कर्तव्य ज्यानमुद्दामा २० वर्षको सजाय तोकिएका पटेल ७ वर्ष पछि पक्राउ
वीरगन्ज : बम विस्फोट र कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय पाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनी साढे ७ वर्षदेखि फरार थिए। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगर घर भएका ४० वर्षीय रवीन्द्र पटेल हुन्। २०६४ भदौ ९ गते पर्साको साविकको महुवन गाविस वडा नम्बर ३ र हालको सखुवा प्रसौनी गाउँपालिका ५ घर भएका ४५ वर्षीय कुचन साह कानुलाई पटेलले गोली हानी हत्या गरेका थिए । कानुको हत्या गरेको आरोपमा पर्सा जिल्ला अदालतले २०७१ असार १७ गते कर्तव्य ज्यान मुद्दामा पटेललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिनको कैद सजाय सुनाएको थियो ।
अदालतको फैसला लगत्तै फरार रहेका पटेललाई प्रहरीले वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट बिहीबार पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पटेल २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कर्मचारी मोहन मैनालीको हत्यामा पनि सलंग्न रहेको खुलेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
यस्तै २०६६ साल जेठ १३ गते प्रो–बायोटेक प्रालि उद्योगमा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि भएको बम घटनामा पनि पटेलको संलग्नता रहेको खुलेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । पक्राउ परेका पटेललाइ जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि वीरगन्ज कारागारमा पठाइएको खनालले बताए ।