‘अर्थतन्त्र ओरालो लाग्यो’
काठमाडौं : अर्थतन्त्र ओरालो लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चिन्ता प्रकट गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि मुलुकको अर्थतन्त्र टाट पल्टिन लागेको एमालेको ठहर छ। एमाले उद्योग, वाणिज्य तथा आपूर्ति विभागले व्यवसायीसँग छलफल चलाएर खबरदारी गरेको हो। सरकारले अर्थतन्त्र निराशाजनक र डरलाग्दो अवस्थामा पुर्याएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए।
यो सरकार र मन्त्रीहरू ‘ब्ल्याकमेलर’का रूपमा काम गरिरहेको ओलीले बताए। ‘सरकार, मन्त्री नै ‘ब्ल्याकमेलर’का रूपमा पैसा माग्ने, दिएन भने तिमीलाई यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर थर्काएर, ताला लगाएर, छापा मारेर, उद्योगीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ भनेर लागेको देखिन्छ,’ ओलीले छलफलमा भने। सत्तामा बसेर उद्योगी व्यवसायीलाई थर्काउने प्रवृत्ति घातक रहेको उनको भनाइ थियो। माओवादी केन्द्रतर्फ संकेत गर्दै ओलीले भने, ‘हिजो राज्यसत्ताभन्दा बाहिर बसेर गरिन्थ्यो, आज त्यही कुरा सत्ताबाट गरिन्छ। यो अर्थतन्त्रका लागि गम्भीर र खतरानाक हो।’
अर्थतन्त्रका सबै सूचक नकारात्मक हुँदा पनि सरकार राम्रो छ भनेर हिँडिरहेको ओलीको भनाइ थियो। ‘उहाँहरू देशको अर्थतन्त्र चुस्त, दुरुस्त छ भनाउन तल्लीन हुनुहुन्छ। जुन खालको धन्दा उहाँहरू गर्न खोज्दै हुनुहुन्छ, यो उपयुक्त होइन,’ ओलीले भने। उनले जनताको जीवनस्तर उकासेर आर्थिक समृद्धि हासिल गर्नु राजनीतिको महत्त्वपूर्ण पक्ष हुने बताए। ‘को सरकारमा छ भन्ने विषयले भन्दा पनि अर्थतन्त्र कसरी चलेको छ भन्ने विषयले अर्थ राख्छ,’ अध्यक्ष ओलीले भने । अर्थतन्त्र एकपटक धराशायी भएपछि त्यसले भयावह परिणाम ल्याउने उनले बताए।
- देउवा सरकारका कारण अर्थतन्त्र टाट पल्टिन लागेको एमालेको ठहर
- सत्ताामा बसेर उद्योगी व्यवसायीलाई थर्काएको दाबी
- विदेशी मुद्रा सञ्चिति १ हजार १ सय ७३ अर्ब २ करोड मात्रै
- प्रधानमन्त्रीलाई अर्थतन्त्रको कुनै चिन्ता नरहेको आरोप
रूस भ्रमणमा जाँदा १ हजारलाई १ रुपैयाँ मानेर चलाउनुपर्ने अवस्था आफैंले देखेको उनको भनाइ थियो। ओलीका अनुसार ८ महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको, समग्र खर्च ४० प्रतिशत हाराहारीमा रहेको, लक्ष्यअनुसार राजस्व नउठेको, राजस्व संकलन १० प्रतिशतभन्दा बढी जानुपर्नेमा कम उठेको उनले बताए।
अध्यक्ष ओलीले गत वर्षभन्दा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको बताए। ‘गत वर्ष यस अवधिमा १ लाख ९१ हजार १ सय ५५ मिलियनबराबरको वैदेशिक सहायताको प्रतिबद्धता भएकामा १ लाख २६ हजार ५ सय ५ मिलियन (६६ प्रतिशत कम) प्रतिबद्धता आएको छ’ उनले भने। लगानीका लागि बैंकले ऋण दिन नसकेको बताउँदै बैंक आफैं असुरक्षित महसुस गरिरहेको टिप्पणी गरे।
उनले ८९.५ अर्ब आन्तरिक ऋण सरकारले लिइसकेकोे बताए। ‘यो भनेको सबै कोणबाट उल्टोपाल्टो अवस्था हो’, उनले भने। मुद्रास्फीति बढेर आफ्नो देशको मुद्राको अवमूल्यन हुनु राम्रो नभएको बताए। ‘हामीले सरकार छाड्दा ४ प्रतिशत मुद्रास्फीति थियो अहिले दोब्बर पुगेको छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिति १ हजार ३ सय ९९ अर्ब ३ करोड थियो। अहिले १ हजार १ सय ७३ अर्ब २ करोड मात्रै छ। सवा करोड बढी सञ्चितिमा घाटा आएको बताए। आफूले सरकार छाड्दा ११ महिनाको वस्तु र सेवा आयात धान्ने सञ्चिति रहेकामा अहिले ६ महिनामात्रै धान्ने अवस्थामा आइपुगेकाले भयावह अवस्था आइरहेको बताए।
ओलीले आफ्नो पालामा विकासको गतिले फड्को मारेको दाबी गरे। ‘राजनीतिक पार्टीमा एमाले पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो,’ ओलीले भने, ‘यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौं।’ आफूले देशको विकास तीव्र बनाइरहेका अवस्थामा कोभिड आएर प्रभावित पारेको बताए। ‘कोभिड प्रारम्भ हुनुभन्दा अघि हामी तीव्र विकास भइरहेको देशमध्ये पथ्र्यो,’
पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विश्व बैंकले हामीलाई दक्षिण एसियाको राइजिङ स्टार भनेको थियो।’ परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई अर्थतन्त्रको बारेमा कुनै चिन्ता नरहेको ओलीले आरोप लगाए। एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रबाट रेमिट्यान्स नआएको, हुन्डी र अनौपचारिक कारोबारमार्फत भित्रिरहेका बताए। विदेश जाने कामदार बढ्दासमेत रेमिट्यान्स घट्नुमा सरकार नै दोषी रहेको ओलीको दाबी छ। सरकारले जथाभावी आयात छुट दिएर व्यापार घाटा बढाएको बताए।
‘अहिले देखिएको निर्यात पनि तेस्रो देशबाट ल्याएर अर्को देशमा पठाइएको हो,’ उनले भने, ‘केही मात्रामा व्यापार भए पनि असली रूपमा व्यापार नभएको होइन।’ आफूले सरकार छोड्दा शोधनान्तर बचत १.२३ अर्ब रहेकामा अहिले २४७.३ अर्ब घाटामा पुर्याइएको बताए। एमाले उद्योग विभाग प्रमुख मोती दुगडले सरकारले उद्योगी व्यवसायीलाई धम्क्याउने र होटल तथा उद्योग बन्द गराउने काम गरिरहेको आरोप लगाए।