वीरगन्जको निजी अस्पतालमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु
वीरगन्ज : वीरगन्जमा रहेको थप एक नीजी अस्पतालमा पनि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। वीरगन्ज १४ गण्डकबहुअरी स्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो।
अस्पतालमै आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले स्वास्थ्य बिमा कार्यक्रमको समुद्घाटन गरेका हुन्। प्रजिअ ढकालले समुद्घाटन गरेसँगै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालका अध्यक्ष डाक्टर अबुल हैयश अन्सारीले बताए।
यसअघि वीरगन्ज महानगरमा सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल र निजी स्वास्थ्य संस्था नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालमा मात्रै स्वास्थ्य बिमा सेवा उपलब्ध थियो। वीरगन्ज हेल्थकेयर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी स्वास्थ्य बीमा कार्यक्रमको विशेषता र महत्वका बारेमा खासगरी ग्रामीण भेगका जनतालाई जानकारी र जनचेतना नभएको कारण उनीहरू यो कार्यक्रमबाट टाढा रहन पुगेको बताए।
उनले भने,‘स्वास्थ्य बिमा कार्यक्रम एकदमै राम्रो कार्यक्रम छ , यसबाट धनीगरीब सबैले सहज सुलभ उपचार सेवा पाउछन्।’ वीरगन्ज हेल्थकेयर अस्पतालले टोर्नाडो र कोरोना महामारीमा पनि प्रभावकारी सेवा दिने अस्पतालकारुपमा चिनिएकाले अब यो अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमका लक्षित समूहलाई सहज र प्रभावकारी सेवा पाउने विश्वास उनले व्यक्त गरे।
अस्पतालका अध्यक्ष अन्सारीले पनि महामारी र प्राकृतिक विपदमा अस्पताले आपत र दुखमा परेका व्याक्तिहरुलाइ प्राथमिकतामा राखेर सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए। उनले स्वास्थ्य बिमा सेवा पनि सहज रुपमा उपलब्ध गराइने प्रतिबद्धता जनाए।
अन्सारीकै अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड वीरगन्ज शाखाका हरिष पन्तले स्वास्थ्य बीमा कार्यक्रमका विभिन्न फाइदा बारे जानकारी गराए।