सडक खन्न गाउँलेले किने डोजर

सडक खन्न गाउँलेले किने डोजर

बेनी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन्। 

गाउँमा सडक पुर्‍याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन्। मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको एक्साभेटर परिचालन गरेर धवलागिरी गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तरगत महतला भिरमा मार्ग खोलिएको बताए।  

‘स्वदेश तथा विदेशमा रहेका गुर्जावासीहरुले सडक निर्माणका लागि चन्दा संकलन गरेर डोजर किनेका हौं,’ उनले भने ‘हालसम्म ७०-७५ लाख रुपैयाँ जुटिसकेको छ।’ 

गुर्जा घर भइ हाल पोखरामा बस्ने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ। 

म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्य गुर्जा मात्रै सडक नपुगेको वडा हो। धवलागिरी गाउँपालिका–२ लुलाङदेखि गुर्जा पुग्न तीन हजार तीन सय मिटर अग्लो देउराली डाँडा पार गरेर भीर, जंगल र खोल्साको पैदलमार्गमा पुरै दिन हिंड्नुपर्छ। 

२६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोवास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्ट्रेचर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ। पछिल्लो एक वर्षको अवधिमा अस्पताल जानका लागि हेलिकप्टर चार्टर गर्नका लागि मात्र गुर्जावासीले करिब रु. ४० लाख खर्चेको मञ्चका सचिव छन्त्याल बताउँछन्।  

खच्चर र भरियालाई पिठ्युमा बोकाएर ढुवानी गर्नुपर्छ। महतलादेखि गुर्जाको प्रतिकिलो ढुवानी शूल्क २२ रुपैयाँ तिर्नुपर्छ। विपन्न र शारीरिक अशक्तहरु गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेर सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन्। आलु, जडिबुटी र पशुजन्य बस्तु निकासी गर्न समस्या भएको छ। 

लोत्ता, पुवा, चोया लगायत वनपैदावार जंगलमा कुहिएर खेर गएका छन्। महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीय गोर्खाबहादुर छन्त्यालले बताए।  

गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भीरमा दुई वर्षको प्रयासमा गत पुष महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो।

पुर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत महतला भीरमा सडक निर्माणका लागि २०७६ पुषमा बिएन कन्ट्रक्सनले ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो। 

वि.स. २०७७ चैतदेखि सहायक ठेकेदारको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको एक्साभेटरले महतलाको भिरमा मार्ग खोलिएको हो। चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भैरहेको छ। महतलादेखि लुलाङ हुँदै गुर्जातर्फ जाने सडक खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादले निर्माण हुन सकेको छैन। 

विवादित भूगोललाई छोडेर लुलाङदेखि देउराली हुँदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। धवलागिरी गाउँपालिकाले चार लाख खर्चेर बनाएको डिपिआर अनुसार सो सडक निर्माणका लागि ४७ करोड ८७ लाख लगानी आवश्यक पर्छ। 

‘वडा र पालिकाको बजेटबाट सम्भव नहुने भएपछि डिपिआर बनाएर संघ र प्रदेश सरकारमा योजना प्रस्ताव गर्ने तयारीमा छौं,’ वडा अध्यक्ष छन्त्यालले भने, ‘गुर्जावासीहरुले आफैँ एक्साभेटर खरिद गरेर सडक निर्माणमा अग्रसर भएपछि बजेट व्यवस्थापनमा दवाव परेको छ।’ सरकारले इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका पदाधीकारीहरुको भनाइ छ।  
 
वि.सं. २०७४ मा भूगर्वविद् र प्राविधिक टोलीले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको छ। गुर्जातर्फबाट मजदुर परिचालन गरेर देउराली देखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.