वीरगन्जमा बर्डफ्लू, १९ सय कुखुरा मरे
वीरगन्ज : वीरगन्जमा पनि कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ। वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डए फलु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् ।
फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।
जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताए।
बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल पनि गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिए। भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परिक्षण गर्ने तयारी भइरहेको यादवले बताए।