पैसा कमाउन टपरी उद्योग नै काफी
वीरगन्ज : घर खर्च टार्नै समस्या परेपछि पर्साको पर्सागढी नगरपालिका–२ कटानीकी टुकुकुमारी कार्कीले २०६४ मा गरगहना बेचेर श्रीमान् नारायणलाई दुबई पठाउने निधो गरिन्। वेल्डर कामका लागि महिनाको एक हजार रियाल तलब पाउने भनेर नारायणको भिसा आयो। वैदेशिक रोजगारीका लागि अन्तिम अन्तर्वार्ता दिन नारायण काठमाडौंमा रहेको म्यानपावर कम्पनी पुगे। अनि पो उनी झसंग भए, जब म्यानपावरले उनको तलब ७ सय रियाल (करिब १२\१३ हजार रुपैयाँ) मात्र पाउने जानकारी दियो।
‘त्यति पैसाका लागि अर्काको देश जानु पर्दैन। त्यति त मैले घरमै पातको दुना, टपरी गाँसेर पनि कमाइरहेकी छु। घर फर्किनुस्। घरको काम हेर्नुस्। म अब जंगल पस्छु’, श्रीमानलाई उतिबेला फोनमा भनेको टुकुकुमारी सम्झिन्छिन्, ‘उहाँ काठमाडौंबाट फर्किनुभयो। उहाँले घर–खेत हेर्न थाल्नुभयो। मैले यही दुना टपरीमा समय दिन थालेँ।’
टुकुकुमारीले अहिले आफ्नै घरमा लक्ष्मी दुना टपरी घरेलु उद्योग सञ्चालन गर्दै आएकी छिन्। यही उद्योगको कमाइबाट सुरुको वर्ष दुइटा लैनो भैंसी किनिन्। अहिलेसम्म त दुई बिघा खेत पनि जोडिसकेकी छिन्। उनको तरक्कीको कथा त्यतिमा मात्र सकिँदैन। कमाइको दिगोपनसँगै पलाएको आँटले उनलाई ऋण लिएर कारोबार गर्न पनि सक्ने बनायो। त्यही आँटका भरमा ३०\३५ लाख ऋण गरेर काठमाडौंमा एउटा घडेरी पनि किनिन्। पाँच जना छोराछोरी हुर्काइन् मात्र होइन, चार जनाको त बिहेबारी पनि गरिसकिन्।
टुकुकुमारी १५ वर्ष पहिले गाउँछेउकै वनमा गएर सालको पात टिपेर ल्याउँथिन्। र, ती पात उनेर मेसिनमा दुना, टपरी, कचौरा र प्लेट उत्पादन गर्थिन्। व्यवसाय फस्टाउन थालेपछि उनले दुइटा मेसिन थपेकी छन्। अहिले उद्योगमा उनीसँग दुना टपरी बनाउने तीनवटा मेसिन छन्। उनी आफैं पात टिप्न वनमा जान अचेल भ्याउँदिनन्। छिमेकका २०\२५ जना महिलाले वनबाट पात टिपेर ल्याउँछन्। पात सिन्काले गाँसेर घाममा सुकाउँछन् अनि ती पात किनेर टुकुकुमारीले दुना, टपरी, कचौरा आदि बनाउँछिन्।
टुकुकुमारीको उद्योगमा उत्पादित पातको दुना, टपरी, प्लेट र कचौरा काठमाडौं, वीरगन्ज र सिमराका व्यापारीले किनेर लैजान्छन्। टुकुकुमारी भन्छिन्, ‘यो काम थाल्नुभन्दा पहिले कहिलेकाहीँ त नुन तेल किन्ने पनि पैसा हुँदैथ्यो, अहिले कात्तिकदेखि वैशाखसम्मको एक सिजनमा सबै खर्च कटाएर ५ लाख रुपैयाँ जति नाफा बस्छ।’
