लोकतन्त्रको महायज्ञ
यतिखेर स्थानीय तहको निर्वाचनको माहोल छ। अभ्यासका दृष्टिले अहिले लोकतन्त्रको महायज्ञ चलिरहेको छ। नेपालका बालिग मतदाताहरू योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्ने दिन वैशाख ३० को व्यग्र प्रतीक्षामा छन्। हाम्रो संविधान र कानुनले गोप्य मतदानको व्यवस्था गरेको छ। व्यक्तिगत स्वतन्त्रता र विवेक प्रयोग गर्ने यो नै सर्वोत्तम विधि हो।
राजनीतिक दलहरू मैदानमा उत्रिएर विगतको कमी, कमजोरीप्रति प्रायश्चित्त गर्दै र भविष्यप्रति राम्रो गर्ने संकल्प गर्नु बुद्धिमानी हुनेछ। यसरी जनतालाई आफूतर्फ आकर्षित गर्न भरपूर कोसिस गर्नु वर्तमान सन्दर्भको आवश्यकता पनि हो। तर निर्वाचनका दौरानमा दलहरूले जारी गरेका घोषणापत्र वा प्रतिबद्धता पत्रमा आफ्नो दूरदर्शिता दर्शाउनेभन्दा अरूप्रति दोषदर्शिता ओकल्ने काम गरेका छन्। सत्य के हो भने आफ्नो अनुहार कस्तो छ भन्ने थाहा पाउन ऐना नै हेर्नुपर्छ। राजनीतिक दलहरूका ऐना भनेका सर्वसाधारण जनता हुन्। उनीहरूको चेतनाले राजनीतिक दलहरूको अनुहार ठम्याइसकेको हुन्छ। तर, यो वास्तविकतालाई राजनीतिक
दलका नेताहरू स्वीकार्न चाहँदैनन्। आफ्नो अनुहारलाई आफैं सुन्दर भनिरहेका हुन्छन्। आफूमात्रै रूपवाला दाबी गरिरहेका हुन्छन्। दलहरूको यही अर्घेलो र अहंकारी व्यवहारबाट लोकतन्त्रको ताजमा लाज प्रतीत हुन्छ।
अहिले लोकतन्त्रलाई जोगाउन भन्दै निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरूका बीचमा अनौठो गठबन्धनको अभ्यास भइरहेको छ। पालिकाहरूका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको सिटलाई दलीय भागबन्डा गरेर सोहीबमोजिम मतदान गर्न राजनीतिक दलहरूले आदेश जारी गरिरहेका छन्। यस प्रकार माथिबाट तल झरेको आदेश वा निर्देशनलाई तलकाले सिर्जनात्मक उत्तेजना (क्रियटिभ एक्साइटमेन्ट) को रूपमा ग्रहण गर्नुपथ्र्यो। त्यसो गरेको भए त्यसलाई अति राम्रो भन्न सकिन्थ्यो। हार्दिकतापूर्वक प्रतिबद्धता (हर्टफेल्ट कमिटमेन्ट) जाहेर गरेको अवस्था हुन्थ्यो भने ठीक भन्न सकिन्थ्यो। प्रसन्नतापूर्वक सहयोग (चियरफुल कोअप्रेसन) को भाव पैदा भएको भए माथिको आदेशको मर्यादा कायम रहेको भन्ने स्थिति हुन्थ्यो।
जराधार तहमा इच्छापूर्वक परिपालना (विलिङ्ली कम्प्लायन्स) को आसय व्यक्त भएको भए पनि ठीकै मान्न सकिन्थ्यो। तर, माथिबाट जारी भएको आदेशले पहिलो कुरा महिला उम्मेदवारीलाई खुम्चाइदिएको छ। संविधानले दिएको अधिकार र अवसर उपर अनदेखा भएको छ। दोस्रो कुरा उम्मेदवार जनताप्रति जवाफदेही हुनुपर्नेमा दलप्रति जवाफदेही र नेताको आज्ञाकारी भएको स्थिति छ। तेस्रो कुरा तलका संगठित तथा क्रियाशील सदस्यहरूमा असन्तोषको