सुखको तराजुमा दुःखको मानो

मानिस प्रगति पथमा लम्किँदै शिखर चुम्न चाहन्छ। असीमित इच्छा र उच्च जीवनशैलीको चाहनाले चाहेर होस् वा नचाहेर स्वार्थी बन्दै जान्छ। यही स्वार्थरूपी भावनाले ईर्ष्यारूपी विष वृक्षलाई हुर्काउँदै लान्छ। जो स्वार्थी हुन्छन्, ती ईर्ष्यालु पनि हुन्छन्। उनीहरू अरूको प्रगति र खुसी देख्न सक्दैनन्। ईर्ष्याको रापमा क्रोध र विश्वासघातको जन्म हुन्छ। म र मेरोले स्थान लिइरहँदा हामी र हाम्रो भन्ने भाव विस्थापित हुन पुग्छ। ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय’ भन्ने भावना कुण्ठित हुन्छ।
स्वार्थ भनेको आफूले लिन मात्र खोज्नु हो। कसैलाई केही दिँदा पनि केही प्राप्त गर्नकै लागि मात्र दिन्छ। स्वार्थमा आधारित कुनै पनि सम्बन्ध दिगो हुँदैन। जब प्रयोजन सकिन्छ, सम्बन्ध पनि समाप्त हुन्छ। मानिस आखिर जतिसुकै नै सुन्दर भए पनि प्रशंसा उसको गुण र स्वभावकै हुने हो। स्वार्थी मानिसमा घमण्डले पनि बास लिएको हुन्छ। घमण्डले केही समयसम्म ठूलो त बनाउला तर महान् भने कहिल्यै पनि बनाउन सक्दैन। संसार बदल्ने सपना देख्नेहरूले पहिला आफूलाई बदल्न सक्नुपर्छ। स्वार्थले मानिसलाई विक्षिप्त बनाउँछ। विक्षिप्त मनहरूले बिग्रह ल्याउँछ। विवेकी निस्वार्थी सन्तुलित मनहरूले मात्र सुन्दर संसारको चित्र कोर्न सक्छन्। स्वार्थमा निहित सपनाहरूले कसै न कसैलाई चोट पुर्याएकै हुन्छ। तसर्थ स्वार्थ किन र केका लागि भन्ने महत्वपूर्ण हुन्छ।
सुख त आफैंभित्र छ। देख्न र महसुस गर्न सक्नुपर्छ। सुख त ईर्ष्या र जलनमा होइन, सद्भाव र सम्मानमा छ। आफूले पाउनु मात्र खुसी र सुख होइन। त्याग र समर्पणमा पनि हुन्छ सुख। कसैका लागि जिउन सक्नुको खुसीले मानिसलाई आनन्दित बनाउँछ। आफूभित्रको वास्तविक सुख नदेख्नेहरू कुहिरोको कागसरी भौंतारिनु पर्छ।
यसो त स्वार्थ र ईर्ष्या मानिसका जन्मजात गुण हुन् भन्दा फरक नपर्ला। इच्छा र चाहनाहरूले नै मानिसलाई प्रगतिशील पनि बनाएको छ। प्रगतिशीलका साथै मानिस संवेदनशील र सामाजिक प्राणी पनि हो। तथापि बाँच्न संघर्ष गरिरहँदा सामाजिक मूल्य, मान्यता र सद्भावबाट टाढिएर स्वार्थी बन्नु गलत हो। मानव जीवनका दुई पाटा सुख र दुःखमध्ये मानिस सुखका लागि स्वार्थी बन्ने गरेको देखिन्छ। ईर्ष्या र स्वार्थमा प्राप्त गरेका वैभवता तथा सुखहरू यथार्थमा भ्रम मात्र हुन्। यही भ्रममा यस्ता स्वार्थी व्यक्तिहरू बाँचिरहेका हुन्छन्। कुनै मानिस धन, सम्पत्ति, भौतिक सम्पन्नता, वैभवता, ऐश्वर्यता प्राप्त हुँदैमा ऊ सुखी हुँदैन। उसका असीमित चाहना र ईर्ष्यारूपी स्वभावले आफूलाई अरूसँग दाँज्न पुग्छ। यसरी आफूलाई अरूसँग सुखको तराजुमा जोखिँदा दुःखी नै पाउँछ। आफूलाई अरूभन्दा सुखी र खुसी देख्न चाहने मानिसको स्वभावले ईर्ष्या र स्वार्थ जन्माउँछ। शक्ति र दम्भको खेल सुरु हुन थाल्छ। यही स्वभावले मानिस आक्रान्त बन्दै समस्या र पीडामा डुब्छ। आजको वर्तमान समाज यसरी नै छट्पटिरहेको छ।