वनमा रूखबाट झरेर खेर जाने सालका पातले टुकुकुमारीलाई उद्योगको मालिक बनाएको छ भने पात टिपेर ल्याउने छिमेकका २०\२५ जना गृहिणी महिलालाई पनि आर्थिक रूपमा केही हदसम्म आत्मनिर्भर बनाएको छ। घर र खेतबारीको कामधन्दा सकाएर फुर्सद भएको समय उनीहरू पात टिप्न वन जान्छन् र पात टिपेर ल्याउँछन्। ‘पात बेचेर आएको पैसाले नुन, चिनी, तेल, मसला मात्रै होइन, कहिलेकाहीँ माछामासु खान पनि पुगेको छ’, कटानीकै छलकुमारी महतो भन्छिन्, ‘बच्चाहरूको पढाइ–लेखाइको खर्च पनि यसबाटै जोहो हुन्छ।’ छलकुमारीलाई कहिलेकाहीँ दुई÷चार हजार रुपैयाँ खाँच्चै परेका बेलामा साहू–महाजन मात्रै होइन, आफ्नै श्रीमान्का अगाडि पनि हात पसार्नु पनि परेको छैन।
छलकुमारीकै छिमेकी चित्रकुमारी कार्की पनि उस्तै दंग छिन्। ‘घरधन्दाको काम सकेर त्यसै घरमा बसिरहनुभन्दा पात टिप्न वन जान्छौं, दुई–चार पैसा कमाइ पनि भइहाल्छ। टुकुका अनुसार, वनबाट पात ल्याएर उनको उद्योगमा बेच्ने महिलाले जनही महिनामा ८ देखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।
टुकुकुमारीले गाउँका गृहिणी महिलाहरूलाई तालिम पनि दिन्छिन्। उनले नै ठोरीको क्षेत्रीलाइन टोलका २०\२५ जना महिलालाई दुना टपरी बनाउने तालिम दिएकी छिन्। तीमध्ये केहीले त उनको जस्तै मेसिन नै राखेर दुना, टपरी पनि बनाइरहेका छन्।
टुकुले नै तालिम दिएकी ठोरी–५ क्षेत्रीलाइनकी सुनिता कोर्मोचाले पनि ४ वर्षदेखि एउटा मेसिन राखेर व्यावसायिक रूपमै पातको दुना, टपरी, कचौरा र प्लेट उत्पादन गर्दै आएकी छन्। उनले अहिले त एउटा मात्र मेसिन राखेकी छिन्। ‘घरधन्दाको काम सकाएर फुर्सदको समय यसमा दिन्छौं’ं, सुनिता भन्छिन्, ‘चाडपर्व र बिहेबारीको लगनमा त भ्याइनभ्याइ हुन्छ।’
घरधन्दा र खेतीबारीको काम पनि गर्नुपर्ने भएकाले यी उद्यमी महिलाहरूलाई चाहेजस्तो समय हुँदैन। समयको कमीले गर्दा नै उनीहरूले बजारको मागअनुरूप उत्पादन गर्न भ्याइरहेका छैनन्। बजारको मागअनुसार उत्पादन गर्न नभ्याउँदा पनि सबै खर्च कटाएर महिनाको ३० देखि ३५ हजार रुपैयाँ बच्ने गरेको विवरण सुनिताले सुनाउँछिन्। छिमेकका ३०÷३२ जना महिलाले वनबाट सालका पात टिपेर ल्याई सुनितालाई बेच्ने गरेका छन्। उनीहरू पात टिप्नकै लागि मात्र भनेर पनि वन जाँदैनन्। बरु, घाँसदाउरा र वस्तुभाउ चराउन जंगल गएका बेला पात टिपेर ल्याउँछन्। त्यसो गर्दा पनि अलि बढी खट्ने महिलाले त महिनामा ८÷९ हजार रुपैयाँसम्म पैसा कमाउने गरेको सुनिताको हिसाब छ।
लागेन डढेलो, भएन प्रदूषण
ठोरीको सुनाखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालको अनुभवमा ५\६ वर्षयता सामुदायिक वनमा डढेलो लाग्ने घटना कम भएको छ। वनमा डढेलो लाग्ने मुख्य कारण रूखबाट भुइँमा झरेर सुकेका पातपतिङ्गरले नै हो। ‘झरेको पात महिलाहरूले टिपेर ल्याउँछन्। यसले वनमा सुकेको पात बिरलै हुन्छ। अनि गर्मी मौसममा कुनै कारणवश आगो लागि हाल्यो भने पनि भुइँमा सुकेका पात नभएपछि आगो फैलन पाउँदैन’, दाहाल भन्छन्, ‘लागेको आगो निभाउन पनि सजिलो हुने गरेको छ। यसले वन संरक्षणमा टेवा पुगेको छ।’
