साउदीमा २१ नेपाली अलपत्र
साउदी : रोजगारीका क्रममा साउदी अरब पुगेका २१ नेपालीलाई कम्पनीले तोकिएको सेवा सुविधा नदिएपछि अलपत्र परेका छन्। म्यानपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर ६ महिना अघि साउदी पुगेका उनीहरूले तोकिएको तलब र सुबिधा त पाएनन् नै कम्पनीबाट समेत निकालिएका छन्।
मार्स सर्भिस म्यानपावरले ७ अक्टोबर २०२१ मा इन्टरनेसनल सामा एन्ड मेन्टेनस कम्पनीमा उनीहरूलाई पठाएको थियो। कम्पनीले २१ जनाकै राहदानी राखेर निकाली दिएको पीडितहरूले बताए। कम्पनीबाट निकालिनेमा सिन्धुलीका ४, काभे्रका २, कास्कीका ३, सर्लाहीका २, तनहुँका ३, बैतडी ३, पर्वत २, हेटौंडा र पर्वतका १/१ जना छन्।
अलपत्र सिन्धुलीका विष्णु वाइबा, सन्तोष पाख्रिन, अमृत पोख्रेल र राजु भुसाल काभ्रेका तुलरीन जिम्बा र जोन घलान, कास्कीका सागर राना भाट, सुवास विक र विराट थापा, सर्लाहीका वीरबहादुर डोङ र दीपककुमार सिंह, तनहुँका बलबहादुर थापा तनहुँ, टेकबहादुर आले र खेमबहादुर थापा, बैतडीका हरिस साउद, पदम साउद र जनक मेहता, पर्वतका जनक लामिछाने र किरज कुँवर साथै हेटौंडाका पर्वत घिसिङ हेटौडा र गोरखाका वुद्धी वहादुर गुरुङ हाल नेपालीको सरणमा छन्।
उनीहरूलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालीगुराँसका सञ्चालक यम तमुले नेपालीहरूसँगको सहकार्यमा खाना र बस्नको व्यवस्था गर्दै आएका छन्।
पीडितका अनुसार नेपालमा म्यानपावरले दिराममा १ हजार तलब र ३ सय ओभर टाइम दिने सम्झौता गरेको थियो। तर, कम्पनीले सुरुवातमा नै ओभरटाइमको २ सय मात्रै दिए र तीन महिनापछि ८ सय तलब र २ सय दिराम दिएर ठगेको पीडित मध्येका एक बैतडीका हरिस साउद बताउँछन्। सम्झौताअनुसार नभए काम नगर्ने र स्वदेश फर्कने बताएपछि कम्पनीले निकालिदिएको उनी बताउँछन्। ‘हामीले सम्झौताबमोजिम होस् भनेर कुरा गर्दा, सबैलाई निकालिदिएको हो,’ उनले भने।
अलपत्र परेपछि दूतावास र म्यनपावरलाई जानकारी गराए पनि सहयोग र उद्धार नगरेको पीडितहरूको गुनासो छ। साउदी अरेबियाको श्रम काउन्सिलरका सहचारी जीवन राई नेपाली अलपत्र परेको सूचना दुतावासले पाउनासाथ सम्बन्धित कम्पनी र नेपालको म्यानपावर सञ्चालकाबीच छलफल गराएको भए पनि अटेर गरेको बताए। ‘हामीले कम्पनी र म्यानपावर सञ्चालकलाई कामदारको समस्या समाधान गर्न अनुरोध गरेका थियौं। तर, म्यानपावरले जिम्मेवारीपूर्ण ढंगले काम नगरेपछि चैत १४ मा कारबाही गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएका छौं,’ सहचारी राईले भने। दूतावासको सहयोगमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि आवश्यक कदम चाल्ने उनले बताए।
कामदारबाट साउदी पठाउँदा म्याननपावरले प्रतिव्यक्ति १ लाख ३० हजारदेखि १ लाख ७० हजारसम्म रकम लिएको पीडित बताउँछन्। पीडितहरूले आफूहरूलाई सम्बन्धित कम्पनीले अलपत्र पारेको गुनासो म्यानपावर सञ्चालक जयराम खत्री, प्रकाश बोहोरा र एजेन्ट अनिलकुमार ठाकुरलाई पटक–पटक जानकारी गराएका थिए। तर, कुनै सुनुवाइ नभएको अलपत्र नेपाली बताउँछन्।