महिला श्रमिकको व्यथा
एउटा संस्थाको अनौपचारिक कार्यक्रममा उपस्थित महिलामध्ये अधिकांशले परिचय दिने क्रममा भने, ‘केही गर्दिनँ, घरमा बस्छु।’ चल्तीको भाषामा ‘हाउसवाइफ’ अर्थात् गृहिणी। यसो भनिरहँदा उनीहरूले कताकता धक मानेजस्तो, लज्जाबोध भए जस्तो हाउभाउ व्यक्त गरेका थिए। त्यस दृश्यले कार्यक्रममा उपस्थित कतिपयलाई अप्ठ्यारो महसुस गरायो। जो महिला बिहान भाले बास्नुअघि उठेर मध्यरातमा चराचुरुंगी गुँडमा पसेर ननिदाउन्जेल सन्तान र घरपरिवारका लागि खटिन्छे। उसैलाई आफूले गरेको काम आत्मसम्मानका साथ बताउन कठिन हुन्छ। लजाएर हिँड्नुपर्ने परिस्थिति आखिर केले निम्त्यायो ? भान्सालगायत घरायसी कामको मात्र जिम्मामा महिलालाई कसले लगायो ?
सानैदेखि आमालाई मात्र भान्साका काममा जोतिएको देखेपछि छोराछोरीले बाउलाई त्यहाँ देख्दा छक्क पर्न बेर मान्दैनन्। बाउजस्तै आफू पनि त्यस्ता झिना मसिना ठानिएका कामबाट पन्छिन थाल्छन्। किनने धेरैपटक देख्दै गएपछि हरेक कुरा सामान्य लाग्न थाल्छन्। हामी यस्तो देशका महिला हौं जो सदियौंदेखि घरायासी कामकाजका अभिन्न पक्ष जस्तै पकाउने, सरसफाइ गर्ने, हेरचाह गर्ने र श्रमिकका रूपमा दिनरात खट्छौं। तर, न श्रमको मूल्य दिइन्छ न श्रमिक मानिन्छ। बिनातलब दिनको १८ घन्टाभन्दा बढी घरको काममा खटिने बाध्यता छ। महिलाले गरेको श्रम न राष्ट्रिय सुरक्षा प्रणालीमा गणना हुन्छ न सामाजिक सुरक्षाभित्र सुरक्षित हुन सकिन्छ। विश्वका कतिपय मुलुकले यस्ता घरघरमा गरिने श्रमको सम्मान गर्दै महिलालाई सामाजिक सुरक्षा प्रणालीभित्र समेटेर सेवा प्रदान गर्ने गरेका छन्।
नेपाली समाज आजको परिवर्तित समयमा पनि घरको सामान्य पूजापाठदेखि सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावहारिक हरदायित्वमा निपूर्ण कालीगढी कामदार बुहारीको खोजीमा भौतारिइरहेको छ। अर्कातर्फ शारीरिक, मानसिक रूपमा कुशल, रूपवती, गुणवती, पुण्यवती सतीसावित्रीहरूको भूमिका निर्वाह गर्छन्। हरक्षण अग्निपरीक्षामा होमिन सक्ने ज्यामी माहुरी जस्ती स्वास्नीको जप गरिरहन्छन् एकथरी पुरुषहरू।
दिगो विकास लक्ष्यबमोजिम महिलाले ११ घण्टा काम गर्दै आएकोमा सन् २०३० सम्म ६ घण्टा पुर्याउने योजना आएको छ। घरभित्रको काम आफसेआफ कसरी घटछ ? सरकार आफैं भन्छ, अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो संख्याका श्रमिक महिलाको व्यवस्थापन गर्ने बाँकी नै छ। हिजोदेखि आजसम्म लगाइने लुगा, ओढ्ने र ओच्छ्याइने गुन्द्री, गलैंचा, राडीपाखी, चकटीदेखि घरघरमा हुने हस्तकलाका सामान आदि हाम्रै आमा, हजुरआमा, दिदीबहिनीहरूले बनाउँदै आएका छन्। उनीहरूले जानेबुझेको स्थानीय सीपहरू क्रमशः हराउँदै जान थालेका छन्। अफसोच ! यस्ता असंख्य सीपहरूलाई बजारीकरण गर्न, उद्यमशीलतामा बदल्न न स्थानीय सरकारले ध्यान दियो न संघीय सरकार र निजी क्षेत्रले नै।