सामुदायिक वनको पहिलो उद्देश्य नै वनको संरक्षण हो। दोस्रो हो, वनमा आश्रित समुदायको आर्थिक जीवनस्तर उकास्नु। महिलाहरूले सुकेका पात टिपेर ल्याउँदा डढेलो लाग्न कम भइ वन संरक्षणमा टेवा पुगेर पहिलो उद्देश्य पूरा भएको दाहालको दाबी छ। वनमा झरेर त्यसै खेर गइरहेका पात टिपेर ल्याई सदुपयोग गर्दै महिलाहरूले आम्दानीसमेत गरिरहेकाले सामुदायिक वनको दोस्रो उद्देश्य पनि पूरा भइरहेको दाहाललाई लागेको छ। केही वर्षयता वनमा डढेलो कम भएकाले त्यसले जंगलआसपासका वस्तीहरूमा वायु प्रदूषण पनि कम भएको स्थानीय तवरमा महसुस भएको उनी बताउँछन्।
‘पहिले–पहिले गर्मीमा खडेरी परेका बेला दिनैपिच्छे वनमा डढेलो लाग्थ्यो, डढेलोको धुवाँले आँखा पोलेर घरभित्रै पनि बसिनसक्नु हुन्थ्यो’, दाहाल सुनाउँछन्, ‘तर केही वर्षयता डढेलो कम हँुदा गाउँको हावापानी पनि स्वच्छ हुँदै गएको छ।’ जंगलमा रूखबाट झरेका पात संकलन गरेर दुना, टपरी बनाउन थालिएपछि यसले वनमा लाग्ने डढेलोमा पनि केही हदसम्म कमी आएको डिभिजन वन कार्यालय, पर्साले पनि महसुस गरेको छ। कार्यालयका निमित्त प्रमुख फरमान मियाँ यस्तो प्रयासलाई प्रोत्साहन गर्दै भन्छन्, ‘वनमा रूखबाट झरेर सुकेका पातबाटै डढेलो सल्किने हो, झरेर सुकेका पातको व्यवस्थापन गर्न सकियो भने धेरै हदसम्म डढेलोको समस्या समाधान गर्न सकिन्छ।’
पर्साका मानववस्तीसँग जोडिएका वनक्षेत्रमा पहिलेको तुलनामा केही वर्षयता डढेलोको समस्या निकै कम भएको मियाँको पनि अनुभव छ। ‘जुन–जुन वस्तीका महिलाहरूले जंगलबाट सुकेका पात टिपेर घरमा ल्याई दुना, टपरीको व्यावसायिक पेसा गरेका छन्, ती बस्तीछेउका वनमा अहिले डढेलोको समस्या धेरै कम भएको छ’, मियाँ भन्छन्। वनमा रूखका पात र स्याउला ल्याउन रोक नभएको पनि मियाँ बताउँछन्। उनका अनुसार, दुना टपरी बनाउन महिलाहरूले रूखबाट झरेका अनि रूखबाटै पनि हरियो पात टिपेर ल्याउँछन्। पात स्याउला ल्याउन उनीहरूलाई कुनै रोक नलगाइएको तर रूख काट्न भने नपाइने उनी बताउँछन्।
दुना, टपरी, स्वस्थ हरघडी
विगतका केही वर्षयता विभिन्न उत्सवका भोजभतेरमा खाने कुरा प्लास्टिक र फाइबरले बनेका भाँडामा पस्केर खाने चलन बढेपछि यसले मानव शरीरमा दीर्घकालीन रोगहरूको समस्या बढेको चिकित्सकहरूको ठम्याइ छ। प्लास्टिक र फाइबरले बनेका भाँडामा तातो खानेकुरा राखेर खादा मधुमेह, क्यान्सर, पत्थरी जस्ता स्वास्थ्य समस्या हुने उच्च जोखिम रहेको चिकित्सकहरू बताउँछन्।
