वीरगञ्जका कांग्रेसी भन्छन्- हामी देउवाको रैती होइनौं, महानगर अरुलाई दिए बागी उठाउँछौं
वीरगञ्ज : मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अरु दलसँग चुनावी तालमेल नगर्ने घोषणा गरेको छ।
केन्द्रमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगञ्ज महानगरमा जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति गरेपछि कांग्रेस नेताहरुले केन्द्रको निर्णय नमान्ने घोषणा गरेका हुन्। बरु केन्द्रको घोषणाविरुद्ध विद्रोह गर्ने उनीहरुले चेतावनी दिए।
महानगर सभापति र क्षेत्रीय सभापतिसहितका नेताहरुले पत्रकार सम्मेलन गरेर वीरगञ्ज महानगरमा कुनै पनि हालतमा अरु दलसँग चुनावी तालमेल नगर्ने उद्घोष गरे। पर्सा क्षेत्र-१ का क्षेत्रीय सभापति अरविन्द गुप्ताले वीरगञ्जका नेता कार्यकर्ताको जनभावना केन्द्रले सुन्ने विश्वास गरे।
‘केन्द्रले हाम्रो चाहना र भावना बुझेन र जबरजस्ती निर्णय लाद्न खोज्यो भने हामी विरोधमात्रै होइन, विद्रोह पनि गर्छौ,' उनले भने। वीरगञ्ज महानगरमा अरु दलसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको केन्द्रीय कार्यसमितिमा लिखितरुपमै जानकारी गराइसकेको उनले बताए।
‘वीरगञ्जमा कांग्रेसको मुख्य प्रतिस्पर्धा जसपासँगै छ। हामी एक्लै चुनाव लडेर सजिलै जित्ने स्थितिमा छौं। यहाँ गठबन्धन स्वीकार्य छैन र हुँदैन पनि,' गुप्ताले भने।
केन्द्रले गठबन्धनको निर्णय कार्यान्वयन गर्न निर्देशन दिए के गर्नु हुन्छ? भन्ने प्रश्नमा गुप्ताले भने, ‘हामी पार्टीमै विद्रोह गरेर बागी उम्मेदवार खडा गरेर निर्वाचन लड्न पनि सक्छौं। यस विषयमा आन्तरिक छलफल भइरहेको छ।'
वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले पनि वीरगञ्ज महानगरमा अरु दलसँग गठबन्धनको आवश्यकता नरहेको र केन्द्रले जबरजस्ती गरे पनि गठबन्धन नमान्ने बताए। महानगरका ३२ वटै वडाका कांग्रेस बुथ सभापतिले गठबन्धन आवश्यक नरहेको र गठबन्धनमा नजाने भनेर लिखितरुपमै सुझाव दिएको जानकारी उनले गराए।
‘३२ वटै वडामा कांग्रेसको जनहलर छ। जिताउन सकेनौं भने चुनावपछि राजीनामा दिन्छौं भनेर बुथ सभापतिहरुले लिखितरुपमै प्रतिबद्धता पनि जनाएका छन्,' उनले भने। २०४६ सालपछि वीरगञ्जमा कांग्रेसको सबैभन्दा राम्रो अवस्था अहिले रहेको उनको दाबी छ। त्यस्तै नगर उपसभापति सन्तोष गुप्ताले अरु दलसँग अप्राकृतिक गठबन्धन गर्ने चेतावनी दिए। उनले आफूहरु पार्टी सभापति देउवाको रैती नभएको बताए।
त्यस्तै पर्सा क्षेत्र-२ का कांग्रेस क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले पनि वीरगञ्ज महानरमा अरु दलसँग चुनावी गठबन्धन गर्न आवश्यक नरहेको बताए। उनले कांग्रेसको जनलहर बढेकाले वीरगन्जमा कांग्रेस एक्लैले चुनाव लडेर जित्ने अवस्था रहेको बताए।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया पनि वीरगञ्जमा गठबन्धन गर्ने केन्द्रको निर्णयको विपक्षमा उभिएका छन्। वीरगञ्जको मेयरमा कांग्रेसले अरु कुनै पनि दलसँग सम्झौता नगर्ने उनले बताए। ‘वीरगञ्जको मेयरमा कांग्रेस आफैँ चुनाव लड्छ। पछिल्लोपटक केही प्राविधिक कारणवश पराजित भएको कांग्रेस यसपटक जितेर देखाउँछ,’ उनले भने।