प्रदेश गौरवको सभाहल अलपत्र
उदयपुर : उदयपुरमा निर्माणाधीन मदन भण्डारी स्मृति सभाहलमा बजेट अपुग भएको छ। विस्तृत अध्ययन नै नगरी डिजाइन इस्टिमेट बनाउँदा ३० करोड बजेट अपुग भएको हो। भवनको लागत स्टमेट ३४ करोड रहेकामा २४ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो।
इस्टिमेटअनुसार काम गर्दा आधा मात्र काम भएको निर्माण गरिरहेको रविना÷जोशी÷पवित्र जेवीका सञ्चालक केदार दाहालले बताए। ‘सम्झौताअनुसार हामीले अधिकांश काम सकेका छौं। जगदेखि नै इस्टिमेट त्रुटि छ। टाईविङ छ, फिलिङ गर्ने इस्टिमेट छैन, ट्रष्ट, ह्युमपाइप सबैमा त्रुटि छन्,’ उनले भने, ‘एकतिहाइ बजेटको त इस्टिमेट नै छैन। अनी कसरी काम पूरा हुन्छ ?’
भवन सम्पन्न गर्न अझै ३० करोड बढी बजेट आवश्यक पर्ने निर्माण कम्पनीका इन्जिनियर निरज कर्णले बताए। ‘हामीले सुरुमै डिजाइनको कमजोरी सुधार्न कार्यालयलाई सुझाव दिएका हौं,’ कर्णले भने, ‘कार्यालयले कमजोरी स्वीका¥यो तर सुधार गरेन। ५ वटा ब्लकको स्ल्याब लगाउने, छानाको ट्रस, अतिथि कक्ष, घेराबेरा, गार्डेनलगायत काम बाँकी नै रहेको उनले बताए।
ठेकेदार कम्पनीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना राजविराजलाई पत्र पठाइ निर्मणस्थलबाट क्याम्प उठाउने जानकारी गराइसकेको छ। पत्रमा ट्रस, स्ल्याबलगायत काम नगरी विद्युतीय उपकरण जडान गर्न नमिल्ने उल्लेख छ। २४ करोड ७१ लाख भुक्तानी लिइसकेको व्यवसायी दाहालले बताए। २ हजार क्षमताको सभाहल त्रियुगा–१३ मा निर्माणाधीन छ।
२०७४ वैशाखमा भएको ठेक्का सम्झौताअनुसार काम सकिएको वर्षदिन बित्दासमेत थप बजेट व्यवस्था नहुँदा भवन अलपत्र परेको हो। यता सघन सहरी विकास राजविराजका प्रमुख सचिन्द्रकुमार देव भने सम्झौताअनुसार भवन लगभग बनिसकेको बताउँछन्। ट्रसलगायत काम मात्र बाँकी रहेको बताए। कुल लागतको २५ प्रतिशत भिओ गरे भवनको काम सक्न बजेट पुग्ने प्राविधिक अनुमान छ।
तर, त्यसको अधिकार मन्त्रालयका सचिवलाई मात्र हुने उनले बताए। कार्यालयले प्राविधिक इस्टिमेट बनाएर २५ प्रतिशत भिओ गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको देवको भनाइ छ। इस्टिमेटमा कमजोरी भएको देवले पनि स्वीकारे। ‘इस्टिमेटमा कमजोरी भएको रहेछ, सुधार गर्दैछांै,’ उनले भने।
२ बिघा क्षेत्रफलमा अवस्थित सभाहलमा व्यवस्थित पार्किङ, पुरुष–महिला र अपांगमैत्री शौचालय, अतिथि सदन, चमेना गृह, कर्मचारी आवास हुने इस्टिमेटमा छ। १ हजार ५ सय क्षमताको ठूलो र ५ सय क्षमताको सानो गरी २ वटा सभाकक्ष हुनेछन्। भूमिगत पार्किङ, फूलबारी र पश्चिमतर्फ मुख्य प्रवेशद्वार तथा बाँकी दिसातर्पm वहिर्गमनद्वार हुने इस्टिमेट छ।
सरकारले ०७२/७३ मा देशभरका २५ नगरपालिकालाई ‘स्मार्ट सिटी’ घोषणा गर्दा उदयपुरको त्रियुगा नगरपालिका पनि समेटिएको थियो। प्रदेशस्तरीय सभा भवन, ‘एक नगर एक पहिचान’ कार्यक्रम, अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क बनाउने योजनासहित अघि सारिएको तत्कालीन सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले बताइन्। त्यसपछि भने यो भवनलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ। त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी स्मृति सभाहल। िभरत खड्का