अछाममा ९४ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य
अछाम : अछाममा ९४ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने लक्ष्यसहित अभियानको सुरुवात गरिएको छ। साँफेबगरमा रहेको किन्डर गार्डेन एकेडेमी स्कुलमा खोप लगाउने कार्यक्रमको आयोजना गरी जिल्लामा खोप अभियानको शुभारम्भ गरिएको हो।
स्वास्थ कार्यालय अछामका अनुसार चैत २५ देखि बैशाख १८ गतेसम्म ९४ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिईएको छ। जिल्लामा दुई चरणमा खोप कार्यक्रम सुरु गरिने भएको छ। दश पालिका मध्ये शुक्रबार ७ वटा पालिका साँफेबगर, मंगलसेन, कमलबजार नगरपालिका, मेल्लेख, रामारोशन, चौरपाटी, बान्नीगढी जयगढ गाउँपालिकाले खोप अभियान सञ्चालन गरेको छन् भने ३ पालिका पञ्चदेवल बिनायक नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकाले बैशाख ३ गतेबाट खोप सञ्चालन गर्ने स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।
उनले जिल्लामा ८ सय २५ वटा खोप सेसनबाट खोप लगाउने कार्यक्रम रहेको बताए। यस अभियानका लागि जिल्लामा दुईसय भन्दा बढी स्वाथ्यकर्मी र १६ सय जति स्वयमसेवक परिचालन गरिएको ढुंगानाले जानकारी दिए। टाइफाइड खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ।