प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं: स्याङ्जा वालिङ नगरपालिका-१३ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गैह्रेसमेत ३ जनाविरुद्ध मुद्दा दायर भएको छ। उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
प्रधानाध्यापक गैह्रे र तत्कालीन प्रावि द्वितीय 'लेखा' शिक्षक गुनाखर गैह्रेसमेतले मिलेमतो गरी विद्यालय सहायक अनुदान कोटामा कार्यरत शिक्षकको नाममा २०७५ चैत्र महिनाको तलब हस्ताक्षर बिना निकासा गरेको अनुसन्धानमा पाइएको छ।
त्यस्तै शिक्षक तुलसा रेग्मीलाई विदेश जाने वातावरण मिलाई सो समयमा विद्यालयमा हाजिरी देखाई उनको नाममा तलब भत्ता निकासासमेत गरी ३ लाख ९३ हजार ७८८ रुपैँया खाएको भेटिएको छ। अख्तियारले प्रअ र लेखा शिक्षक गैरविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजायसहित बिगो रकम असुलउपर गर्न मागदाबी लिइएको छ।
शिक्षक रेग्मीविरुद्ध विद्यालयमा कार्यरत रहँदा आफ्नो सेवा निरन्तर राख्ने मनसायले विदा स्वीकृत नगरी, राजीनामा समेत नदिई, विद्यालयमा यथावत काम गरेको देखाई नेपाल बाहिर रहेको समयमा विद्यालयमा नियमविपरीत तलब निकास गराउने काम गरेको भन्दै विशेष अदालतमा मुद्दा दयार गरिएको छ। उनीविरुद्ध ३ लाख ८२ हजार २८८ विगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।