भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

भ्रष्टाचार गर्नेलाई कारबाहीदेखि घरमै भत्तासम्म

काठमाडौं : एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा संकल्प गरेको छ। ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको संकल्प छ। 

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा यस्ता संकल्प गरिएका हुन्। पार्टीका नेताहरूले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘संकल्प’ भनेको छ। घोषणापत्रमा  भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ। छोटो समयमा नै मुलुकलाई  समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ। 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ओलीले ७ प्रतिबद्धतासहित ४८ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘सुशासन, समृद्धि र समाजवादीको आधार पालिकापालिकामा एमालेको सरकार’ भन्ने नाराका साथ घोषणापत्र ल्याएको हो। रेल, पानीजहाजदेखि विद्युतीय बसको विषय घोषणापत्रमा उल्लेख छ। अशक्त अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई घरमा नै भत्ता उपलब्ध गराउनेदेखि लोपोन्मुख, सीमान्तकृत, धार्मिक र लैंगिक अल्पसंख्यक, जोखिममा परेको जाति र परिवारको संरक्षणको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता एमालेको छ। बालबालिका, ज्येष्ठ नागरिकका साथै युवाका एजेन्डालाई पनि घोषणापत्रमा राखिएको छ।  

सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार

सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने प्रतिबद्धता एमालेको छ।  सडक, हवाई, जल, केबलकार, रोपवे, दूरसञ्चारलगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ। 

प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ। 

ठूला सहरहरूमा रेल, बस र्‍यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने पनि एमालेको घोषणापत्रमा छ। विद्युतीय सवारीसाधनलगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ। 

‘निरोगी नेपाल, स्वस्थ्य नेपाली’ 

एमाले स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै निरोगी नेपाल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। गम्भीर रोगको पूर्वपरीक्षण ‘स्क्रिनिङ’ र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिकको अनिवार्य बिमा गर्ने ज्येष्ठ नागरिक, विपन्त दलित, एकल महिला र अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने बताएको छ। 

स्वच्छ खानेपानी : सफा बस्ती र राम्रो आनीबानी 

प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने जनाएको छ। एक घर एक धारालाई अभियानअन्तर्गत दुई वर्षभित्र सबै नागरिकलाई खानेपानी सुलभ आपूर्तिको सुनिश्चितता गर्ने घोषणापत्रमा उल्लेख छ। सार्वजनिक क्षेत्रमा शौचालय र ४० माइक्रोनभन्दा मुनिको प्लास्टिकको प्रयोग पूर्णरूपमा निषेध गर्ने प्रतिबद्धता पनि एमालेको छ। 

आधुनिक ऊर्जा : उज्यालो पालिका 

विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आयवृद्धि र पर्यावरणको संरक्षण गर्ने घोषणापत्रमा उल्लेख छ। प्रत्येक नागरिक विद्युत् सुविधा उपलब्ध गराउने र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने एमालेले जनाएको छ। 

सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिबद्धता एमालेको छ। रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। 

विकसित पालिका, संरक्षित आवास

प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेको छ। सकुुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या सदाका लागि समाधान गर्ने एमालेको प्रतिबद्धता छ। 

घरबारविहीन नागरिकलाई संरक्षित आवासको व्यवस्था गर्ने संघ र प्रदेशसँगका सहकार्यमा जनता आवास, संरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने, खर र फुसका छाना विस्थापन गर्ने एमालेको घोषणापत्रमा छ।

स्वदेशमै रोजगारी सम्मान र समृद्धि

सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, सामाजिक सुरक्षा कार्यक्रममार्फत श्रमिकहरूको हक संरक्षण गर्ने घोषणापत्र  छ।  प्रत्येक पालिकामा कम्तीमा एउटा औद्योगिक ग्राम र प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने जनाएको छ।

समानतातर्फको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता

राज्यका हरेक अंग, क्षेत्र र क्रियाकलापमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैंगिक समानता प्रत्याभूत गर्ने जनाएको छ।  राज्य र समाजका हरेक अंग र क्रियाकलापमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने प्रतिबद्धता एमालेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत महिलाका संविधानप्रदत्त हकको कार्यान्वयन गर्ने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्ने,  स्थापना र विकास गर्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने जनाएको छ। 

खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका : अपांगमैत्री सबै पालिका

जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत् ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति र असहायहरूको संरक्षण गर्दै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने प्रतिबद्धता गरेको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लगत संकलन र सहयोगको अभियान सञ्चालन गर्ने, उनीहरूका लागि घरमै निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने घोषणापत्रमा छ। 
पालिकालाई महिला हिसामुक्त, बालविवाहमुक्त,  बोक्सीप्रथामुक्त र छाउपडीमुक्त  घोषणा गर्ने प्रतिबद्धता छ।  दाइजो र तिलक प्रथालाई निरुत्साहित गर्ने र  घोषणाको प्रभावकारी कार्यान्वयन र सोको अनुगमनका लागि आवश्यक संयन्त्र निर्माण गर्ने एमालेको घोषणापत्रमा छ। 