सुनामी पैदा भएको छ। माथिको आदेशउपर अनिच्छापूर्वक आज्ञाकारिता (मलाईसियस ओबिडेन्स) को अवस्था उत्पन्न भएको छ। यसले सकारात्मकभन्दा नकारात्मक तरंग पैदा गरेको छ। यस्तो अवस्थामा तलकाले विद्रोह गर्ने स्थिति पैदा हुन्छ। यसै कारण कतिले विद्रोह स्वरूप पार्टी परित्याग गरेका छन्। कति बागी उमेदवार बनेका छन्। लोकतन्त्रमा ‘इम्पोज’ सैह्य हुँदैन। अहिले ‘इम्पोज’ गर्न खोजिएको मनोविज्ञान व्याप्त भएको छ।
राज्यका महत्त्वपूर्ण अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाउपर प्रदर्शन हुने आस्था, मर्यादा र विश्वासले लोकतन्त्रको आलोक अझ चम्किलो र आयाम अझ फराकिलो हुन्छ।
राजनीतिक दलहरू आफ्ना सिद्धान्त, दर्शन र विचारलाई सत्तास्वार्थका निमित्त निलम्बन गर्न तयार हुने गरेका दृष्टान्त वर्तमान संविधान जारी भएको छोटो अवधिमै स्थापित भएका छन्। लोकतन्त्र र संविधानको रक्षा गर्ने भनेर आफ्ना निर्णयलाई सही सावित गराउन सबै दल न्वारानदेखिको ताकत खर्चिरहेका छन्। व्यवस्थापिका र न्यायपालिकाउपर राजनीतिक दलले दर्शाइरहेको बलमिचाइँले पनि लोकतान्त्रिक संस्थाहरूको मनोविज्ञान कमजोर भएको विश्लेषण गर्न थालिएको छ। यस प्रकारको अस्वाभाविक घटनाक्रमको साक्षी हुन पर्दा पनि नेपालमा लोकतन्त्रलाई लाज लागेको हुनुपर्छ।
लोकतन्त्रको आलोकमा राजनीतिक प्रणाली, शासन व्यवस्था र नागरिक सम्बन्धका आयामहरू फराकिला हुन्छन्। व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्ति (लाइफ, लिबर्टी एन्ड प्रोपर्टी) को रक्षा सुनिश्चित हुन्छ भन्ने आमविश्वास छ। व्यक्तिको जीवनमा उज्यालो ल्याउन र राष्ट्रको भविष्यलाई उज्वलमय बनाउन लोकतन्त्रले सञ्जीवनी प्रदान गर्छ भन्ने दृष्टान्त विश्वभर स्थापित छ। यसैकारण लोकतन्त्र महिमामय छ। लोकतन्त्र राजनीतिक दलका नेताको मात्र चिन्ताको विषय होइन। आम समावेशिता, सहभागिता र स्वामित्वको विषय हो। नेपाली जनताले क्रान्ति गरेर २००७ सालमा लोकतन्त्र प्राप्त गरेका हुन्। २०४६/०४७ को जनआन्दोलनका माध्यमबाट २०१७ सालमा खोसिएको लोकतन्त्र फिर्ता भएको हो। दसवर्षे जनयुद्ध र २०६२/०६३ को १९ दिने जनआन्दोलनबाट फेरि धरापमा परेको लोकतन्त्र जोगिएको हो। नेपाली भूमिमा लोकतन्त्रलाई जन्माउन, जोगाउन र जीवन्त बनाउन नेपालीको धेरै रगत पसिना बगेको छ। त्यसैले लोकतन्त्र जनमनमा प्रिय छ। लोकतन्त्रलाई कमजोर बनाउन कसैले दुष्प्रयास गर्छ भने त्यो सैह्य नहुने तथ्यको साक्षी इतिहास छ।
