क्रूरताको पराकाष्ठा, किन ?

क्रूरताको पराकाष्ठा, किन ?

अपराधको दुनियाँ बदलिएछ। सुन्नै नसकिने घटना हुन थाले। सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको अवस्था के होला ? फस्टाइरहेको आपराधिक दुनियाँमा को दोषी ?  अबोध बालबालिकासमेत अपराधका सिकार बनिरहेका छन्। दण्डहीनताले प्रश्रय पाएकै हो या कानुनी अड्चनले हाँगा फैलायो ? अपराधका शैलीहरू फेरिए। मानिस यति क्रूर हुन थाले कि दन्त्य कथाहरूका पात्र राक्षसभन्दा कठोर र निर्दयी। कहाँ चुक्यौं ? मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ। अपराध सामाजिक रोग हो। यसले समाजलाई विक्षिप्त बनाउँछ। नागरिकको सुरक्षाको दायित्व राज्यको हो। नागरिक पनि यो दायित्वबाट भाग्न मिल्दैन। कतिपय अपराधमा भीडले अनुसन्धान गर्न थालेको छ। सडकबाट फैसला सुनाइन्छ। के कानुनको सही र निष्पक्ष कार्यान्वयनप्रति नागरिकले विश्वासको अनुभूति नगरेकै हो त ! कहीँ पीडितलाई आहात गरिँदैछ त कहीँ पीडकलाई पक्षपोषण। निर्मला प्रकरणले न्याय पाइसकेको छैन। अनुसन्धानमा आएका घुम्तीहरूले अनुसन्धानको गतिलाई धिमी बनाएको छ। अपराध र अपराधी लामो समयसम्म कानुनबाट टाढा भाग्न सक्दैन।

अनुसन्धान किन ढिला भन्ने आवाज धेरै गुञ्जिन्छन्। प्रश्न तेस्र्याइन्छन्। ती आवाज र प्रश्नहरूको उत्तर के हो ? अबोध निर्मलापछि अरू पनि धेरै यस्तै निर्मला पीडित बनिसकेका छन्। १८ महिनाकी बालिकासम्म सिकार बनिरहेका छन्। समाज कहाँ जाँदैछ र कहाँ चुकिहरेका छौं ? यहाँ बालिका र युवतीहरू सिकार बनिरहे भन्ने मात्र होइन, युवा र पुरुष पनि हनी ट्यापका नाममा सिकार भइरहेका घटना पनि छन्। प्रपञ्चरूपी जाल बुनेर नफसाइएका पनि होइनन्। धेरै निर्दोषहरूले आफू घटनामा संलग्न नहुँदा नहुँदै पनि सजाय नभोगेका होइनन्। भनिन्छ, सयौं अपराधी छुटून् तर एउटा निर्दोष नफसोस्। निर्दोषलाई दोषी देख्ने सामाजिक आँखा गलत हुन् या दोषी बनाउने कानुनी छिद्रहरू।

मौलाउँदै गएको आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न यसका वैकल्पिक उपायहरू पनि अवलम्बन गर्नुपर्छ। समयसापेक्ष कानुनहरू बलियो र कठोर बन्दै गएका पनि छन्। दण्ड, सजायमा बढोत्तरी हुँदै गएको पनि छ। दण्ड र सजायले मात्र अपराध नियन्त्रण हुन्छ भन्न सकिने अवस्था पनि होइन। अज्ञानता, रुढिवादी सोच र सामाजिक मूल्यमान्यताले पनि अपराधको दुनियाँमा प्रभाव पारिरहेको हुन्छ। एउटा विकृतिको निरूपण गर्दा अर्को विकृतिले जन्म लिन सक्ने अवस्थाप्रति सचेत रहन उत्तिकै जरुरी रहन्छ। कानुनी छिद्रहरूबाट निर्दोषहरू दोषी मात्र बनेका छैनन्, धेरै दोषीले पनि उन्मुक्ति पाइरहेका पनि छन्। एउटा अपराधमा पाएको कानुनी उन्मुक्तिले ती दोषीहरूलाई अपराध नदोहोर्‍याउने पाठ होइन, अपराधको दुनियाँमा फर्कने हौसला प्रदान गरिरहेको छ भन्दा अत्युक्ति नहोला। मोरङमा १८ महिने अबोध बालिकामाथिको करणी र हत्याको अनुसन्धानमा प्रहरी अनुसन्धानबाट खुल्न आएको संलग्न कसुरदार र तथ्यले स्पष्ट छ। निर्दोष कसरी दोषी बन्छन् र दोषी कसरी उम्कन्छन् भन्ने आरोप प्रत्यारोप होइन। कानुनी समाज कहाँ जाँदैछ भन्ने हो। कुनै पनि व्यक्ति जन्मँदै अपराधी भएर जन्मने होइन। सामाजिक संगत र संस्कार एवं ज्ञानले अपराधी बनाउँदै लाने हो। 

