स्वास्थ्य संस्थामा उद्योगको सहयोग
उदयपुर : प्रदुषणबासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै उदयपुर सिमेण्ट उद्योगले सामाजिक कार्य अन्तर्गत स्वास्थ्य पूर्वाधारमा सहयोग गरेको छ। सिमेण्ट उद्योगको मुख्य कार्यालय जलजले नजिक रहेको त्रियुगा नगरपालिका-६ देउरी स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना, एम्बुलेन्स खरिद र बाणिज्य बैंक काउन्टर निर्माण गरेको हो।
उद्योगको पहल र सहयोगमा ल्याइएका ति सामाग्री एक कार्यक्रममा बीच महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरेका हुन्। लगत्तै मेयर चौधरीले स्वास्थ्य चौकीका अध्यक्ष तथा वडाध्यक्ष उद्धवबहादुर थापालाई हस्तान्तण गरेका थिए।
त्रियुगा नगरपालिका वडा नं ४, ५, ६, ७, ८, १० र १६ का स्थानीयवासीको स्वास्थ्य समस्यालाई केन्द्रित गरी स्वास्थ्य पूर्वाधारमा सहयोग गरिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए। उद्योगबाट निस्कने धुलोलाई कम गर्न उद्योगले यसअघि नै ईपी सिस्टम जडान गरिसकेको छ। यधपि स्थानीयलाई उद्योगको धुँवाधुलोले स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गरी पूर्वाधार तयार गरिदिएको उनले बताए।
‘हामीले स्थानीयलाई प्रदुषणबाट जोगाउन प्रदुषण नियन्त्रणका उपाय अवलम्बन गरेका छौं,' उनले भने, ‘तर २९ वर्ष पूरानो उद्योग भएकोले बेलामौकामा लिकेज भइरहने समस्या छ।' उनले थपे, ‘पूर्णरुपमा प्रदुषण नियन्त्रण सम्भव हुँदैन, त्यसैले हामीले त्यसबाट पुगेको असरलाई मध्यनजरी गरी विकल्पमा स्वास्थ्य जाँचलाई सरल बनाउन स्वास्थ्यचौकीको स्तरोन्नति गरेका हौं।’
लिपिड प्रोफाइलसम्मको प्रयोगशाला स्थापना गर्न जरुर देखिएकाले उद्योग परिसरको सबैभन्दा नजिक र सबै वडालाई पायक पर्ने स्थान देउरी भएकाले सहयोग गरेको उनको भनाई छ। प्रविधि स्थापनासँगै यसबाट सस्तो, सुलभ सरकारी दररेटमा स्थानीय तह आफ्ना कर्मचारीले सेवा पाउने उनले बताए।
कर्मचारीको सेवासुबिधा, राजश्वमा मात्रै केन्द्रित भएको उद्योगले पछिल्ला महाप्रबन्धक न्यौपाने नेतृत्वमा आएसँगै सामाजिक कार्यमा पनि उत्तिकै सहयोग पुर्याउँदै आएको छ। यसअघि कोभिडको समयमा देउरी र शुकौरा स्वास्थ्य चौकीमा अक्सिजन लगायतका अन्य सहयोग, मठमन्दिरमा सिमेण्ट सहयोग, गुठीबाट सञ्चालन हुने गरी विद्यालय स्थापना, शान्तिसुरक्षाका लागि जलजले र शुकौरामा प्रहरी चौकी स्थापना, खेलकुदकार्यक्रम जस्ता सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ।
वर्षौदेखि नोक्सानमा रहेको उदयपुर सिमेन्ट उद्योग गत आर्थिक वर्षदेखि मात्रै नाफामा जान थालेको छ। यद्यपि अहिले पनि कम्पनी ठूलो सञ्चित नोक्सानीमा छ। कमजोर आर्थिक अवस्थाका बाबजुद उद्योगले समाजप्रतिको दायित्व बोध गरेर उक्त सहयोग गरेको प्रवक्ता पोखरेलले बताए। उद्योगको यस कार्यमा सगरमाथा इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंकलेसमेत सहकार्य गरेका छन्।
सगरमाथा इन्स्योरेन्सले १५ लाख रुपैँया, माछापुच्छ्रे बैंकले ५ लाख ६५ हजार रुपैँया र अन्य संघसंस्थाको तर्फबाट गरी कुल ३० लाख रुपैँया जुटाइएको थियो। कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालाको जनशक्ति व्यवस्थापनका लागि उद्योगले स्वास्थ्य केन्द्रलाई ७ लाख रुपैँयाको चेकसमेत हस्तान्तरण गरिएको प्रवक्ता पोखरेलेले बताए।
यसका अलावा स्वास्थ्य सेवा विभागले एक थान अल्ट्रासाउन्ड मेसिनसमेत प्रदान गरेको स्वास्थ्य चौकीका अध्यक्ष थापाले बताए। यसकासाथै एक्सरे मेसिनका लागि समेत पूर्वाधार तयार गरिएको उनले बताए। २५ लाख रुपैँया पर्ने उक्त एक्सरे मेसिन जडान गर्न सके १५ शैँयाको अस्पताल निर्माण गर्न सकिने थापाले बताए।
सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग २०४४ सालमा जापान सरकारले स्थापना गरिदिएको हो। उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गर्दै आएको छ। उद्योगले अहिले पनि मूल्य अभिवृद्वि कर, अन्तस्शुल्क, अग्रिम कर, रोयल्टी लगायत समेत गरी १ अर्बको हाराहारीमा कर बुझाउँदै आएको छ। त्यस्तै, नगरपालिकाले प्रति बोरा सिमेन्ट बापत २ रुपैँया ५० पैसा गरी वार्षिक ५० लाख बढि रुपैँया उपलब्ध गराउँदै आएको छ।
यसैविच आर्थिक वर्ष २०७८/७९ को फाल्गुण २७ गतेसम्ममा उद्योगले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। यस अवधिमा ७५ हजार मेट्रिकटन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेकोमा ७६ हजार ९ सय मेट्रिक टन क्लिङ्कर उत्पादन भएको छ।
अघिल्लो वर्ष ६६ हजार ५ सय ९५ मेट्रिक टन क्लिङ्कर उत्पादन भएको थियो। सिमेन्ट बिक्रीका १३ लाख २४ हजार बोरा लक्ष्य राखिएकोमा यसअवधिमा १४ लाख ५६ हजार बोरा बिक्री भएको छ।