उदयपुरमा जलवायु परिवर्तनको असरबारे छलफल
उदयपुर : जलवायु परिवर्तनले कृषि तथा विपद्को क्षेत्रमा पुर्याएको असरका विषयमा उदयपुरका सरोकारवालासँग परामर्श तथा छलफल चलाइएको छ । सरकारी निकायको समन्वयमा आइतबार सदरमुकाम गाईघाटमा संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमले पुनरात्थानशिलता तथा जीविकोपार्जन विश्लेषणसम्बन्धी छलफल चलाएको हो ।
पछिल्लो समयमा जल, जमिन, जंगको चरम दोहोन र अतिक्रमणले जलवायुमा असर पुगेको र त्यसबाट विपद्, भोकमारी निम्तिन थालेपछि न्युनिकरणका लागि रणनीति योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विश्व खाद्य कार्यक्रम प्रदेश १ का संयोजक लक्ष्मीप्रसाद चौधरीले जलवायु परिवर्तन हुँदा कुन समुदाय बढी प्रभावित हुनेछन्, कुन क्षेत्रको उत्थानशीलता कस्तो छ र ति क्षेत्र कति जोखिममा छन् भन्ने विषयमा विश्लेषण गरिने बताए ।
उनले जीवन निर्वाह पद्धतिका आधारमा छुट्याइएका क्षेत्रमा खाद्य सुरक्षाको पहिचान, ति क्षेत्रका मानिसको उत्थानशीलता, विगतमा भएका र भविष्यमा हुनसक्ने जलवायु परिवर्तनका असर र खाद्य सुरक्षाको जोखिमसम्बन्धी मिहीन ढंगले छलफल हुने बताए ।
उनले भने, 'दिगो विकास लक्ष्य–२ को लक्ष्य भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने तथा दिगो कृषिको प्रवर्द्धन गर्ने रहेको छ, त्यसैलाई आधार मानेर विभिन्न योजनाहरु बनाइनेछ । उक्त लक्ष्य हाँसिल गर्न बाढीपहिरो र खडेरी जस्ता जलवायुजन्य विपद्को प्रभाव थप चुनौति पूर्ण देखिएकाले समाधानका लागि जिल्लाका ८ वटै पालिकाका प्रमुख र सरोकारवालाको उपस्थितिमा छलफल चलाइएको उनले बताए ।
छलफलमा सर्वसाधरणले जीवन निर्वाहका पद्धति/साधनहरु कसरी अपनाएका छन्, उनीहरुको खाद्य र आय आर्जनको स्रोतहरु के–के हुन सक्छन भन्ने विषयमा विश्लेषण गरिएको छ । यसका साथै ति क्षेत्रहरुमा जलवायुजन्य परिघटनाको ऐतिहासिक प्रवृत्ति कस्तो थियो र भविष्यमा कस्तो रहनेछ भन्ने सूचना संकलन गरिएको छ ।
विश्व खाद्य कार्यक्रमले विभिन्न देशका सरकारसँग सहकार्य गरी जीवन निर्वाहका साधनहरु, जलवायु परिवर्तन र यसले खाद्य सुरक्षामा पार्न सक्ने असरको पहिचानको लागि विभिन्न अवधारणा सार्वजानिक गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको चौधरीले बताए ।
नेपालको सन्दर्भमा राष्ट्रिय योजना आयोग, प्रदेश योजना आयोग, जिल्ला समन्वय समिति, विश्व खाद्य कार्यक्रम र युके सरकारको जलवायु कार्यालयको सहकार्यमा सञ्चालन हुने प्रक्रियामा रहेको छ । पालिकास्तरको परामर्श मार्फत पालिकाको जीवननिर्वाहका आधारसम्बन्धी सूचना, त्यहाँका मानिसको सामाजिक र आर्थिक पक्षहरु सम्बन्धी सूचना, जलवायुजन्य प्रकोपहरुको असर र जलवायु परिवर्तनसम्बन्धी उनीहरुको अनुभव र अवधारणा संकलन गरिने उनले बताए ।
साथै जलवायुजन्य विपद्बाट आर्थिक तथा सामाजिक क्षेत्र र जैविक विविधतामा कस्ता असर परेका छन् र कस्ता अनुकूलनका अभ्यास भइरहेका छन् भन्ने विषयमा परामर्श गरिएको छ । परामर्शबाट आएका सुझाका आधारमा उत्थानशीलता, संवेदनशिलता, जोखिमताका तह, जलवायु परिवर्तनका भविष्यका परिदृष्यका आधारमा भविष्यमा शून्य भोकमरी लक्ष्य प्राप्तिका रणनीति, खाद्य सुरक्षासम्बन्धी नीति तथा कार्यक्रम र परियोजना निर्माण गर्न सहयोग पुग्ने उनले बताए ।