आजको समाजमा मानिसको व्यवहार हेर्दा लाग्छ कि मानिसभन्दा खराब प्राणी अर्को छैन। रंग फेर्ने खालका छन् अहिलेका मानिस। स्वार्थपूर्तिका लागि पटकपटक रंग फेरिदिन्छन्। ईर्ष्याको तापमा मित्रतालाई जलाउँछन्। कसैको काखमा बसेर उसैको गला रेट्न पनि पछि पर्दैनन्। किनकि उसलाई अरूभन्दा धनी शक्तिशाली एवं वैभवशाली जो बन्नु छ। सुखी हुने बहानामा दुःखको सागरमा डुुबेको हेक्का पाउँदैनन्। स्वार्थमा गाँसिएको सुख र ईर्ष्यामा देखाएको माया अस्थायी हुन्। यस्तो सुख केही क्षणको न्यानो मात्र हो भन्ने बिर्सिएका छन्।
सुख त आफैंभित्र छ। देख्न र महसुस गर्न सक्नुपर्छ। सुख त ईर्ष्या र जलनमा होइन, सद्भाव र सम्मानमा छ। आफूले पाउनु मात्र खुसी र सुख होइन। त्याग र समर्पणमा पनि हुन्छ सुख। कसैका लागि जिउन सक्नुको खुसीले मानिसलाई आनन्दित बनाउँछ। आफूभित्रको वास्तविक सुख नदेख्नेहरू कुहिरोको कागसरी भौंतारिनु पर्छ।
मानिसलाई स्वार्थी बनाउने विभिन्न पक्षमध्येको एउटा पक्ष हो ईर्ष्या। मानिस किन ईर्ष्यालु हुन्छ त ? मानिस स्वभावैले आफूलाई अरूसँग दाँज्न चाहन्छ। हरेक मानिसको क्षमता एउटै स्तरमा हँुदैन भन्ने कुरालाई आत्मसात् गर्न चाहँदैन। जीवनमा केही गुमाएका र गुमाउने डरले पनि मानिसलाई ईर्ष्यालु बनाइरहेको हुन्छ। आफूले संगत गरेका हरेक व्यक्ति असल मित्र छन् भन्ने हँुदैन। मित्रताबाट पुग्न गएको चोटलाई बदलारूपी भावनाले पनि ईर्ष्यालु बन्नमा सहयोग पुर्याइरहेको हुन्छ। ईर्ष्या एक किसिमको मानसिक रोग पनि हो। आफूलाई अरूभन्दा सफल र विशिष्ट बनाउने चाहना बोकेका महत्वाकांक्षी व्यक्तिहरू पनि ईर्ष्यालु हुन्छन्। आफू सुखी हुन अरूको सुख खोस्न पर्दैन। आफ्ना इच्छा र चाहनाहरूलाई आफ्नै इच्छाशक्ति र मिहिनेतले प्राप्त गर्न सकिन्छ। स्वार्थ र ईर्ष्याले ठडाएको महल दीर्घकालीन हुँदैन। कसैको कुभलोका लागि चालिएका पाइलाहरू कतै खाडलमा भासिन सक्छन्।
जीवन सुन्दर छ। असल एवं निस्वार्थरूपी भावनाले आत्मसन्तुष्टि प्राप्त हुन्छ। जहाँ कुनै द्वेष, ईर्ष्या र बदलाजस्ता दानवरूपी तत्वहरूको उपस्थिति रहँदैन।
संसारमा केही कुरा सत्य र निश्चित छ भने त्यो प्राणीको मृत्यु हो। मानिस त्यसको अपवाद हुन सक्ने भएन। भौतिक जीवनको समयावधि यकिन गर्न सकिँदैन तथापि मृत्यु हुन्छ भन्ने स्पष्ट छ। अस्थायी जीवनमा पनि मानिस किन सौहार्दपूर्ण सम्बन्धमा रहन सक्दैनन् ? किन स्वार्थी बन्दै गइरहेका छन् ? किन पूर्वाग्रही बन्छन् ? किन ईर्ष्यालु र कपटी छन् ? बाँच्नका लागि संघर्ष गर्छ। पहिला आफू बाँच्न चाहन्छ। पहिला आफू अनि अरू भन्ने सोचको जन्म त्यहीँबाट सुरु हुन्छ। मृत्यु निश्चित छ भन्दैमा सबै छोडेर निराश जीवन व्यतित गर्न भन्न खोजिएको पनि होइन। तथापि स्वार्थको सीमा भने हुनु आवश्यक छ।
