माओवादीले तस्बिर दुरुपयोग गरेपछि प्रचण्डलाई फोन गरेर हटाउनू भनेँ : कुलमान घिसिङ

माओवादीले तस्बिर दुरुपयोग गरेपछि प्रचण्डलाई फोन गरेर हटाउनू भनेँ : कुलमान घिसिङ

काठमाडौं : माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा कुलमान घिसिङलाई प्रयोग गरेको छ। घिसिङ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध  निर्देशक हुन्। उनकै अघिल्लो कार्यकालमा देश लोडसेडिङमुक्त भएको थियो। आफ्नो जनाधार गुम्दै गएपछि गठबन्धनको भर परेको माओवादीले भोट बटुल्न बुधबार घिसिङलाई अघि सार्न खोजेको हो। तर, चर्को आलोचनापछि उक्त पार्टी केहीबेरमै पछि हटेको छ। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहानै आफ्नो फेसबुकमा घिसिङको तस्बिरसहितको प्रचार सामग्री सार्वजनिक गरेका थिए। जसमा अध्यक्ष दाहाल, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर राखिएको थियो। त्यहाँ लेखिएको थियो, ‘अँध्यारोबाट उज्यालोको यात्रा।’ 

दाहालले उक्त सामग्री पोस्ट गर्दै लेखेका थिए, ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको।’ तर, त्यसको चर्को आलोचनापछि दाहालले उक्त सामग्री हटाए। तत्कालीन ऊर्जामन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङको तस्बिर हटाएर नयाँ पोस्टर राखे। 

पूर्वनिर्वाचन आयुक्त इला शर्मा कुनै राष्ट्रसेवकले गरेको कामको ‘क्रेडिट’ लिन खोज्नु गलत भएको बताउँछिन्। ‘कुलमान घिसिङ राष्ट्रसेवक हुनुहुन्छ। उहाँ राज्यको करबाट तलब खानुहुन्छ’, पूर्वनिर्वाचन आयुक्त शर्मा भन्छिन्, ‘हो उहाँले राम्रो काम गर्नुभयो। त्यसको फाइदा एउटा पार्टीले लिन खोज्नु पक्कै गलत हो। आफूले नचाहिने फाइदा लिन र प्रभावमा पार्न खोज्नु हुँदैन। यो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण हुनुपर्छ।’ 

यो विषयमा आचारसंहिता आकर्षित हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल। उनका अनुसार सार्वजनिक पद धारण भएको व्यक्तिलाई आचारसंहिता लाग्छ। कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नहुने स्पष्ट व्यवस्था छ। ‘प्रचार–प्रसारमा प्रयोग भएको छ भने सम्बन्धित व्यक्तिले नै आफैं विरोध गर्नुपर्‍यो’, सहायक प्रवक्ता अर्याल भन्छन्, ‘नत्र उहाँ त्यो राजनीतिक दलमा सम्मिलित भएको देखिन्छ।’ आयोगको नोटिस भए र उजुरी परे त्यससम्बन्धी कारबाही प्रक्रिया थालिने अर्यालयको भनाइ छ। 

आफूलाई सो सम्बन्धमा जानकारी नभएको र फोटो राख्ने सम्बन्धमा कसैले नसोधेको प्रतिक्रिया कार्यकारी निर्देशक घिसिङले अन्नपूर्ण पोस्ट्लाई दिएका छन्। ‘मलाई पनि थाहा थिएन। बिहान अरूले कल गरेपछि मात्रै थाहा भयो’, घिसिङ भन्छन्। 

आफूले थाहा पाएपछि अध्यक्ष दाहाललाई फोन गरेर हटाउन अनुरोध गरेको घिसिङको भनाइ छ। जिम्मेवार निकायमा बसेको भएर कुनै पनि पार्टीको चुनावी प्रचारमा कुनै पनि प्रकारले सहभागी हुन आचारसंहिताले नदिने उनको भनाइ छ।

आचारसंहिताको ६ नम्बरमा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणबारे उल्लेख छ। कुनै राजनीति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारमा संलग्न हुन वा प्रचार गर्न नहुने, दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तक्र्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिता छ। ‘आचारसंहितामा सबै कुरा राख्न सम्भव पनि हुँदैन। यस्तो गर्ने नगर्ने भन्ने सबै कुरा राखेर साध्य हुँदैन। यसमा आधारभूत सिद्धान्त मात्रै हुन्छन्’, पूर्वनिर्वाचन आयुक्त शर्मा भन्छिन्।

लोडसेडिङ अन्त्य गरी उज्यालो नेपालको संवाहकका रूपमा घिसिङलाई लिइन्छ। घिसिङ अघिल्लो पटक कार्यकारी निर्देशक हुँदा देश लोडसेडिङमुक्त भएको थियो। त्यसको जस आफूले लिएर माओवादीले चुनावमा मत बटुल्न माध्यम बनाउन खोजेको हो। माओवादी केन्द्रको केन्द्रीय कार्यालय अधिकारी भने डिजाइनमा गल्ती भएको भन्दै पन्छिन् खोजेका छन्। कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार डिजाइन गर्नेले गरिदियो र अध्यक्षले ध्यानपूर्वक हेर्न नभ्याएकाले गल्ती भएको हो। बाहिर पनि आलोचना भएको र अध्यक्ष दाहालसँग रिपोर्टिङपछि तुरुन्तै हटाइएको सचिव उपाध्यायको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.