फिल्म ‘गंगूबाई काठियावाडी’लाई अदालतले खोल्यो प्रदर्शनको बाटो
मुम्बई : भारतको सर्वोच्च अदालतले अभिनेत्री आलिया भट्टको फिल्म गंगूबाई काठियावाडीको प्रदर्शनमा रोक लगाउन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय इन्दिरा बनर्जी र जेके माहेश्वरीको संयुक्त इजलासले बिहीबार फिल्मलाई कुनै परिवर्तन नगरी निर्धारित मितिमै प्रदर्शन गर्न आदेश दिएको हो । आदेशसँगै फिल्म निर्धारित मिति २५ फेब्रअरीमै प्रदर्शनमा आउनेछ ।
गंगूबाई सामाजसेवी भए पनि फिल्ममा तथ्यलाई तोडमोड गरेर नकारात्मक (वेश्या र माफिया डन) देखाउन खोजिएको भन्दै उनको परिवारका सदस्यले बाम्बे हाइकोर्टमा मुद्दा हालेका थिए । हाइकोर्टले फिल्ममा रोक लगाउन अस्वीकार गरेपछि मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।
फिल्ममा गंगूबाईको भूमिका अभिनेत्री आलिया भट्टले निर्वाह गरेकी छन् । फिल्मलाई सञ्जयलीला भन्सालीले निर्माण तथा निर्देशन गरेका छन् ।