- आफू सुखी हुन अरूको सुख खोस्न पर्दैन।
- खुट्टा तान्नेहरू खुट्टामुनि नै रहने हुन्। माथि रहन त हात तान्न पुग्नु पर्छ।
- आफूभित्रको वास्तविक सुख नदेख्नेहरू कुहिरोको काग सरी भौंतारिनु पर्छ।
स्वार्थी मानिसहरू आफ्नै मनमस्तिष्कलाई खेलौना बनाएर खेल्छन्। सत्यलाई असत्यको पर्दाले छेक्न खोज्छन्। सूर्यलाई हत्केलाले के छेकिन्थ्यो, आखिर सत्य, सत्य नै हो। स्वार्थ र ईर्ष्यामा खुसी देख्नेहरू सज्जनको रूपमा झुटको सहारामा जिइरहेका हुन्छन्। एउटा स्वार्थी व्यक्तिले अरूलाई छल्ने नाममा आफैंलाई छलिरहेको हुन्छ। आफैंलाई ठगिरहेको हुन्छ। मानिसको रूपरंग र अनुहार हेरेर उसको स्वभाव र उद्देश्य यकिन गर्न सहज छैन। दुनियाँलाई मानिस मित्रतामा भन्दा स्वार्थको सहारामा चलाउन लागिपरेका छन्। सद्भाव, विश्वास र भरोसाको गला रेटिँदै छ। सद्भाव र मायामा पनि स्वार्थको गन्ध आउँछ। मायाले चल्ने संसारलाई ईर्ष्या र स्वार्थको चाबीले घडीको सुईंलाई उल्टो घुमाउन थालिएको छ। संसार पूरै स्वार्थले भरिँदा आफूले आफैंलाई विश्वास गर्न नसकिने अवस्थाको सिर्जना हुन्छ। ईर्ष्या र स्वार्थमा मानिस अरूलांई दुःख दिने नाममा आफैं दुःखी भइरहेको छ। स्वार्थमा जिउनु जिउँदै मृत्यु समान हो। निस्वार्थी भावनाले नै मानिसलाई मृत्युपर्यन्त पनि जीवित राख्छ।
जीवन सुन्दर छ। असल एवं निस्वार्थरूपी भावनाले आत्मसन्तुष्टि प्राप्त हुन्छ। जहाँ कुनै द्वेष, ईर्ष्या र बदलाजस्ता दानवरूपी तत्वहरूको उपस्थिति रहँदैन। त्यो आत्मसन्तुष्टि नै परमआनन्द हो। स्वार्थ कति उचित र अनुचित छ भन्ने विषयमा विभिन्न तर्क नभएका भने होइनन्। कुनै एक सीमासम्म स्वार्थ आवश्यक पनि छ। सीमित स्वार्थ नभई कुनै पनि क्षेत्रको विकास सम्भव पनि हुँदैन । स्वार्थले नै मानिसमा परिवर्तन, समृद्धि, विकासको भावना बीजारोपण गराउँछ। सकारात्मक सोचले जन्मिएको स्वार्थले अहित होइन, समग्र समाजको हित गर्छ। आफ्नो स्वार्थलाई समाज र देशको स्वार्थसँग जोडेर अगाडि बढ्नुपर्छ। मभन्दा हामी भन्ने भावनाको विकास हुन जरुरी छ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरूको हक र अधिकारप्रति सचेत हुनुपर्छ। आफ्नो भलाइका लागि अरूलाई घात गर्नु पाप हो। अपराध हो। धन सम्पत्ति वैभव ऐश्वर्य जीवनको केही अंश भए पनि सबै थोक भने होइन। स्वार्थरूपी ईर्ष्याले कहिले पहिलो बनाउँदैन। खुट्टा तान्नेहरू खुट्टामुनि नै रहने हुन्। माथि रहन त हात तान्न पुग्नुपर्छ। बलियो प्रतिद्वन्द्वीसँगको जितमा गर्व हुन्छ। प्रतिद्वन्द्वीलाई पनि आफू समान बनाएर प्रतिस्पर्धामा उत्रनु वीरता हो। स्वार्थ र जालझेलमा गरिएको प्रतिस्पर्धा कायरता हो। वास्तविक सुख सन्तुष्टि र आनन्दको अर्थ र मर्म बुझेर समग्र मानव प्राणीको भलाइका लागि आफ्नो कार्य गर्नु सार्थक जीवन हो।
प्रतिक्रिया दिनुहोस !
