुभेच्छुकले प्रश्न उठाएको र शव नै शंकास्पद अवस्थामा फेला परेपछि भक्तपुर प्रहरीले अनुसन्धान थालेको हो ।
प्रारम्भिक अनुसन्धानमा गाडीबाट झर्ने क्रममा पर्खालमा ठोक्किएर मृत्यु भएको निष्कर्ष प्रहरीले निकालेको छ । यद्यपी पोस्टमार्टम रिपोर्ट आएपछि थप स्पष्ट हुने प्रहरी बताउँछ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेकाअनुसार कलाकार लामा मध्यपुरथिमी-१ लोकन्थलीस्थित सचेत मार्गमा रहेको आफ्नै घर अगाडि मृत भेटिएका थिए । बुधबार विहान उनी बा३च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी भुइँमा जोतिएको अवस्थामा भेटिएका थिए ।
उनी मंगलबार साँझ सात बजे बौद्धमा एक बैठकमा सहभागी हुन भन्दै घरबाट निस्किएका थिए । प्रहरीकाअनुसार उनी मिटिङबाट घर फर्किँदा कारबाट ओर्लने क्रममा लडेर अगाडिको पर्खालमा टाउको ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । आफन्तले उनलाई विहान ७ बजे गाडीमा खुट्टा र टाउको भुइमा जोतिएको अवस्थामा मृत भेटाएका थिए ।
प्रहरीकाअनुसार आफन्तले राती २ बजेतिर गाडीको आवाज सुनेको बताएका छन् ।
उनको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको डीएसपी पाण्डेले जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि थप कारण खुल्ने उनको भनाइ छ । उनकाअनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले पाँच वर्षअघि गायन यात्रा शुरु गरेका थिए । उनको कलकत्ते काइयो, चुइचुई चुइकने जुत्ता, मेरा माया ट भने, नक्कलीलाई पातलीलाईलगायतका गीत चर्चामा छन् । गायनमामात्रै नभएर कलाकारितामासमेत अब्बल अभिनय गर्ने लामाले सय बढी चलचित्रमा काम गरेका छन् । पछिल्लो समय उनी हल्का रमाइलो हाँस्य श्रृंखलामा पनि सक्रिय थिए ।