चढ्न नपाएको धरहरा

चढ्न नपाएको धरहरा

सम्झँदा लाग्छ, धन्य सपना मात्र धूलोपीठो भएछ। कसो मसहित हामी केही धरहरासँगै धूलोपीठो भएनौं।


धरहरा त धूलोपीठो भयो अरे नि !’ हातमा क्यार—क्यार गर्दै गरेको एफएम रेडियो बोकेका एकजनाले भने। पंक्तिकार लुगलुगी कामिरहेकी धर्तीमाथि फिजारिएको चउरमा आमाको हात समातेर उभिएकी थिएँ। आमाछोरीले एकअर्काको मुखमा हेरेर अवाक् भयौं। एकैछिनमा लामो सास पनि फेर्‍यौं। किनकि एकैछिनमा धरहरा चढ्न जाँदै थियौं। त्यही भएर सायद दुवैका मुख खुलेनन्। आँखा बोले, ‘धन्न बाँचिएछ !’

काठमाडौं आएको नौ महिना बित्दा पनि धरहरा चढ्न जान पाएकी थिइनँ। चाह भने थियो काठमाडौंको मुटुमा रहेको त्यो अग्लो सुर्इंजस्तो भीमसेन स्तम्भमा चढेर काठमाडौं नियाल्ने। काठमाडौंका हरिया फाँटहरूलाई मासेर बनाइएका विशाल कंक्रिटका महलहरू हेर्ने मन थियो। मानिसका सपनाका महलहरू ठडिएको काठमाडौं जहाँ मेरा पनि सपनाको घर छ। कहीँ कतै थोरै उर्वर अनि मलिलो माटोलाई छोपेर ठडिरहेको छ। सायद हामी सबैको सपना ‘काठमाडौंको मलिलो उर्वर माटो माथि एउटा घर उभ्याउन पाए ?’ धरहराको नवौं तलामा पुगेर एउटा मान्छेले काठमाडौं खाल्डो हेरेर के के कल्पना गर्न सक्दो हो ? त्यो अनुभव गर्न मन थियो। अनि उपत्यकालाई घेरेर आकाश छोइरहेका डाँडाकाँडा धीत मरुन्जेल हेर्ने रहर।

धरहराबाट कस्ता देखिएलान् शिवपुरी, चन्द्रागिरिका डाँडाहरू ? जिज्ञासा पनि बहुतै थिए। तर, अहँ खोइ किन हो ? त्यो समय मेरा लागि जुर्नै सकेको थिएन! वैशाख १२ आउनु केही दिनअघि योजना बन्यो, हलेसी महादेव र पाथीभरा माताको दर्शन गर्न जाने। धनकुटामा रहेकी आमालाई पनि सँगै देवादिदेव र माताको दर्शन  गराउन लिएर हिँड्यौं। पहिलो यात्रा तय भयो, हलेसीको। सप्तरीमा रहेकी सखडा भगवती दर्शन गर्दै लाग्यौं खोटाङ। सुनकोसी पुग्नै लाग्दा पारिपट्टि ओखलढुंगाको एउटा डाँडो देखियो। कवि सिद्धिचरण श्रेष्ठ सम्झनामा आए। श्रद्धाले शिर निहुरियो। शब्द निस्किए, ‘मेरो प्यारो ओखलढुंगा !’

हलेसी पुग्ने उमंग बाटो देखेर खस्रक्क भयो। बाटो देखेर मन त्यसै अत्तालिन्थ्यो। डर सबैलाई थियो तर कसैले कसैलाई देखाउन चाहँदैनथियो। सायद अरू नडराउन् भन्ने चाह होला सबैको मनमा मेरो जस्तै। आमाको हात समाउँदै भनेकी थिएँ, ‘यसपटक चाहिँ काठमाडौं गएर धरहरा चढ्नु पर्छ है ?’ कस्तो अवस्थामा त्यो कुरा आयो कुन्नि आमाले छक्क परेर मेरो मुखमा हेर्नुभयो र मुसुक्क हाँस्नुभयो। सायद उहाँ डराइरहनु भएको देखेर ध्यान मोड्न खोजें होला। ‘अहिलेसम्म धरहरा चढाउन लग्नु भएकै छैन मामुले। अब काठमाडौं पुगेर जाने है ?’ अघिदेखि नबोली बसेको ठूलो छोरो पनि बोल्यो। सबैजना बोल्न थाल्यौं। काठमाडौं पुगेलगत्तै धरहरा चढ्न जाने कुरा तय भयो। एकैछिनमा त्यो अक्करको भीर काटेर हरियो खोटाङमा गाडी गुड्न थाल्यो।

