गठबन्धन भर्सेस एमाले

गठबन्धन भर्सेस एमाले

काठमाडौं : सत्ता गठबन्धन र नेकपा एमालेबीच स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ। सत्तागठबन्धनले मंगलबार महानगर र बुधबार उपमहानगरमा प्रमुख र उपप्रमुखको भागबन्डा मिलाएको छ। यसअघि ती स्थानमा गठबन्धनभित्रै तालमेलको सकस थियो। 

सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार नै महानगर र उपमहानगरको तालमेल टुंग्याउने प्रयास गरे पनि नेपालगन्ज, इटहरी र जनकपुरका विषयमा सहमति जुट्न नसक्दा बैठक बुधबारसम्म लम्बिएको बताए। तीनवटा महानगरको प्रमुखमा सहमति जनाएको कांग्रेसले धरान, इटहरी, बुटवल, कलैया, नेपालगन्ज, तुलसीपुर र धनगढी उपमहानगरको प्रमुखमा अब उम्मेदवारी दिनेछ। ६ महानगर र ११ उपमहानगरमध्ये कांग्रेस बाहेकका गठबन्धनका दलले ३ महानगर र ४ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिन पाउने सहमति भएको छ। 

जनकपुर, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको उपप्रमुख पद कांग्रेसले राख्दै अन्यमा गठबन्धनका उम्मेदवार उठाउने छ। यस्तै जितपुर सिमरा र घोराहीको प्रमुखमा उम्मेदवारी दिन पाउने माओवादी केन्द्रले धरान र धनगढीको उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले हेटौंडाको प्रमुख पाउने गठबन्धन दलमा समझदारी भएको छ। एकीकृतले उपप्रमुख पदका लागि इटहरी, बुटवल र तुलसीपुर पाएको छ। जसपाले जनकपुरधाममा प्रमुख पाएको छ भने कलैया र नेपालगन्जको उपप्रमुख सिट पाएको छ। सबै महानगर र उपमहानगरमा प्रमुख नपाए पनि धेरै स्थानमा उपप्रमुख पद पाएको मन्त्री कार्कीले बताए। 

२०७४ को स्थानीय चुनावमा ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख र उपप्रमुख नै जितेको थियो। काठमाडौं, भरतपुर र वीरगन्जमा उपप्रमुख जितेको थियो। उपमहानगरमध्ये धनगढी र कलैयामा दुवै पद जितेको कांग्रेसले नेपालगन्जमा उपप्रमुखमा चित्त बुझाएको थियो। धरानमा भने उपनिर्वाचन हुँदा प्रमुख पद हात पारेको थियो। भरतपुरमा कांग्रेको समर्थनमा माओवादीले जित हात पार्दा वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले प्रमुख पदमा विजयी भएको थियो। उपमहानगरमा एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो। यस्तै सो समय नेपालगन्ज राप्रपा र जनकपुरमा राजपाले प्रमुख पद जितेका थिए। 

अबको निर्वाचनमा भने एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनले मजबुत तयारी गरेको सत्तापक्ष दलका नेता बताउँछन्। अधिकांश महानगर र उपमहानगरको चुनावी प्रतिस्पर्धामा कांग्रेस र एमालेको भेट हुँदा केही प्रमुख र उपप्रमुखमा एमालेले अन्य दलका उम्मेदवारसँग भिड्ने गठबन्धनको सहमतिले देखाएको छ। 

गठबन्धनको सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्नेछ। भरतपुरमा माओवादी केन्द्र, पोखरामा नेकपा एकीकृत समाजवादी र वीरगन्जमा जनता समाजवादी पार्टी (जसपा) सँग एमाले भिड्ने छ। उपप्रमुखमा वीरगन्ज, भरतपुर र पोखरा महनगर कांग्रेसको भागमा छ। अन्य स्थानमा काठमाडौं नेकपा एस, ललितपुरको उपप्रमुख माओवादी केन्द्र र विराटनगर जसपाले पाएको छ। 

उपमहानगरमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीको प्रमुखमा गठबन्धनको कांग्रेसले एमालेसँग भिड्ने तयारी गरेको छ।  नेकपा एमालेले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहँदा गठबन्धनले भने बुधबार मात्रै महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको हो। ललितपुर, चितवन र वीरगन्जमा एमालेले सर्वसम्मत उम्मेदवार चयन गरेको छ। अन्य महानगरले एकभन्दा बढीको नामसहित केन्द्रमा पठाएको छ। गठबन्धनको पनि भागबन्डा मिलेकाले अब महानगर र उपमहानगरमा उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्ने जनाएको छ।  

कुन स्थानमा क–कसको चर्चा ?

काठमाडौंमा कांग्रेसले प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई उठाउने सम्भावना बढी छ। तर, कांग्रेस महानगर सभापति निलकाजी शाक्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी र महानगर कमिटीका सचिव सुशन वैद्य पनि आकांक्षी छन्। एमालेमा वर्तमान महानगर प्रमुख विद्यासुन्दर शाक्य र पूर्वमेयर केशव स्थापित मुख्य दाबेदारको रूपमा देखिएका छन्। महानगर कमिटीले पूर्वमन्त्री रामवीर मानन्धर, नगर कमिटी अध्यक्ष निर्मल देउला र इन्दिरा पन्तलाई सिफारिस गरेको छ।

उता जिल्ला कमिटीले विद्यासुन्दर, स्थापित र पन्तको नाम केन्द्रमा पठाएको छ।  उपप्रमुखमा रत्न गुरुङ, शान्ति अधिकारी, मीना काफ्ले र पेम्बा लामाको दाबी छ। स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी पूर्वमिस नेवा सुनिता डंगोलको नाम पनि एमालेबाट सिफारिसमा परेको छ। तर, डंगोलले मेयरमा नै स्वतन्त्र उम्मेदवार घोषणा गरेकी छन्। गठबन्धनबाट काठमाडौंको उपप्रमुख नेकपा एसको भागमा छ। २०७४ सालको स्थानीय निर्वाचन प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। 

ललितपुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले एमालेसँग प्रतिस्पर्धा गर्ने छन्। प्रमुखमा एमालेबाट हरिकृष्ण व्यञ्जनकारको नाम सर्वसम्मत सिफारिस भएको छ। उनी यसअघि ३ सय २६ मतको अन्तरले कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए। गठबन्धनका तर्फबाट चिरिबाबु दोहोरिने सम्भावना छ। 

चिरिबाबुलगायत नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ। उपप्रमुखमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्र र एमालेका उम्मेदबारबीच प्रतिस्पर्धा हुनेछ। 

उपप्रमुखमा एमालेका तर्फबाट पार्टी महानगर कमिटी अध्यक्ष आस्था शाक्य ‘मन्जली’ र प्रदेश कमिटी सदस्य सरस्वती खड्काको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ।

पोखरामा एमाले र नेकपा एसबीच प्रमुखमा प्रतिस्पर्धा हुनेछ। एमालेको पोखरा महानगर कमिटीले प्रमुखमा १२ जनाको नाम सिफारिस गरेको छ। नेकपा एसतर्फट पोलिटब्युरो सदस्य श्रीनाथ बराल, दिलकुमारी पन्त (दिलु), केन्द्रीय लेखा आयोगका सदस्य विजयबाबु बनबासे र कास्की जिल्ला अध्यक्ष धनराज आचार्यको चर्चा छ। जसमा पन्त र आचार्यको सबैभन्दा बढी सम्भावना छ। उपमयेरमा भने एमाले र कांग्रेसबीच 
प्रतिस्पर्धा हुनेछ। 

मधेस प्रदेशको एक मात्र महानगर वीरगन्जमा एमाले र गठबन्धनको जसपा भिड्ने छन्। २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाटै प्रमुख भएका विजयकुमार सरावगी एमाले मेयरको उम्मेदवार हुने निश्चित छ। एमाले वीरगन्ज महानगर कमिटीले सरावगीको नाम मात्रै प्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ। जसपाकातर्फबाट राजेशमान सिंहको नाम सिफारिस भएको छ। सिंह पनि भर्खरै महन्थ ठाकुरले नेतृत्व गरेको लोसपाबाट जसपामा आएका हुन्।  

भरतपुरमा माओवादी केन्द्रसँग एमाले चुनावी लडाइँ लड्नेछ। माओवादी केन्द्रबाट वर्तमान मेयर रेनु दाहालले उम्मेदवारी देहोरिने लगभग निश्चित छ। एमालेको स्थानीय कमिटीले प्रमुख पदमा विजय सुवेदीलाई सिफारिस गरेको छ। २०७४ को निर्वाचन दाहालमा माओवादी केन्द्रकी दाहाल मेयर निर्वाचित भएकी थिइन्। उनलाई मतपत्र च्यातेर जितेको आरोप छ। एमालेका उम्मेदवार देवी ज्ञवालीलाई झिनो मत पराजित गरिएको थियो। उहाँ उपमेयर कांग्रेसले पाएको छ। यसअघिको निर्वाचन अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको थियो। 

निर्वाचनमा गठबन्धन राजनीतिक अपराध भएको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक डा. राजेश अहिराजले पुँजीवादी र साम्यवादीबीच अप्राकृतिक, गैरराजीतिक र निर्वाचनको मर्मविपरीत गठबन्धन भएको बताए। उनले चारवटा कारणले निर्वाचनमा गठबन्धन गलत भएको बताए। 

गठबन्धन गर्दा कांग्रेसभित्र असन्तुष्टि

गठबन्धनका विषयमा नेपाली कांग्रेसभित्र भने असन्तुष्टि सुरु भएको छ। बुधबार नेविसंघको ५३औं स्थापना दिवसका अवसरमा बोल्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको टिकट वितरणमा कांग्रेसका शीर्ष नेता केन्द्रीय समितिको निर्णयविपरीत गएको आरोप लगाए। उनले यस विषयमा स्थानीय तहको निर्वाचनपछि समीक्षा हुनेसमेत बताए। ‘अहिले किन कम्युनिष्टसँग मिल्न खोजेका छौं ? हामी कहाँ कमजोर छौं ? कमजोर भएका ठाउँमा हामी कमजोर छौं भन्नुपर्यो। एकतर्फी निर्णय किन गर्ने ?’ 

सोही कार्यक्रममा महामन्त्री गगन थापाले पार्टीको केन्द्रीय कमिटीको बैठकमा एउटा निर्णय गर्ने अनि गठबन्धनसँग अर्कै निर्णयमा भन्दै आपत्ति जनाए। ‘हामी निरन्तर कम्युनिष्ट पार्टीको डरमा रहने भयौं। चुनाव जितेको भोलिपल्ट फेरि बार्गेनिङ सुरु हुन्छ। कुनै बेला उनीहरू एकठाउँमा आउन सक्छन्। हामीले यो कुरा कहिले बुझ्ने ?’ उनले प्रश्न गरे। 

यता माओवादी केन्द्रका नेता देव गुरुङले भने गठबन्धनले निर्णय नै गरिसकेपछि विरोध गर्नुको अर्थ नभएको बताएका छन्। ‘गठबन्धन केका लागि ? अरू पार्टीको विरोध छैन। खाली कांग्रेस र एक, दुई स्थानमा जसपाको विरोध सुनिन्छ। यो अब आवश्यक छैन,’ उनले भने। उनले कांग्रेस भित्रको असन्तुष्टि देउवा र जसपाको उपेन्द्र यादवले मिलाउनु पर्ने बताए। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी तालमेलको निर्णय इमान्दारितापूर्वक सबै दलले पालना गर्नुपर्ने बताए। जनकपुर उपमहानगरपालिकामा जनता समाजवादी पार्टीलाई दिने निर्णयको कांग्रेस कार्यकर्ताले विरोध गरेका छन्। धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले केन्द्रको निर्णय आएसँगै कार्यकर्ता विक्षिप्त भएको र विरोध सुरू गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.