नवलपरासीमा ठूला दलले सोमबार मनोनयन दर्ता गर्दै
परासी : पश्चिम नवलपरासीका प्रमुख राजनीतिक दलहरुले सोमबार उम्मेदवार मनोनयन दर्ता गर्ने भएका छन्। मनोनय दर्तालाई सहज बनाउन साना दलहरुलाई आइतबार र ठूला दलहरुलाई सोमबार मनोनयन दर्ता गर्ने गरी आपसी समझदारीमा समय तय गरिएको मुख्य निर्वाचन अधिकृत धु्रबकुमार शाहले बताए। ‘समय तोकेपनि मनोनयनका लागि आउने सबैको दर्ता गर्छौ। व्यवस्थित र सहज बनाउन मात्र समय छुट्टाइएको हो।’ शाहले भने।
जिल्लामा एमालेले सबै पालिकामा उमेदवार टुंगो लगाएको छ। राप्रपाले बर्दघाटबाहेक अन्य पालिकाको उम्मेदवारको टुंगो लगाएको छ। अन्य दलहरुले टुंगाउन सकेका छैनन्। सुनवल र बर्दघाटमा गठबन्धन दलले तालमेल गरेर जानेबारे छलफल गरेपनि अझै टुंगोमा पुग्न सकेको छैन।
अन्य पालिकामा प्रतिस्पर्धा गरेर जाने बताएका गठबन्धनका दलहरुले त्यहाँ पनि उमेदवार टुंगो लगाउन सकेका छैनन्। सोमबार उम्मेदवार दर्ता गर्ने भएकाले आइतबार रातिसम्म सबै उम्मेदवारको टुंगो लगाइ सक्ने दलहरुले जनाएका छन्। ‘उमेदवार टुंगो लगाएपनि समय तालिकाअनुसार सोमबार मात्र दर्ता गर्न जान्छौं।’एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले भने।
७ स्थानीय तह रहेको जिल्लामा २७ दल दर्ता छन्। पहिलो दिन मनोनयन दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन पार्टीलगायत साना दल र स्वतन्त्रका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।