वर्तमान संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताका बारेमा उल्लेख गरिएको छ। यसर्थ नेपाल लोकतन्त्रात्मक राज्य हो। नेपालको संविधान लोकतन्त्रको संंरक्षक हो। लोकतन्त्रलाई व्यवहारमा उतार्न लोकतान्त्रीकरणको प्रक्रिया सधैं जारी रहनुपर्छ। व्यक्ति लोकतान्त्रिक संस्कारयुक्त हुनुपर्छ। राजनीतिक दलहरू लोकतान्त्रिक आदर्श, अनुशासन र अभ्यासले अब्बल हुनुपर्छ। शासन व्यवस्था लोकतान्त्रिक विधि र प्रक्रियाले चल्नुपर्छ। राज्यका अंगहरूको आचरण र व्यवहार लोकतान्त्रिक संस्कारयुक्त हुनुपर्छ। स्वतन्त्र प्रेसले सत्य, सन्तुलित र विश्वसनीय भूमिका खेलिरहनु पर्छ। नागरिकदेखि नेतासम्म र समुदायदेखि सरकारसम्म राष्ट्रका सम्पूर्ण अवयवमा लोकतन्त्रका मूल्यमान्यता आत्मसात् भइरहनु पर्छ। उक्त कुरा दैनिक आचरण र अभ्यासमा झल्किनु पर्छ।
राजनीतिक दलहरूले गर्ने अभ्यासबाट सर्वसाधारण जनता लोकतन्त्रप्रति साक्षर हँुदै जान्छन्। मानिसको राजनीतिक जीवन जति लोकतन्त्रमय हँुदै जान्छ, लोकतन्त्रको जग पनि त्यति नै बलियो हुँदै जान्छ। स्वस्थ प्रतिस्पर्धामा आधारित राजनीतिले लोकतन्त्रलाई समुन्नत बनाउँदै लैजान्छ। लोकतान्त्रिक संस्थाहरूको तटस्थ र स्वतन्त्र भूमिकाले लोकतन्त्रको सुदृढीकरण कामयाव हँुदै जान्छ। लोकतन्त्रले नागरिक सर्वोच्चतामा विश्वास गर्छ। लोकतन्त्रमा नागरिक सार्वभौम हुन्छन्। नागरिकमा निहित सार्वभौम सत्ताको प्रयोग गर्न बालिग नागरिक निर्वाचनमा सरिक हुन्छन्। आफ्नो अमूल्य मतबाट विजय भएका प्रतिनिधिलाई आवधिक रूपमा उक्त सार्वभौमसत्ताको प्रयोग गर्न अधिकार सुम्पन्छन्। तिनै निर्वाचितले सञ्चालन गरेको शासन व्यवस्थाबाट शासित हुन्छन्। यसरी आवधिक निर्वाचनले नै लोकतन्त्रलाई जीवन्त बनाउँछ।
राजनीतिक दलहरूले नै लोकतन्त्रलाई गतिशील बनाउँछन्। दलबीचको प्रतिस्पर्धाबाट राजनीतिक नेताहरूलाई शासन सत्ता सम्हाल्ने अवसर प्राप्त हुन्छ। यसरी सत्तामा पुग्ने नेतामा निरंकुश बन्ने सोच किमार्थ नआओस् भनेर संविधानद्वारा नै लोकतान्त्रिक संस्थाबीच नियन्त्रण र सन्तुलनको व्यवस्था गरिएको हुन्छ। स्वतन्त्र प्रेसले लोकतन्त्रको पहरेदारी गर्छ। कथंकदाचित लोकतन्त्रमा खतरा आइलागे स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाले उद्धार गर्छ। नेपालको लोकतन्त्र यिनै आदर्शबाट अभिप्रेरित छ। बेलाबखत लोकतन्त्रउपर आइलागेका संकटको मोचन पनि यिनै प्रबन्धबाट सम्भव भएको छ।
मानिसको राजनीतिक जीवन जति लोकतन्त्रमय हुँदै जान्छ, लोकतन्त्रको जग पनि त्यति नै बलियो हुँदै जान्छ। स्वस्थ प्रतिस्पर्धामा आधारित राजनीतिले लोकतन्त्रलाई समुन्नत बनाउँदै लैजान्छ।
