एमालेमा महानगरका उम्मेदवार केन्द्रले तोक्ने
काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवारी छान्ने अधिकार केन्द्रलाई दिने निर्णय गरेको छ। पार्टीको सचिवालयले जिल्ला र प्रदेश कमिटीको सिफारिसमा महानगर र उपमहानगर प्रमुख र उपप्रमुख उम्मेदवार छान्ने अधिकार केन्द्रीय कमिटीलाई निर्णय गरेको हो।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश कमिटीले टुग्याउने निर्णय गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार गापा अध्यक्ष र उपाध्यक्ष तथा नपाका प्रमुख र उपप्रमुखको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ। सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्डसमेत पारित गरेको छ।
एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। गुरुङका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको छ। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्न केन्द्रीय कमिटी आह्वान गरिएको उनले बताए। उनका अनुसार चैत ७ गते पोलिटब्युरो समितिको बैठक र १३ गते स्थायी कमिटीको बैठक बस्नेछ। बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ।
‘६०–७० प्रतिशत एमाले एक्लै जित्छ’
अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले एक्लैले जित्ने दाबी गरे। अखिल नेपाल महिला संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘पाँच दलीय गठबन्धन भएर लडुन् कि १५ दल भएर लडुन्। आगामी निर्वाचनमा एमाले एक्लैले ६०–७० प्रतिशत जित्छ।’ अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए।
‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्, उनले भने, ‘त्यसकारण हामी निश्चित रूपमा जित्छौं। यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो।’
सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीको दाबी छ। ‘एक्लाएक्लै आए त कर्याककुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि त झन् मर्याकमुरुक पार्छौं।’ उनले नेपालमा अहिले परमादेशबाट गठबन्धन र अर्को जनादेश गरी २ ओटा राजनीतिक धार रहेको बताए।
अध्यक्ष ओलीले महिला प्रमुख र उपप्रमुखहरूले तुलनात्मक रूपमा स्वच्छता र सफलताका साथ सम्पन्न गरेको बताए। ‘अहिले देशभर महिला अधिकांश उपप्रमुख छन्। एक तह प्रमोसन पाउनु राम्रो हुन्छ भन्ने माग छ। महिला प्रमुख भएका ठाउँमा निरन्तरता होस् र महिला उपप्रमुखले माथिल्लो तहमा टिकट पाउने अवस्था नभए पनि अहिलेको पदमा कायमै राखियोस् भन्ने पनि छ,’ ओलीले भने, ‘महिलाहरू उप मात्र होइन प्रमुखमा राम्रो संख्या हुनुपर्छ। यो कुरामा पार्टी गम्भीर छ। तर, अस्वस्थ क्याम्पेन नचल(ाउनुस्।’ उनले ३३ प्रतिशतको प्रावधान पनि आफ्नै पार्टीको देन
रहेको दाबी गरे। ओलीले माधवकुमार नेपालको पार्टी नाम मात्रैको कम्युनिस्ट भएको बताए। उनले भने, ‘दुई तिहाइको हैसियतमा रहेको कम्युनिस्टलाई हटाएको पार्टी कम्युनिस्ट हुन्छ ? प्रतिक्रियावादीलाई भोट हाल्न पछिल्लो ढोकाबाट जाने, यस्तालाई कम्युनिस्ट भन्न मिल्दैन।’ उनले मधेस सरकारको ‘बेटी बचाउँ’ कार्यक्रमलाई ‘साइकल पचाउँ’ कार्यक्रम भएको भन्दै आलोचना गरे। उनले भने, ‘साइकल वितरण भएन, हिसाब मिलान मात्र भयो।’
एमाले निकट कर्मचारी संगठनका कोइराला
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। संगठनको ११औं राष्ट्रिय अधिवेशनबाट कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
उपाध्यक्षमा रेमन्त गौतम, प्रभास साह र भवानी दाहाल चुनिएका छन्। महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विजया सुवेदी निर्वाचित भएका छन्। त्यस्तै, वामदेव ओली, देवेन्द्र ढकाल, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी, विष्णुकुमारी अधिकारी सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चुनिएका छन्।