वीरगन्जमा उम्मेदवारी माग्दैं महिलाहरुको विरोध प्रदर्शन
वीरगन्ज : स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता शून्य पार्न राजनीतिक दलहरु लागेको भन्दै त्यसको विरोधमा शनिबार वीरगन्जमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन्।
वीरगन्ज महानगरमा गठबन्धनको बहानामा कुनै पनि पद (मेयर वा उपमेयर) मा महिलालाई उम्मेदवार नबनाउने षडयन्त्र दलहरुले गरेको भन्दै महिला नेतृत्वहरुले विरोध प्रदर्शन गरेका छन्। चुनावी तालमेल गरेका सत्तगठबन्धनले वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमानलाई उम्मेदवार बनाउने निश्चित छ। उपमेयरको भाग पाएको कांग्रेसले पनि उपमेयरमा पुरुष नेताकै नाम अगाडि सारेको छ। उता चुनावी तालमेल गरेका एमाले र लोसपाले पनि मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारकै नाम अगाडि सारेका छन्।
त्यसैको विरोधमा कांग्रेस, लोसपा, जसपालगायतका दलका महिला नेतृ र अन्य संघसंस्थाका महिला अगुवाहरुले वीरगन्जमा शनिबार विरोध जुलुश निकालेर विरोध प्रदर्शन गरेका हुन्। घण्टाघर चोकबाट नाराबाजी गर्दै सुरु भएको महिलाहरुको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो।
जुलुशमा सहभागी महिला नेतृ र कार्यकर्ताहरुले संविधान अनुसार चुनावमा महिलाको सहभागीता सुनिश्चित गर, महिलाको सहभागीता सुनिश्चित गर, पुरुषवादी सोच मुर्दावाद, महिला माथि हुने हिंसा बन्द गर जस्ता नारा लगाएका थिए।
कोणसभालाइ सम्बोधन गर्दै महिला नेतृहरुले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका नाममा दलहरुले महिलाहरुको सहभागीता शून्य पार्ने खेलमा लागेको आरोप लगाए।
कोणसभालाइ सम्बोधन गर्दै कांग्रेस नेतृत्व डाक्टर सुष्मा तिवारीले पर्सामा पालिकाहरुमा अहिले हरेक दलले महिला वडा सदस्य बाहेक कुनै पनि पदमा महिलालाई उम्मेदवार नबनाउने चलखेल गरिरहेको बताइन्। यसले संविधानमा महिलाले पाएको हक पनि मिचिएको भन्दै यो महिलाका लागि दुर्भाग्य भएको उनले बताइन्।
वीरगन्ज महानरगको उपमेयरका लागि आंकाक्षीसमेत रहेकी उनले वीरगन्ज महानगरको सन्दर्भमा पनि गठबन्धन गरेर दललेहरुले मेयर र उपमेयर दुवै पदमा पुरुषलाई नै उम्मेदवार बनाउने चलखेल गरिरहेको बताइन्।
लोसपाकी नेतृ रम्भा मिश्रले गठबन्धनका नाममा सबै दलहरुले महिलालाई पन्छयाएर पुरुषलाई मात्र उम्मेदवार बनाउने षडयन्त्र गरिरहेकोले आफूहरु आन्दोलनमा उत्रिएको बताइन्। उनले भनिन् ‘यसअघिको चुनावमा उपमेयरमा जितेर महिलाहरुले आफनो कुशलता र सक्षमता प्रदर्शन गरिसकेका छन्, तर आउदो चुनावमा महिलाको सहभागीता शून्यमा झार्ने प्रपन्च भइरहेको छ।’