जबरजस्ती करणी तथा उद्योगजस्ता यौनजन्य हिंसा कसुरका पीडकहरूमा १० वर्षभन्दा कम उमेरका बालबालिकाहरू पनि छन् भन्दा अचम्म मान्नुपर्ने हुन्छ। यो अपत्यारिलो सत्यलाई मुद्दा दर्ताका आधारमा प्रहरी प्रधान कार्यालयमा अभिलेखबद्ध लैंगिक हिंसाको तथ्यपत्रले उजागर गरेको छ। २०७४।०७५ देखि २०७७।०७८ सम्मको तथ्यांकलाई केलाउँदा सो अवधिमा १० वर्षभन्दा कम उमेरका २३ बालक यौनजन्य हिंसा कसुरका पीडक बनेको देखाउँछ। सोही अवधिमा १० वर्षमुनिका १ हजार ६ सय ९४ बालबालिका यौनजन्य हिंसामा पीडित रहेको देखिन्छ। मुलुकी फौजदारी संहिता २०७४ ले १० वर्षमुनिका बालबालिकालाई अपराधका लागि सजाय योग्य मान्दैन। ११ देखि १४ वर्ष उमेरसमूहका बालबालिकालाई भने बढीमा ६ महिना सुधार गृहमा राख्ने अदालती आदेश हुन सक्छ।

लामो झन्झटिलो कानुनी प्रक्रियाले तथ्य प्रमाण र साक्षीहरूमा आइरहेको विचलनलाई पनि धेरै घटनाले देखाएको छ। अनुसन्धान अधिकारीको लापरवाहीले प्रमाण लोप भएका घटना पनि छन्।

१५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई भने वयस्कसरह कानुनी कारबाही हुने व्यवस्था छ। पीडक र पीडित दुवै बालबालिका भएका यौनहिंसाका घटनाहरू त कानुनीरूपमा दर्ता हुन नै आइपुग्दैनन्। मुद्दा दर्ताभन्दा बाहिरका संख्यालाई पनि केलाउने हो भने संख्या अझै बढ्ने निश्चित छ। १० वर्षमुनिका बालकसमेत यौनजन्य अपराधको कसुरमा पीडकको रूपमा संलग्न देखिएको विषयलाई गम्भीरतापूर्वक लिनु जरुरी छ। बालबालिकाको मनस्थिति अपराध नै गर्ने नभए पनि पारिवारिक रहनसहन, सामाजिक संगत, देखासिकी र नक्कल गर्ने बालबालिकाको स्वाभावले आपराधिक कार्यसम्म पुर्‍याउँछ।

पछिल्ला घटनाहरूलाई अध्ययन गर्ने हो भने कसलाई विश्वास गर्ने ? कसलाई आफ्नो भन्ने ?  जताततै शंका व्याप्त छ। विश्वासको खडेरी विस्तार हुँदैछ। अपराध घरभित्र प्रवेश गरेको छ। आखिर किन ? त्यो सामाजिक सद्भाव मूल्य, मान्यता कहाँ छ ? सानासाना समस्या र निहुँहरूमा मानिस ज्यानै लिनेसम्मका घटनाहरूमा संलग्न भइरहेको देखिन्छ। परिस्थिति विवशताले पनि मानिसलाई अपराधी बनाइरहेको हुन्छ। कोही जानेर वा बुझेर आपराधिक मनसायले नै योजनाबद्धरूपमा आपराधिक कार्यहरू गरिरहेका हुन्छन्। अपराध एक मानसिक रोग पनि हो। राजनीतिक, आर्थिक, सांस्कृतिक, देखासिकी, मद्यपान तथा लागूऔषधको लतजस्ता विविध कारणले मानिसलाई आपराधिक कार्यसम्म पुर्‍याएको देखिन्छ। व्यक्तिका सोचसँगै अपराधका रूप तथा प्रकार पनि बदलिएका छन्। कल्पनासम्म गर्न नसकिने नयाँनयाँ किसिमका अपराधहरू हुन थालेका छन्। कतिपय अपराधहरू अझै पनि स्पष्टरूपमा कानुनका दायरामा छैनन्। कानुनभन्दा अपराध एक कदम अगाडि हुन्छ भनिएको यही भएर होला।

प्रचलित कानुन अनुरूप उभ्याइएका पीडकहरू पनि कानुनी छिद्रलाई टेकेर उम्किरहेका संख्याहरू नभएका होइनन्। लामो झन्झटिलो कानुनी प्रक्रियाले तथ्य प्रमाण र साक्षीहरूमा आइरहेको विचलनलाई पनि धेरै घटनाले देखाएको छ। अनुसन्धान अधिकारीको लापरवाहीले प्रमाण लोप भएका घटना पनि छन्। कानुन कार्यान्वयनमा देखिएको कमी, कमजोरीले आपराधिक मनोवृत्तिलाई प्रश्रय पुर्‍याउँछ। दोष थोपरेर मात्र अपराध नियन्त्रण हुने होइन। राज्यका सम्बद्ध निकायसँगै समाज जुट्न सक्नुपर्छ। न्यायपालिकासँगै नागरिक समाजको सकारात्मक इच्छाशक्ति बलियो हुनुपर्छ। दण्डहीनतालाई चिर्दै दण्डात्मकसँगै प्रवद्र्धनात्मक मनोवैज्ञानिक उपचारका चेतनामूलक कार्यक्रमहरूले आपराधिक गतिविधिमा कमी ल्याउन सकिन्छ। संविधानले दिएको अधिकार हरेक नागरिकले उपभोग गर्न पाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.