खुल्ला दोहोरी : तेस्रो दिन २० समूहमा प्रतिस्पर्धा
काठमाडौं : ‘टुबोर्ग छैटौं राष्ट्रिय रनिङ सिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता– २०७८’ को तेस्रो दिन शुक्रबार २० समूहबीच प्रतिस्पर्धा भएको छ। यससँगै अहिलेसम्म प्रतियोगितामा ३१ समूहले प्रतिस्पर्धा गरिसकेका छन्।
बुधबारदेखि काठमाडौंस्थित भृकृटीमण्डपमा सुरु भएको प्रतियोगितामा जम्मा ६१ समूहको सहभागिता रहेको छ, जसमध्ये बिहीबार ११ र शुक्रबार २० समूहले भाग लिइसकेका छन्। बाँकी सहभागी प्रतिस्पर्धीबीच शनिबार भिडन्त हुने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका महासचिव तथा प्रतियोगी संयोजक शिव हमालले जनाएका छन्।
ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिसमेत रहेको प्रतियोगितामा प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष प्रजापति पराजुली र केन्द्रीय सदस्य पीएन सापकोटाले सहजीकरण गरेका थिए। प्रतियोगिता अवधिभर प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहनेछन्। निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहसंयोजकको रहेका छन्। यससँगै प्रतियोगितामा अन्य अग्रज कलाकारलाई समेत निर्णायकको भूमिकामा राखिने आयोजकले जनाएको छ।
पूर्वतालिका अनुसार शनिबार (चैत १९) मा सम्पन्न हुने भनिएको प्रतियोगिता थप एक दिन लम्बिन सक्ने आयोजकले जनाएको छ।
मूल स्रष्टालाई रोयल्टी
आयोजकले यस पटक प्रतियोगितामा प्रतियोगीले गीत गाउँदा प्रयोग गरेका भाकाका मूल स्रष्टालाई रोयल्टीसमेत दिने भएको छ। आयोजकका अनुसार प्रयोग भएका भाकाहरूको रोयल्टी ‘संगीत रोयल्टी संकलन समाज’मा बुझाएर मूल स्रष्टालाई रोयल्टी वितरण गरिनेछ।