फरार प्रतिवादी पक्राउ
जाजरकोट : जाजरकोटमा जंगली जनावर सम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नलगाड नगरपालिका-१ अनाहपानी निवासी २३ वर्षका रामबहादुर चनारालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जंगली जनावर शिकार गरेर मासु बेचविखन गरेको आरोपमा चनाराविरुद्ध मुद्धा परेको थियो। मुद्धा परे लगत्तै पक्राउ पूर्जी जारी भएपनि उनी फरार हुँदै आएका थिए।
पक्राउ परेका चनारालाई प्रहरीले डिभिजन वन कार्यालय जाजरकोटको जिम्मा लगाएको छ। डिभिजन वन प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार रामबहादुरकी आमाले झोलामा घोरलको मासु विक्रीका लागि बजार लैजादै गर्दा प्रहरीले तीन महिना अघि फेला पारेको थियो।
आमाकै बयानका आधारमा छोराले जंगलबाट मारेर मासु ल्याएको खुलेपछि आमालाई तारेखमा छोडिएको थियो। पक्राउ परेका चनारालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको डिभिजन बन प्रमुख श्रेष्ठले बताए।