अदालतको ढोका खुल्यो, घरको खुलेन !
राजविराज : वैशाख महिना! तराईको हप्प पार्ने गर्मी। सूर्यको प्रताप र क्रुरता झन् झन् तेजस्वी भएर मध्य आकाशतिर उक्लिँदै थियो। राजविराज नगरपालिका–६ स्थित कम्पाउन्ड भएको आलिशान घर अगाडि सडकमा मंगलबार २२ वर्षीया ब्युटी झा रुञ्चे स्वरमा चिच्याइन्। भेला भएका गाउँलेलाई सम्बोधन गरिन् र धर्ना बसिन्।
उष्णताको पीडाले असिनपसिन भएकी ब्युटी बेला–बेला खसेको सारीको सप्को टाउकोमा लाउँदै भन्दै थिइन्, ‘दुई–चार दिन भन्दै पर्खाएको महिनौं भइसक्यो, कहिलेसम्म पर्खने ? एक साता, एक महिना, एक वर्ष कति समय प्रतीक्षा गर्नु ?’ सूर्य ढल्किँदै, कोल्टिँदै मलिन अनुहार लाएर सन्ध्या प्रहर भइसक्दा पनि आफ्नै घर प्रवेश गर्न नपाएकी ब्युटीको धर्ना जारी थियो।
घरभित्र डिभिजन वन कार्यालयका अवकाशप्राप्त प्रमुख बासुदेव झा र मैथिली महिला परिषद्की अध्यक्ष तथा बाल मन्दिर राजविराजकी प्राचार्य शान्ति झाको कान्छी छोरीको बिहेको तयारी चल्दै थियो। तीन दिनपछि हुने विवाहका लागि घरभित्र कामदारहरू सजावटमा ब्यस्त थिए। मूलढोका बाहिर अदालतको आदेश बोकेर ब्युटी भने घरमा बस्न पाउनु पर्ने माग गरिरहेकी थिइन्।
सामाजिक परम्परा अनुसार २०७७ मंसिर २५ गते बासुदेवका जेठा छोरा इञ्जिनियर बिपिन झासँग भारत बिहारको अररिया–१३ खरैयाकी ब्युटीको धुमधामका साथ विवाह भएको थियो। विवाहको पार्टीकै राति घरेलु हिंसामा परेको दाबी गर्दै आएकी ब्युटीले घरपरिवारलाई रिझाउने धेरै प्रयास गरिन्। सात फेरो लगाएर पवित्र विवाह बन्धनमा बाँधिएका श्रीमान्को मन फर्किएला भनेर आश गरेर बसिन्। तर, न त श्रीमान्को मन फर्कियो न आफूलाई घरबाट निकाल्ने परिवारको मन फर्कियो।
दक्षिण अफ्रिकामा बसोबास गर्ने विपिन आफ्नी बहिनीको विवाहमा घर आउने र छलफल गरेर समस्या समाधान गर्ने आशामा ब्युटीका परिवारले पुनः कुराकानी अगाडि बढाए। राम्रो दिन देखाएर घर भित्र्याउने पटक–पटकको वाचाबाट विपिनका परिवार पन्छिएपछि ब्युटीले अदालतको ढोका ढक्ढकाइन्।
सप्तरी जिल्ला अदालतले मंगलबार ब्युटीलाई खानलाउन, बस्न दिनु, शिष्ट व्यवहार गर्नु, कुटपिट नगर्नु भनेर अन्तरिम संरक्षणात्मक आदेश दिएपछि ब्युटी परिवारका सदस्य, अधिकारकर्मी, सञ्चारकर्मीसँगै घर पुगिन्। ब्युटी भन्छिन्, ‘अदालतको ढोका त खोले तर घरको ढोका खुलेन।’ घरको मूल ढोकामा भित्रबाट ताला लगाएर बसेकी शान्ति झा बुहारीलाई भित्रिन नदिन अड्डी कसेर बसेकी थिइन्। उनी छोरीको बिहेपछि मात्रै बुहारीलाई भित्र्याउने भनेर टार्दै थिइन्। बाहिरबाट ससुरा बासुदेव र देवर इञ्जिनियर विकासले घरमा चाहिने समान ओसार्दै ढोकामाथिबाट दिइरहेका थिए।
छोरी अन्माउन घरमा बिहेको तयारी जोडतोडले चलिरहेको थियो। तर, १७ महिना अघि झ्याईझ्याई बाजा बजाएर घरमा भित्र्याएकी बुहारीका लागि ढोका बन्द गरिएको थियो। ढोका खोल्ने आग्रह अस्वीकार गरेपछि मन बुझाउने ठाउँ नै नरहेको ब्युटी बताउँछिन्। ‘जीवनभर साथै हिँड्ने र सम्पूर्ण जिन्दगी साथमा रहने निर्णय गरेर आएको हुँ। अब मेरो घर यही हो। डोलीमा भित्रिएकी मेरोे अर्थी यही घरबाट निस्किन्छ’, उनी भन्छिन्।
छोरीको बिलौना सुनेर उनका बुवा विजय झा पनि छटपटिए। ‘विवाह भनेको दुई आत्माको मात्र नभएर दुई परिवारको पनि मेल हो’, विजयले भने, ‘आफूले सम्पतिसँग विवाह गरेको होइन र आफ्नो समाजमा छोरीको दोस्रो विवाह सम्भव पनि छैन।’ अहिलेसम्म श्रीमान् र घरपरिवारले स्वीकार्लान् भनेर आशा गरेको बताउँदै विजय भन्छन्, ‘कानुनी रुपमा आधिकारिक फैसला नभएसम्म छोरीले आफ्नो घरमा शान्तिपूर्वक बस्न पाउनु पर्छ।’
घटनास्थलमा पुगेको प्रहरीले बासुदेव झालाई जिल्ला प्रहरी कार्यालयमा लगेर सम्झाउने प्रयास गरेको थियो। बासुदेवको प्रतिप्रश्न थियो, ‘बिहे गरेको छोराले नराखेपछि मैले के गरौं ?
श्रीमान–श्रीमती मिलेर बसे हामीलाई आपत्ती हुने कुरै भएन।’ रात छिप्पिँदै थियो। अदालतको आदेश कार्यान्वनमा अवरोध गरेर बुहारीलाई घरमा बस्न नदिए कारवाही गरिने भनेपछि झा परिवार बुहारीलाई घरभित्र प्रवेश गराउन बल्ल राजी भएको एसपी अविनारायण काफ्लेले जानकारी दिए।