वीरगन्जको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंह प्लास्टिक र फाइवरबाट बनाइएका प्लेट, थाल, कचौरा, गिलास, चम्चा, बोतल जस्ता सामानमा राखिएको खानेकुरा मानव स्वास्थ्यका लागि निक्कै घातक रहेको बताउँछन्। उनका अनुसार, अहिले बजारमा पाइने प्लास्टिक र फाइबरबाट बनाइएका आकर्षक थाल, कचौरा, गिलास, प्लेट, चम्चा इत्यादि मेलामाइन नामक प्लास्टिकजन्य तत्वबाट बनाइन्छ। ती भाँडामा खानेकुरा राखेर खाँदा मानव शरीरमा पुग्ने मेलामाइन तत्वले मिर्गाैलाको पत्थरी हुन्छ।
चिकित्सकहरूका अनुसार प्लास्टिकजन्य भाँडा लामो समयसम्म घाममा राख्यो वा त्यसमा तातो वस्तु राखियो भने प्लास्टिक पग्लिएर डायोक्सिन भन्ने एउटा कम्पाउन्ड निस्किन्छ। त्यसले स्तन क्यान्सर गराउँछ भनेर वैज्ञानिक परीक्षणबाट प्रमाणित भइसकेको छ। यस्तै प्लास्टिकका बोतल वा भाँडामा तातो खानेकुरा राख्दा, बाइफिनाइल ए नामक कम्पाउन्ड निस्किन्छ, त्यसले मानव शरीरमा मधुमेह र क्यान्सरको समस्या ल्याउँछ, यो पनि वैज्ञानिक रूपमा पुष्टि नै भइसकेको छ। यस्तै प्लास्टिकबाट निस्किने रसायनले कलेजोको क्यान्सर हुने गरेको डा. सिंह बताउँछन्। डा सिंह भन्छन्, ‘अहिले मधुमेह, क्यान्सर, पत्थरी जस्ता समस्या बढ्नुमा भान्सा, खानपान र जीवनशैलीमा प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्नु पनि एक मुख्य कारण हो।’
डेढ दुई दशक अघिसम्म विवाह उत्सवहरूमा भोजभतेर हुँदा अधिकतर रूखका पातबाट बनाइएका थाल, प्लेट, टपरीमा खाना दिइन्थ्यो। पानी पिउनका लागि माटोको गिलास नै प्रयोग हुन्थ्यो। त्यसमा कुनै हानीकारक रसायन पनि हँुदैनथ्यो। प्रकृतिसँग मिल्दाजुल्दा ती उत्पादन सामान्य सरसफाइमा ध्यान दिँदा हरघडी स्वस्थ पनि मानिन्थे। त्यस बेला यस्ता रोगहरू पनि अहिलेको तुलनामा कमै देखिन्थे।
त्यसैले अब फेरि पनि सकभर भान्सा र भोजभतेरमा खानेकुरा पस्किएर खान पहिलेकै जस्तो पातका दुना, टपरी, थाल, कचौराको प्रयोग गर्ने हो कि भनेर सोच्नुपर्ने बेला आइसकेको डा. सिंहको भनाइ छ। पछिल्लो केही वर्षयता भोजभतेर र होटलहरूमा खानेकुरा पस्किन पातका दुना, टपरी, कचौरा, प्लेट, थालको प्रयोग फेरि विस्तारै बढ्दै गएकाले यसलाई प्रोत्साहित गर्नुपर्ने समेत उनको सुझाव छ।
टपरीमा भेटिने मौलिक संस्कृति
भोजभतेर उत्सवमा पातको दुना, टपरी आम नेपाली प्रचलन हो। त्यसका साथै माटोको गिलासमा पानी पिउने चलन मधेसको संस्कृतिसंग पनि जोडिएको छ। ‘अहिले केही वर्षयता मात्रै प्लास्टिक र फाइबरको भाँडामा खाना पस्किएर खाने चलन बढेको छ’, मधेसका संस्कृतिविद् उमाशंकर द्विवेदी भन्छन्, ‘पहिले मधेसमा हुने विवाह, भोजभतेरमा पातकै थाली, दुना, टपरी र माटोको गिलास नै प्रयोग गर्ने चलन थियो जुन हाम्रो मौलिक संस्कृति नै थियो।’ भोजभतेरमा पातका दुना, टपरी र माटोको गिलास प्रयोग गर्ने चलन हुँदा ती सामान बनाउनेहरूले थोर बहुत रोजगारी पनि पाएका थिए र उनीहरूको जीवीका पनि चल्दै आएको थियो।