एसिड आक्रमणबाट महिलाहरूको रक्षाका लागि प्रशासनसँग प्रभावकारी समन्वय गर्ने, आक्रमणका पीडितहरूलाई उपचार, पुनस्र्थापना र रोजगारीको प्रबन्ध गर्ने, यौनजन्य हिंसा, बलात्कारलगायतका दोषीहरूमाथि कडा कार्बाही गर्ने पनि एमालेको घोषणापत्रमा छ। प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने पनि छ। जलवायु परिवर्तन, विपद् व्यवस्थापनका विषयमा पनि घोषणापत्रमा समेटिएको छ। मौलिक कला र संस्कृतिको संरक्षण र  पर्यटनबाट समृद्धि हासिल गर्ने लक्ष्य पनि एमालेको छ। सबल राष्ट्र निर्माणको लागि स्वस्थ्य र सिर्जनात्मक युवा भन्ने बुँदा नै राखेर युवा विषय महत्त्वमा साथ राखेको छ। 

एमालेका ६  संकल्प 

एमालेले घोषणपत्रमा ६ वटा संकल्प गरेको छ। संकल्पमा भनिएको छ, हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन्।’ संकल्पमा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुने बताएको छ। उसले एमाले नेतृत्वका रहेका पालिका सुशासनका नमुना बनाउने संकल्प गरेको छ। हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।’ उनले भने। एमालेका जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्ने संकल्प गरिएको छ। 

स्थानीय तहका पाँच वर्ष 

एमालेले घोषणापत्रमा स्थानीय तहका पाँच वर्षको अनुभव र उपलब्धिदेखि वर्तमान गठबन्धन सरकारलाई दिशाविहीन गठबन्धनको संज्ञा दिएको छ। प्रतिकूलताबीच एमालेको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्त्वपूर्ण काम भएको घोषणापत्रमा छ। 

स्थानीय तहको बजेट ५५ अर्बबाट २ सय ८४ अर्ब पुगेकोदेखि पूर्वाधार फड्को नै मारेको एमालेको घोषणापत्रमा छ। पाँच वर्षमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा गुणात्मक प्रगति भएको एमालेले जनाएको छ। घोषणापत्रमा अनुसार सामाजिक न्याय र सुरक्षामा उल्लेखनीय उपलब्धि, रोजगारी सिर्जना, ऊर्जा, सिँचाइ र कृषि तथा सूचना प्रविधि र सेवा प्रवाहमा अभूतपूर्व विस्तार भएको छ। 

एमालेले शुक्रबार देशभरका पालिकामा स्थानीय घोषणापत्र जारी गरेको छ। काठमाडौं महानगरले संघ र प्रदेशसँगको सहकार्यमा सम्भाव्यस्थलहरूमा उपयुक्त मोनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरिने उल्लेख छ। सडक र चोकहरूमा स्मार्ट स्ट्रिट लाइट तथा हाईमास्ट जडान गरिनेछ। स्मार्ट ट्राफिक सिग्नलको व्यवस्था गरिनेछ, काठमाडौंको घोषणापत्रमा उल्लेख छ।

भ्यु टावर बनाउनु हुँदैन भन्नेलाई प्रश्नै प्रश्न

एमाले अध्यक्ष शर्मा ओलीले भ्यु टावर बनाउनु हँुदैन भन्नेहरूलाई धरहरामा धान फल्छ त ? भनेर प्रश्न गरे । ओलीले एमाले नभएको भए आज गर्व गर्ने धरहरा देख्नै नपाउने दाबीसमेत गरे। ‘कांग्रेसहरू, यो गठबन्धन त के भन्दैछ ? यस्ता भ्यु टावर बनाउनु हुँदैन रे ! अनि के त्यहाँ धान फल्छ त धान ? धरहरामा पहिला धान फल्थ्यो ?’, पूर्वप्रधानमन्त्रीसमेत उनको प्रश्न छ। उनले धरहराका टुप्पामा लगेर पसल राख्ने भन्दै गठबन्धनको कटाक्ष गरे। 

उनले भ्यु टावर राष्ट्रका गौरव भएको भन्दै उठाउनुपर्ने समेत बताए। उनले भ्यु टावरलाई दूध दिने जर्सी गाई नसम्झन चेतावनीसमेत दिए। उनले मेलम्चीको पानी यो सरकारले ल्याउन नसक्ने भन्दै चैतमा पानी ल्याउने भने पनि सरकारले मेलम्ची काठमाडौं आउने बेलामा बाढी आउने बताए।

एमालेको घोषणा–पत्र पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.