निःसन्देह नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रप्रतिको निष्ठा उच्च छ। यो अत्यन्त सुखद् पक्ष हो। राजनीतिक दलका नेताहरूले लोकतन्त्रउपर दर्शाउने श्रद्धा र प्रेमभाव पनि उच्चकोटीको छ। यो उज्ज्वल पक्ष हो। तर प्रतिस्पर्धात्मक राजनीतिमा प्रदर्शन भइरहेको राष्ट्रिय मनोविज्ञानले भने प्रश्न गर्ने ठाउँ दिएको छ। नेताहरूले व्यक्त गर्ने दोषदर्षितायुक्त भाव भने पटक्कै प्रीतिकर छैन। अरूलाई दोष लगाएर आफूमात्र सद्दे छु भन्ने अहंभाव छ। जसले स्वस्थ प्रतिस्पर्धालाई धमिल्याउने काम गरेको छ। यसबाट राजनीतिको आवरणमा मिथ्या र भ्रमको जालो जेलिँदै गएको छ। यसलाई चिन्न र चिर्न जरुरी छ। राजनीतिक वृत्तबाटै राज्य संयन्त्रमा सेटिङ भएको सन्देश बेलाबखत सम्प्रेषण हुने गर्छ। यसले पनि राज्यका अंगउपर जीवनभरको विश्वास खल्बलिएको छ। यस्तो आममनोविज्ञान बन्दै जानु पनि लोकतन्त्रका लागि सुहाउने कुरा होइन।
राज्यका महत्त्वपूर्ण अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाउपर प्रदर्शन हुने आस्था, मर्यादा र विश्वासले लोकतन्त्रको आलोक अझ चम्किलो र आयाम अझ फराकिलो हुन्छ। यस सन्दर्भमा नेपाल राज्यका उल्लेखित अंगहरू यदाकदा अनुमान नगरिएको संकट व्यहोर्न विवश छन्। सरकार अविच्छिन्न उत्तराधिकारको मान्यताबाट सञ्चालित छ। यो सर्वमान्य सिद्धान्त हो। यसो हुँदाहुँदै पनि सरकारमा पुगेका दलहरूले राम्रो कामको जस आफूले लिने र अपजसको भागीदार अरूलाई बनाउने अतिरञ्जना दोहो¥याइरहेका छन्। यस प्रकारका चरित्र लोकतन्त्रमा ग्राह्य हुँदैन। यसबाट लोकतन्त्रको सबलीकरण पनि हुन सक्दैन।
इतिहासबाट शिक्षा लिँदै के हेक्का राख्न जरुरी छ भने खेलकुद प्रतियोगितामा स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडी, रेफ्री र अम्पायरबाट खेल अनुशासनको परिपालना अनिवार्य हुन्छ। त्यसरी नै लोकतन्त्रको आलोकमा स्वस्थ अभ्यास गर्न लोकतान्त्रिक संस्थाहरूबाट लोकतान्त्रिक विधि, प्रक्रिया र अनुशासनको अवलम्बन हुन अनिवार्य हुन्छ। यस प्रकारको साधनाबाट हाम्रो देशका लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्र, निष्पक्ष र सक्षम भूमिकालाई निखार्दै लैजान सकिन्छ। बेलाबखत पैदा हुने लज्जाबोधको स्थितिबाट लोकतन्त्रलाई जोगाउन सकिन्छ।
विक्रम सम्बत् २०७९ प्रारम्भ भइसकेको छ। यसलाई निर्वाचन वर्षको रूपमा हेर्न थालिएको छ। निर्वाचन हुने वर्षमा जनता पनि ‘जनार्दन’ हुन्छन्। यो अवसरमा राजनीतिक दलहरूले जनताप्रति अत्यन्तै उच्च आदर र सम्मान प्रकट गर्ने गर्छन्। अहिले यस्तै माहोल छ। जनतामा अपार उत्साह पैदा भएको छ। यो दृश्यबाट लोकतन्त्र मुस्कुराइरहेको विश्वास गर्न सकिन्छ। वास्तवमा मुस्कुराइरहेको लोकतन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा फलिभूत तुल्याउन अमृत सिञ्चन गर्छ। अतः नेपाली धरतीमा लोकतन्त्रलाई लाज लाग्ने कुरा नहोऊन्। लोकतन्त्रको ताज सधैं मुस्कुराइरहोस् भन्ने कामना।