सहरी विकासका प्राविधिकको चरम बदमासी, ट्रमा सेन्टर योजना अलपत्र

सहरी विकासका प्राविधिकको चरम बदमासी, ट्रमा सेन्टर योजना अलपत्र

ढल्केवर(धनुषा) : संघीय सरकारले आर्थिक वर्ष २०७८\०७९ को बजेटमा धनुषाको ढल्केवरमा किटान गरेको ट्रमा सेन्टरको लागि जग्गा छनौट पक्रियामा मातहतका निकायको प्राविधिकहरुले चरम बदमासी गरेको पाइएको छ।

सहरी विकास मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वय इकाई धनुषा जनकपुरधामका प्राविधिकहरुले ट्रमा सेन्टरको लागि जग्गा छनौट पक्रियामा आफूखुशी मापदण्ड खोजेपछि उनीहरुको बदमासी छताछुल्ल भएको हो।

हाल मिथिला नगरपालिका–७ साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८\०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ। तर प्रस्तावित जग्गालाई सहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा अनुपयुक्त रहेको पत्र मिथिला नगरपालिकाको कार्यालयलाई थमाउदै आएका छन्।

पछिल्लो पटक आयोजना कार्यान्वय इकाईले २०७८ फागुन १३ गते नगरपालिकाबाट विभिन्न मितिहरुको विभिन्न पत्रबाट उपलब्ध गराईएका जग्गाहरु अनुपयुक्त रहेको जानकारी पत्र मिथिला नगरपालिका कार्यालयलाई पठाएको छ। 

सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वय इकाई धनुषाका आयोजना प्रमुख ईन्जिनियर प्रदिप खनालले हालसम्मपनि राजमार्गदेखि ५ सय मिटर दायाँबायाँ बाढी, डढेलो लगायतका प्राकृतिक जोखिमबाट सुरक्षित कम्तिमा तीन विघा प्रयोग योग्य जमिन हालसम्म पनि स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ अनुसार उक्त जग्गाहरु अनुपयुक्त रहेको व्यहोराको पत्र नगरपालिकालाई पठाएको मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले जानकारी दिए।

प्रस्तावित ट्रमा सेन्टर भवनको डिजाइन, ड्रईङ, इस्टिमेट तथा खरिद प्रकृया प्रारम्भ गर्न अत्यन्त ढिलो भएकोले तत्काल राजमार्गको ५०० मिटर दायाँवायाँ उपयुक्त जग्गा व्यवस्थापन गरि प्रदेशस्तरको आपतकालिन अवस्थामा मानव ज्युज्यानको रक्षाको निम्ति बनाउन लगिएको क्रिटिकल केयर ट्रमा सेन्टर सहितको अस्पताल निर्माणमा सहयोगका लागि नगरपालिकालाई आयोजना कार्यान्वयन ईकाइले अनुरोध गरेको छ।

तर जग्गा छनौट प्रक्रियामा आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले मापदण्डको नाउमा आफूखुशी गरेको पाइएको छ। प्राविधिकहरुले मुख्य एजेण्डा बनाएको राजमार्गदेखि दायाँबायाँ ५०० मिटर भित्र जग्गा हुनुपर्ने मापदण्ड स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३’ भन्दा बाहिर रहेको तथ्य भेटिएको हो। उक्त निर्देशिकाको परिच्छेद–५ मा स्वास्थ्य संस्थाहरु निर्माणका लागि निर्माणस्थल छनौट सम्बन्धी बनेको निर्देशिकामा राजमार्गदेखि दायाँबायाँ ५ सय मिटर भित्र जग्गा हुनुपर्ने शर्त कतै उल्लेख गरिएको छैन।

तर आयोजना कार्यान्वय इकाईका प्राविधिकहरुले प्रस्तावित जग्गा ५ सय मिटरभन्दा बढी रहेको कारण देखाउँदै अनुपयुक्त रहको बताउँदै आएपछि संघीय सरकारले निर्माण गर्न लागेको प्रदेशस्तरीयको ट्रमा सेन्टरको निर्माण प्रक्रिया अलपत्र बनेको छ। जग्गा छनौटमै समस्या उत्पन्न भएपछि निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो। समयमै उपयुक्त जग्गा व्यवस्थापन हुन नसकेकेमा अस्पताल आयोजनाको लागि संघ सरकारबाट विनियोजित बजेट फ्रिज हुनेसम्मको चेतावनी आयोजना कार्यान्वय इकाईले दिएको छ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एकिकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ट्रमा सेन्टरसहितको अस्पताल निर्माणका लागि कार्यक्रम स्वीकृत गरेको हो। ढल्केवर किटान गरेर स्वीकृत भई आएको ट्रमा सेन्टर अन्यत्रै सार्ने षडयन्त्र अनुरुप प्रभावमा परेर प्राविधिकहरुले मापदण्डको नाउमा मनोमानी गरिहरेको स्थानीयहरुको आरोप छ। ५ सयमिटरको मापदण्डको बहाना देखाई सीधासोझा जनतालाई भ्रममा पारेर प्राविधिकहरु चलखेलमा लागेको स्थानीय योगेन्द्र महतोले आरोप लगाए।

मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि साविकको प्रस्तावित जग्गामा सरकारको प्राविधिकहरुको टोलीले उपयुक्त नरहेको भनेपछि मात्रै अन्यत्र जग्गा देखाएको स्पष्ट पार्छन्। उनले ट्रमा सेन्टरका लागि आफ्नो प्राथमिक्ता पनि ढल्केवर रहेकोले त्यसका लागि नगरपालिकाबाट हुने सहयोग र प्रयासमा आफू कुनै कसर बाँकी नराखेको उनको दावी छ। पछिल्लो पटक स्थानीय एवम अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको आग्रहमा पुनः साविककै जग्गा कार्यपालिका बैठकबाट निर्णय गरेर सिफारिश गरेकोमा प्राविधिक टोलीले फेरी अनुपयुक्त ठहर गरेको मेयर महतोको भनाइ छ।

‘प्राविधिकहरु कति बेला आउँछ, जग्गा हेर्छ मलाई थाहा पनि दिँदैन, अनि एकै चोटी पत्र पठाउँछ, जग्गा उपयुक्त छैन् अर्को खोजी गर्नुस्, मेयर महतो भन्छन् ‘मेरो पनि चाहना हो ढल्केवरमै बनोस्। बर्षौ अघिदेखि ढल्केवरले उठान गरेको ट्रमा सेन्टर यही बनाईनुपर्छ भन्ने मेरो पनि मान्यता हो।’ तर मापदण्ड अनुसार जग्गा पाउन नसकेकोले विकल्प खोज्नुपर्ने पनि उनले आग्रह गरे। प्राविधिकले जहाँ उपयुक्त भने त्यहाँको सिफारिस गर्न आफू तयार रहेको उनको भनाइ छ।

नगरपालिकाले ट्रमा सेन्टरको जग्गा छनौटका लागि दुईपटक सर्वपक्षिय बैठक डाकेर छलफल समेत गरिसकेको छ। छलफलले ट्रमा सेन्टरमा ढल्केवरका स्थानीयको ठुलो योग्दान रहेकोले यही उपयुक्त जग्गा खाजी गर्नुपर्ने निश्कर्ष निकाल्दै आएका छन्। तर ढल्केवरको जस्तोसुकै जग्गा देखाएपनि प्राविधिकहरुले अनुपयुक्त भन्दै आएको नेकपा माओवादी केन्द्रका नेता समेत रहेका स्थानीय रामकुमार महतोको दावी छ। हामीले राजमार्ग छेउमै तीनवटा जग्गा देखायौं। सबैमा कुनै न कुनै बखेडा झिकेर प्राविधिकले रिजेक्ट गरिदिन्छ,’ आक्रोशित हुदैं उनले भने। आफूहरुले देखाएको ढल्केवरका सबै जग्गालाई अनुपयुक्त भनेपछि शंका उब्जिएको महतो बताउँछन्।

संघीय आयोजना कार्यान्वय इकाई धनुषाका सब–ईन्जिनियर सुनिल ठाकुरले निर्माणस्थलको जग्गाका लागि ५ सयमिटरको मापदण्ड स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ मा उल्लेख रहेको दावी गरे। तर आयोजना प्रमुख ईन्जिनियर प्रदिप खनाल ५ सयमिटर दुरीको मापदण्ड निर्देशिका भित्र नहरेको स्वीकार गर्छन्। 

‘ट्रमा सेन्टरको लागि ५ सयमिटर भित्र हुनुपर्छ भनेर निर्देशिकामा उल्लेख गरिएको छैन। हामी प्राविधिकले त्यो आफै निर्धारण गरेका छौं। ट्रमा सेन्टर एउटा आफैमा क्रिटिकल हस्पिटल हो। आपतकालिन केसहरु हेर्ने भएकोले राजमार्गसँगै जोडिएको हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ आयोजना प्रमुख खनालले अन्नपूर्णसँग भने ‘हाम्रो प्राविधिक दृष्टिकोणले बढीमा ५ सय मिटरभित्र हुनुपर्छ भनेका हौं। त्यसमा ५०–१०० मिटर बढी भएपनि खासै फरक पर्दैन।’ साविकको प्रस्तावित जग्गा दुरीकै कारणले अनुपयुक्त भनिएको पनि उनले स्वीकारे।

मिथिला नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रामु साह तेली साविकको प्रस्तावित जग्गामा माटो परिक्षणसमेत भइसकेको बताउँछन्। ‘झण्डै दुईवर्ष अघि प्राविधिकहरु आएर नापजोख गरेर माटो परिक्षण समेत गरेको थियो। हामीलाई उनीहरुले यहाँ एक नम्बर हुन्छ। सबै दृष्टिकोणले उपयुक्त छ भनेर सुनाएको थियो,’ वडाअध्यक्ष साह भन्छन् ‘तर अहिले सबै उल्टापुल्टा भइसक्यो। सब आ-आफ्नो दाउमा छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.