चाहे कोदोको रोपाइँ होस् या धानकै बिउबिजन उमार्ने, गोडमेल गर्ने थन्काउनेदेखि खानेकुरा सुकाउने, पकाउने, सञ्चित गरेर राख्ने काम महिलाले नै गर्दै आएका छन्। रोप्ने, जगाउने, सिर्जना गर्नेदेखि भान्सामा मिठा परिकार पकाउने कामको जिम्मा महिलाकै थाप्लोमा हुन्छ। बिहे, ब्रतबन्धमा पाक्ने रोटी, कसार, जन्तीको खानपिन, साइपाटा, श्रृङ्गारका सामग्री, दुबो वा फूलको माला, जग्गेका सामग्री सबैमा महिला अग्रसर हुन्छन्। घर सजाउन होस्, बेहुला–बेहुली सजाउने कार्यमा, महिला नै निपूर्ण हुनुपर्छ। कतिपय सामग्री आफैंले घरमै उत्पादन गर्छन्। केही बजारबाट खरिद गरिन्छन् तर दुःखको कुरा हिजोका परम्परागत सीपलाई उद्यमशीलतामा रूपान्तरण गर्न यद्यपि सकिएको छैन। ‘धर्तीमाथिको दाबी, अधिकारको लडाइँ’ भन्ने पुस्तकमा बिन्दा पाण्डे लेख्छिन्, ‘महिला हरेक आन्दोलनमा पुरुषसँगै आए तर पदमा पछाडि पारियो। महिलाले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधान सभामार्फत केही प्राप्त गरे। आन्दोलनसँगै सामाजिक तथा आर्थिक आन्दोलन सशक्त हुन सकेन। जीडीपीमा उनीहरूको श्रमको मूल्य गणना हुँदैन।’
हरेक साँझ बिहान भान्सामा के उमालेर परिवारको पेट भर्ने भन्ने पिरलोमा सबैभन्दा बढी महिलाहरू नै पर्छन् तापनि उनीहरूको श्रमको उचित मूल्यांकन न राज्यले गर्न सक्यो न यो समाज, घर र परिवारले। विश्वमै लाखौंको संख्यामा महिला तथा बालबालिका घरेलु हिंसामा परेका तथ्यांक सार्वजनिक भइरहेका छन्। दिनभर डोको, ठेला र फुटपाथमा व्यवसाय गर्ने महिला छिनछिनमा मानसिक र शारीरिक हिंसा खेप्न बाध्य छन्। आनन्दसँग श्वास फेर्दै मेरो सरकारले बनाएको सार्वजनिक शौचालय भनेर गर्व गर्ने गरी पिसाब फेर्ने धोको कहिले पूरा होला ?
संविधानमा समान ज्याला भनेर लेखिए पनि महिलाले पुरुषको बराबरी काम गर्दा समान तलब पाउँदैनन्। कतिपय क्षेत्रमा अन्य श्रमिकले जति महिला श्रमिकले सम्मान, पारिश्रमिक, सुरक्षाको प्रत्याभूति छैन। औपचारिक क्षेत्रको श्रममा तुलनात्मक रूपमा महिलाको हक अधिकार सुरक्षित देखिन्छ। विवाहपछि कतिपय अवस्थामा लैंगिक भूमिका बाधक हुन्छ। बालबच्चा जन्माएपछि झन् महिलाहरूको वृत्ति विकास नै रोकिनेसमेत चुनौती खडा हुन्छ। महिला घरबाट बाहिर थोरै भए पनि चियाउन थालेका छन्। त्यसो त कतिलाई भान्साबाट बाहिर आउन कैयौं समय लाग्नेवाला छ।
जबसम्म घरको कामको जिम्मेवारी महिला पुरुष दुवैको मानिँदैन, तबसम्म समानता हाम्रै घरभित्र आउन कैयौं वर्ष लाग्नेछ। आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन आजभन्दा १३० वर्षअघि अमेरिकाको सिकागो सहरका मजदुरहरूको माग थियो। उनीहरूको तीन वर्ष लामो बलिदानीपूर्ण संघर्षपछि १ मे १८८६ मा माग पूरा भएको हो। त्यही दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा विश्वमा स्मरण गरिन्छ। नेपालमा मे दिवस २०१९ सालदेखि मनाउन थालिएको हो। आज ‘श्रम ऐन’को व्यवस्था छ। यद्यपि मजदुरको पारिश्रमिकका विषयमा अनेक समस्या छन्। देशमा समय–समयमा ऐतिहासिक र राजनीतिक परिवर्तन भए।
श्रमिकलाई समस्यामुक्त गर्ने उलेख्य अनुभूति कुनै सरकारबाट भएन। योजनाहरू बनाउँदा उनीहरूको मागलाई केन्द्रमा राखेर काम गर्ने र आवश्यकताको पहिचान गर्ने प्रयाससम्म गरिएन। देशमा स्थानीय चुनावको चहल–पहल दिनप्रतिदिन बढिरहेको छ। चुनावका नाममा करोडौंको खोलो बगाइन्छ तर मजदुरका मुद्दालाई अघि सार्न खर्च होला कि जस्तो गरिन्छ। आर्थिक रूपमा आत्मनिर्भर नभएका, दलित, उत्पीडित, सीमान्तकृत महिला र पिँधमा परेका वर्गका लागि सचेत नागरिकले के सोच्यौं ? राज्यले पनि अनौपचारिक या औपचारिक क्षेत्रमा काम गर्ने महिलाका समस्यालाई सम्बोधन गरी ठोस योजनाहरू ल्याउन जरुरी छ।