वीरगन्जमा लोसपाको शक्ति प्रदर्शन, निर्णायक मधेस आन्दोलनको उद्घोष
वीरगन्ज : आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगन्जमा शक्ति प्रर्दशन गरेको छ। पार्टीका सबै शीर्ष नेताहरुलाई वीरगन्जमा बोलाएर लोसपाले बृहत् र्यालीसहित शक्ति प्रदर्शन गरेको हो।
निर्वाचन नजिकिँदै जाँदा मधेसका प्रभावशाली नेताहरु पार्टी छाडेर अन्य दलमा प्रवेश गर्ने लहर चलेपछि लोसपा कमजोर बन्दै गएको टीकाटीप्पणी हुन थालेको छ। तर, केही नेताहरु अन्य दलमा जाँदैमा पार्टी कमजोर नभएको सन्देश दिन लोसपाले शनिबार शीर्ष नेताहरुसहित शक्ति प्रदर्शन गरेको हो।
वीरगन्जको चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकलसहित निस्किएको 'स्वभिमान यात्रा' नामक र्यालीमा लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, केन्द्रीय नेताहरु राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए।
लोसपाको र्याली नगर परिक्रमा गरेपछि नगरभागृहमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो। सभालाइ पार्टीका चारै जना शीर्ष नेताहरुले सम्बोधन गरेका थिए।
अब अन्तिम मधेस आन्दोलन हुन्छ : ठाकुर
सभामा सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले मधेस विद्रोह र आन्दोलन अहिले पनि जारी रहेको बताए। उनले मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद् गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि नसकिएको बताए।
उनले मधेसका मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने बताए। 'अब निर्णायक मधेस आन्दोलन हुन्छ, हामी तयारीमा लागिसकेका छौं,' उनले भने।
मधेस २२ जिल्लाको भए पनि शासकले ८ जिल्लामा मात्रै सीमित पारिदएको भन्दै उनले थपे, ‘मधेसमै मधेसीलाई अल्पमत पार्न शासकले मधेसलाई आठ जिल्लामा सीमित गरिदिएका छन्।'
२२ जिल्लाको मधेस प्रदेश हुनुपर्छ : महतो
त्यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले मधेसको मुद्दा र स्वभीमानको लागि संघर्ष अहिले पनि जारी रहेको बताए। उनले एक दुई जना अवसरवादी र भगौडा नेताले मधेसी दल छाडेर जाँदैमा मधेसको मुद्दा र मधेसवाद समाप्त नहुने बताए। उनले मधेसको अधिकार र मागका लागि मधेसी संघर्ष अहिले पनि चलिरहेको बताए।
मधेसले आंशिकरुपमा मात्रै आफ्नो अधिकार पाएको भन्दै उनले भने, ‘बाँकी अधिकार प्राप्तीका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुन्छ। त्यो नै अन्तिम (निर्णायक) आन्दोलन हुने छ। त्यसका लागि मधेसी जनता तयार रहनुस्।'
२०७२ मा मधेसीको छातीमा गोली चलाएर संविधानसभाबाट संविधान जारी गरिएको घटना मधेसी जनताले अहिले पनि नबिर्सिएको र त्यसको बदलमा आगामी चुनावमा लिने महतोले बताए। झापादेखि कञ्चनपुर जिल्लासम्म २२ जिल्ला मधेस प्रदेश हुनुपर्ने माग आफूहरुको रहेको उनले बताए। २२ जिल्लाको मधेस प्रदेश भए प्रादेशिक राजधानी वीरगन्ज हुने उनले आश्वासन दिए।
त्यस्तै अर्का नेता अनिल झाले मधेसी जनताको भोट लिएर सत्ताको स्वाद चाखिरहेको जसपा अब मधेसी दल नरहेको बताए। उनले मधेसको अधिकार र मधेसको मुद्दा बोकेर आज पनि संघर्ष गरिरहेकाले लोसपा नै अब एकमात्र मधेसी दल रहेको जिकिर गरे।
जसपा मधेसविरोधी : अनिल झा
लोसपा नेता सर्वेन्द्रनाथ शुक्लाले उपेन्द्र यादवको दल जसपा मधेसविरोधी दल भएको बताए। अब लोसपामात्रै मधेसवादी दल रहेको बताउँदै उनले मन्त्री पाउने वितिक्कै उपेन्द्र मधेस आन्दोलन छाडेर सरकारमा जाने गरेको आरोप लगाए।
उनले स्थानीय निर्वाचनमा जसपासहितको सत्तागठबन्धनलाई नराम्ररी पराजित गर्न अपिल नै गरे। लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभालाई लोसपा नेता लक्ष्मणलाल कर्ण, शशीकपुर मिया, प्रहलाद गिरीलगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए।