उठ्यो काष्ठमण्डप

उठ्यो काष्ठमण्डप

काठमाडौं : ऐतिहासिक, पुरातात्विक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण भएको छ। तीन वर्ष आठ महिनामा पुनर्निर्माण सकिएपछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। विश्वसम्पदा सूची वसन्तपुर दरबार क्षेत्रभित्र रहेको काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो। 

भूकम्प गएको तीन वर्षसम्म पनि पुनर्निर्माणको काम अघि नबढेपछि ०७५ वैशाख १८ मा जनस्तरबाट नै पुनर्निर्माण समिति गठन गरेर काम सुरु गरिएको थियो। २०७५ जेठ २९ काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सोही समय महानगरपालिकाबाट ५० लाख अनुदानको चेक हस्तान्तरण भएको थियो। त्यसपछि कामले गति लियो। काठमाडौं महानगरपालिकाबाट विभिन्न चरणमा प्राप्त भएको साढे ११ करोड रुपैयाँमा पुनर्निर्माण सम्पन्न भएको हो। 

काष्ठमण्डपको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम हुनु खुसीको विषय भएको बताइन्। उनले प्रकृति र सम्पदाको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन आग्रहसमेत गरिन्। जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने उनको भनाइ थियो। ‘जनताबाट छानिएको प्रतिनिधिबाट विकासका कार्यहरू सञ्चालन भई जनताका दैनिक आवश्यकताहरूको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो,’ उनले भनिन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमी उत्साहित हुने गरी सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे। काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति उनले आभारसमेत व्यक्त गरे। मेयर शाक्यले सम्पदाहरूको पुनर्निर्माणका लागि स्थानीयवासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गरे। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका बाँकी सम्पदाहरूको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने मेयर शाक्यको आश्वासन थियो। 

काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८०१९.७३ क्युफिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४९३.८ क्युफिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले बताए। 

पुनर्निर्माणमा ठूला र सानो गरी करिब १ लाख ६० हजार माःअप्पा, करिब १५ हजार तेलिया टायल र करिब ७५ हजार झिंगटी प्रयोग भएको छ। काष्ठमण्डप निर्माणमा सिकर्मी, डकर्मी, अवाल र नकर्मीलगायत अधिकांश कालीगढ भक्तपुरका थिए। जसको नेतृत्व सिकर्मी लक्ष्मीभक्त राजचलले गरेका छन्। तामाको काम पाटनका ताम्राकारहरूबाट गराइएको संयोजक शाक्यले बताए। काष्ठमण्डपको पुनर्निर्माणको क्रममा श्रीखण्ड तरुमुल महाविहारका गुरु यत्रमानपति बज्राचार्य, मन्त्र सिद्धि महाबिहारका गुरु सर्वज्ञ रत्न बज्राचार्य तथा बैदिक पूजा पद्धतिका गुरु महेश्वर जुजुद्धारा काष्ठमण्डपमा गरिने विभिन्न पूजाक्रम तथा अनुष्ठानहरूको पनि आयोग गरिएको थियो। 

काठमण्डपको पुनर्निर्माण कार्यले सम्पदा संरक्षण मौलिक तरिकाबाट गर्न सकिँदो रहेछ भन्ने संभावनालाई पुनर्जीवित गराएको संयोजक शाक्यले बताए। जनताको अपनत्व र जनसहभागिता रहने गरी काष्ठमण्डपलाई मौलिकता दिइएको उनको भनाइ छ। 

भूकम्पमा पूर्णरूपमा भत्किएपछि जगको अध्ययन गर्ने अवसर पनि मिलेको उनी बताउँछन्। उनका अनुसार काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको दरह्याम विश्वविद्यालयको सौजन्यमा पुरातत्व विभागद्वारा गरिएको पुरातात्विक अनुसन्धानबाट देखिएको छ। 
सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थपिएको थियो। अध्ययनबाट काष्ठमण्डपको इतिहास कम्तीमा सातांै शताब्दी हाराहारीको हुन सक्ने प्रमाण पनि भटिएको छ। 
‘यसले काष्ठमण्डपको यसअघि मानिएको इतिहासलाई अझ पुरानो कालखण्डमा पुर्‍यायो,’ उनले भने। लक्ष्मीनरसिंह मल्लले काष्ठमण्डपको निर्माण गर्न लगाएका हुन भन्ने उल्लेख भएको पाइन्छ भने विशेष नाम गरेका व्यक्तिले निर्माण गरेको लेख भेटिन्छ।

काष्ठमण्डप पुनर्निर्माण समितिको स्थापना भएसँगै पहिलो चरणमा कार्यालयको स्थापना, विज्ञ टोली र कार्यटोलीको गठन, सिकर्मीहरूका लागि कार्यशालालगायत प्रारम्भिक कार्यबाट सुरु गरिएको थियो। दोस्रो चरणमा पुनर्निर्माणका लागि योजना निर्माण, नक्साको तयारी, काठ, इँट्टा जस्ता निर्माण सामग्रीको आपूर्तिका लागि पहल, साइटको सरसफाइ जस्ता काम भएका थिए। तेस्रो चरणमा भूकम्प लगत्तै उद्धाराको क्रममा प्रयोग भएको एक्साभेटरको कारण पनि थपक्षति भएको काष्ठमण्डपको जगको गारोको मर्मत र पुनर्निर्माण भएको थियो। कोरोनाका कारण केही समय निर्माण प्रभावित भएको थियो। 

काष्ठमण्डपका भुइँतलामा रहेका चार गणेश र गोरखनाथको ढुंगाको मूर्ति भूकम्पमा टुटफुट भएको थियो। खडिण्त मूर्तिको पूजा नगरिने परम्परालाई अनुसरण गर्दै नयाँ मूर्ति बनाएर हनुमान ढोकाको न्हुलछेँचोकभित्र भण्डार गरिएको थियो। ती मूर्ति २०७८ कात्तिक १५ मा यथास्थानमा राख्ने काम भएको संयोजक शाक्यले जानकारी दिए। यो विषयमा अदालतमा मुद्दा पनि परेको छ। उद्घाटनसँगै साढे ६ वर्षपछि सर्वसाधारणका लागि काष्ठमण्डप खुला गरिएको छ। काष्ठमण्डपलाई नेवारीमा ‘मरुसतः’ भनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.