अर्को कुरा, पातका दुना, टपरी प्राकृतिक उत्पादन भएकाले जैविक पनि हुने नै भए। प्रयोग गरेपछि फालिदिँदा माटोमा सडेर विलय पनि हुन्छ। यसले पर्यावरणमा कुनै हानी पनि गर्दैन। तर, प्लास्टिकका सामान त जलाए पनि नष्ट नै हँुदैन। प्लास्टिकको बढ्दो प्रयोगले अहिले विश्वभरकै पर्यावरणमा ठूलै समस्या पनि निम्त्याएको छ।
त्यसैले मौलिक संस्कृतिको जगेर्नाका लागि पनि भान्सा वा भोजभतेरमा पातका दुना, टपरीको प्रयोगलाई बढावा दिनमा कुनै द्विविधा गर्नुुनपर्ने द्विवेदीको राय छ। पछिल्ला केही वर्षयता फेरि भोजभतेरदेखि ठूला र महँगा होटल तथा रेष्टुराँमा पनि पातका दुना टपरीको प्रयोग बढ्दै गएको देखेर उनलाई सन्तोष पनि लाग्ने गरेको छ।
नेपालको तराई क्षेत्रमा पाइने रूखको मुख्य प्रजाति साल हो। नेपालमा एक हजार मिटरसम्मको उचाइमा साल वनको बाहुल्य पाइन्छ। साल पतझर रूख हो। नेपालको जंगलमा पाइने रूखमध्ये १५ प्रतिशत सालका रूख नै रहेको जानकारहरू बताउँछन्। साल बढी प्रकाश चाहिने र मध्यम प्रकारको तुषारो सहने बिरुवा हो।
विदेशी मुद्रा थाप्ने दुना टपरी
भान्सामा प्रयोग हुने प्लाष्टिकजन्य वस्तु आयातमा मात्रै वीरगन्जबाट करोडौं रुपैयाँ बाहिरिने गरेको छ। आर्थिक वर्ष २०७७\७८ मा वीरगन्ज नाकाबाट मात्रै साढे २२ करोड रुपैयाँभन्दा बढी मूल्यको भान्सामा प्रयोग हुने प्लास्टिकजन्य वस्तु विदेशबाट आयात भएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले दिएको जानकारी अनुसार, वीरगन्ज नाका हुँदै २२ करोड ५० लाख ४३ लाख ६४ रुपैयाँ मूल्यको भान्सामा प्रयोग हुने प्लास्टिक जन्य वस्तु विदेशबाट आयात भएको थिए। तीमध्ये एक तिहाइ हिस्सा प्लाष्टिकका थाल, प्लेट, कचौरा र गिलासको मात्रै रहेको गुप्ताले बताए। यो भनेको हामीले स्वास्थ्य र पर्यावरणका लागि खराब मानिने वस्तु प्लास्टिक थापेर विदेशी मुद्रा गुमाएको अवस्था हो।
यसको सट्टा हामीले स्वदेशमै उत्पादित पातका सामान पैठारी गरेर विदेशी मुद्रा थाप्न सक्थ्यौं। त्यसको लागि आवश्यक साधन, सीप र संस्कृति हामीसँग उपलब्ध छ। तर, वीरगन्ज नाकाबाट नेपालमा उत्पदित पातका दुना, टपरी विदेशमा निर्यात भएको रेकर्ड छैन। सूचना अधिकारी गुप्ता भन्छन्– ‘यदि त्यसलाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकियो भने देशलाई फाइदा पुग्छ ।’
यो कस्तो मेसिन हो ?
पातको दुना, टपरी बनाउने मेसिन, झट्ट हेर्दा धान झार्ने फलामे थ्रेसर मेसिनको जस्तै ढाँचा र आकारको हुन्छ। झन्डै साढे ४ फिट उचाइको यो मेसिन फलामे बनेको हुन्छ। यसमा पातको दुना, टपरी थाल, कचौरा के बनाउने हो त्यसअनुसारका, फलामले नै बनाइएका छुट्टाछुट्टै डाइ (साँचा) सेट गर्नुपर्छ। यो मेसिन, विद्युतीय ऊर्जाले चल्छ। यो मेसिन चलाउन १२ सय भोल्टेज विद्युत् चाहिन्छ। नेपालको बजारमा यो मेसिन पाइँदैन। भारतको पटना, दिल्ली र कोलकातामा मात्रै यो मेसिन पाइने भएकाले भारतबाटै किनेर ल्याएका दुना, टपरी व्यवसायमा लागेकाहरू बताउँछन्। भारतीय बजारमा यो मेसिनको डाइसहितको मूल्य नेपाली १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म पर्ने गर्छ।
जंगलबाट पात टिपेर ल्याइसकेपछि त्यसलाई बाँसको सिन्काले उनेर घाममा दुई÷तीन दिनसम्म राखेर पात राम्ररी सुकाउनुपर्छ। सुकिसकेको उनेको पात, मेसिनको डाइमा राखिन्छ। त्यसपछि मेसिनमा विद्युतीय ऊर्जा प्रवाह गरिन्छ। ऊर्जाले डाइ तातेपछि मेसिनको पिँधमा रहेको पाइडलमा खुट्टाले थिचेपछि तातिएको डाइले, उनेको पातलाई डाइको डिजाइन अनुसारको थाल, कचौरा, दुना र टपरीको आकार दिएर तयार पार्छ। एउटा मेसिन एक जनाले चलाउन सक्छन्। यो मेसनिबाट १ घण्टामा ठूला आकारको थाल दुई सय र सानो आकारको दुना टपरी र कचौरा ४ सय वटासम्म तयार पार्न सकिन्छ।
- झरेको पात टिपेर ल्याउँछन्। यसले वनमा सुकेको पात बिरलै हुन्छ। गर्मी मौसममा कुनै कारणवश आगो लागि हाल्यो भने पनि भुइँमा सुकेका पात नभएपछि आगो फैलन पाउँदैन। लागेको आगो निभाउन पनि सजिलो भएको छ। यसले वन संरक्षणमा टेवा पुगेको छ। -देवीप्रसाद दाहाल, अध्यक्ष सुनाखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति
- प्लास्टिक र फाइबरले बनेका भाँडामा तातो खानेकुरा राखेर खादा मधुमेह, क्यान्सर, पत्थरी जस्ता स्वास्थ्य समस्या हुने उच्च जोखिम हुन्छ। दुना टपरीको प्रयोग गरे स्वास्थ्यमा पनि समस्या आउँदैन। यसको प्रयोग बढाउनुपर्छ। - डा. उदयनारायण सिंह, वरिष्ठ फिजिसियन, नारायणी अस्पताल