आगामी बजेटमा सुर्तीजन्य पदार्थमा कर बढाउन माग
काठमाडौं :सरोकारवालाहरुले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न माग गरेका छन् । नसर्ने रोगहरुको जोखिमको प्रमुख कारकतत्व सूर्तिजन्य पदार्थ रहेको भन्दै करको दायरा बढाउन माग गरेका हुन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले आयोजना गरेको कार्यक्रममा सम्वद्ध निकायले सुर्तीजन्य पदार्थको उपभोग तथा धुमपानको सेवन घटाउन प्रभावकारी र प्रमाणिक संयन्त्र कर वृद्धिलाई मानिएको भन्दै सरकारले आगामी वर्षको बजेटमा ३५ देखि ६० प्रतिशत सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने बताएका छन् ।
एनडीआरआईका महासचिव डा. जयकुमार गुरुङले नेपालमा सुर्तीजन्य पदार्थमा निकै कम कर लिने गरिएको बताए । उनले सुर्तीजन्य पदार्थमा करको दर ३५ देखि ६० प्रतिशत सम्म पुर्याउनुपर्ने बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल जस्तो मुलुकले सुर्तीजन्य पदार्थको कर कम्तीमा ७५ प्रतिशत हुनुपर्ने बताउँदै आएको छ ।
करको दर ३५ प्रतिशतले वृद्धि गरे हालको राजस्वभन्दा थप ६.३ देखि ७.५ अर्ब रुपैयाँ राजश्व वृद्धि हुने र सुर्तिजन्य पदार्थको खपतमा ३ देखि ७ प्रतिशतले कमी आउने देखिन्छ । ६० प्रतिशत कर बृद्धि गर्न सके राजश्व रकममा १० देखि १२.६ अर्व रुपैयाँ र खपत दरमा ६ देखि ११ प्रतिशत सम्म खपत घट्ने अनुमान छ ।
एनडीआरआईका अनुसन्धान अधिकृत अन्जना लामिछानेले सुर्तीजन्य पदार्थमा कर कम हुँदा वस्तुको मूल्य सस्तो हुने र सस्तो हुँदा सबैको खरीद पहुँचमा पुग्ने हुनाले कर वृद्धि उपयुक्त भएको बताइन् । दक्षिण एशियाली देशहरुमा श्रीलंकामा अहिले ७७.०२ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, पाकिस्तान ६०.७८ प्रतिशत र भारतमा ५७.६० प्रतिशत कर लिन्छ तर हामीकहाँ करीब करीब ३८ प्रतिशत मात्रै छ । यो त अत्यन्तै न्युन भयो । उनले भनिन् । त्यसो त एनडीआरआईले सन् २०२० मा गरेको अनुसन्धानले नेपालको अर्थतन्त्रमा २९.२५ अर्बको क्षति पुगेको देखिएको छ ।
प्रतिष्ठानका विज्ञ सल्लाहकार डा. बाबुराम मरासिनीले सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न ऐन बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण बर्सेनि ३७ हजार ५२९ जनाले ज्यान गुमाउने गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले हालसालै देशव्यापी गरेको एक अध्ययन अनुसार नेपालमा एक प्रतिशत भन्दा कम(नमुना प्याकेटको ०.३३ प्रतिशत मात्र) अबैध चुरोट फेला परेको थियो । नेपालमा सुर्तिजन्य पदार्थ सेवनकर्ताको संख्या निकै नै उच्च (३२ प्रतिशत) रहेको छ ।