बाटोको डर र थकान हलेसी परिसर प्रवेश गरेपछि जादुजस्तै गायब भयो। आहा ! कति शान्त ! कति सुन्दर ! कति शीत्तल ! एउटा बालक गाइड तम्तयार भयो महादेवस्थल घुमाउन। तर पनि सम्पूर्ण धार्मिक कुराको जानकारी पायौं। उनका कुरा सुन्दा अनुमान लाएँ कि हेर्दा मात्रै सानो तर उमेर खाएकै होला ! अब यात्रा ताप्लेजुङतिरको थियो। हिँड्ने बेलामा डर देखाउनेको कमी थिएन, ‘बाटो धेरै उकालो छ।  निकै गारो पर्ला माथि पुग्न त।’ केटाकेटी र बूढाबूढी लिएर हिँड्दा डर त लागेकै थियो। मनमा भने अठोट थियो। अब जाने नै भएपछि जसरी पुगिन्छ। आँट गरेर लागियो पाथीभराको चुचुरोतिर।

उकालो कठोर रहेछ। भन्नेले सही भनेका रहेछन्। केटाकेटी खुरुखुरु उक्लिँदै थिए। आमालाई भने केही कठिन भएझंै भयो। बिस्तारै पाइला सार्नु हुँदैथियो। बाटोमा सबैलाई जिस्काउँथें, ‘छिटो हिँडौं काठमाडौं पुगेर धरहरा चढ्ने खुट्टा पो हुन् त यी। धरहराको त योभन्दा पनि ठाडो बाटो पो छ त।’ फेरि हाँसोको फोहोरा छुट्यो। तर, के थाहा केही समयमै त्यही धरहरा माटोमा विलय हुँदैछ भनेर ? साँच्चै मान्छे कति अञ्जान छ है भविष्यसँग ? एक सेकेन्ड अगाडिसम्म केही पत्तो हुँदैन के हुँदैछ भनेर ! साँची  मान्छेले भविष्य पनि थाहा पाउने भए ? अझ के के पो गथ्र्याे होला ? पाँच घण्टाको उकालो पार गरेपछि पाथीभरा माताको दर्शन गर्‍यौं। 
काठमाडौं आइपुगेको भोलिपल्टै छोराले कुरा उठायो धरहराको। त्यो दिन थियो वैशाख ११ शुक्रबार। भने, ‘हुन्छ भोलि शनिबार पनि हो। दिउँसो जाउँला।’ छिट्टै खाना खाएर धरहरा चढ्न जाने कुरा गरेर त्यो दिन सुतियो। 

शनिबार बिहान सोचें, दिउँसोतिर जानुपर्ला धरहरा चढ्न। १० बजे नै जाँदा भीडभाड होला। सबैसँग यही सल्लाह भयो। आमाछोरी घरभन्दा केही अगाडि पुग्नासाथ धर्ती काम्न थाल्यो। छेउको घरको छत मेरो टाउको छुन निहुरिएँ झैं निहुरिन आइपुग्यो। थाहा भयो, भुइँचालो पो गएछ। यही भुइँचालोले भत्काएको थियो धरहरा र धरहरा चढ्ने हाम्रो सपना पनि। अहिले सम्झँदा लाग्छ, धन्य सपना मात्र धूलोपीठो भएछ। कसो मसहित हामी केही धरहरासँगै धूलोपीठो भएनौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.