माओवादी जनयुद्धका कमाण्डरसहित ११ जना कारवाहीमा

उदयपुर : निर्वाचनमा पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै नेकपा माओवादी केन्द्रले जनयुद्धका कमाण्डर भिमबहादुर अधिकारी (अनिल)सहित ११ जनालाई कारवाही गरेको छ। देशभर बागी उम्मेदवारलाई कारवाही गर्ने प्रकृया चलिरहेका बेला माओवादीले प्रदेश कमिटी सदस्य अधिकारी, कृष्णप्रसाद बराल र यदु ढकालसहित जिल्लाका अन्य नेतालाई कारवाहीको सिफारिस र निलम्वन गरेको हो।
अधिकारी दश वर्षे जनयुद्धका कमाण्डर हुन्। ढकाल पनि जनयुद्धकै नेता हुन्। लामो समयदेखि सत्ता र नेतृत्वबाट उपेक्षमा परेका उनीहरु पार्टीभित्र गुटगत प्रवृति हावि भएको भन्दै फरकमत राख्दै आएका थिए। सुरुदेखि नै जनयुद्धमा लागेपनि सार्वजनिक पद, प्रतिष्ठा र पार्टी नेतृत्वमा केहीमा पनि पार्टीले सिफारिस नपरेपछि असन्तुष्टि बन्दै आएका थिए।
उनीहरुलाई पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कारवाही गरेको प्रदेश समितका अध्यक्ष हर्क नेम्माङ्गद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। बराल गठबन्धनविरुद्ध कटारी नगरपालिकामा मेयरका उम्मेदवार हुन्। गठबन्धनबाट नेपाली काँग्रेसको भागमा कटारी नगरपालिका परेपछि उनीलगायतका कार्यकर्ता असन्तुष्टि बनेका हुन्।
त्यसैगरी माओवादीले लिम्चुङबुङ गाउँपालिकाका उम्मेदवारविरुद्ध बागी दिने अध्यक्षका उम्मेदवार होमबहादुर राई र वडाध्यक्षका उम्मेदवार भिमबहादुर राईलाई निलम्बन गरेको छ। त्रियुगा नगरपालिकामा उपप्रमुखमा उमेदवारी दिएकी सावित्री थापा, चौदण्डिगढी नगरपालिकामा मेयरको उम्मेदवारी दिएका कमलध्वज राई र वडाध्यक्षका उमेदवार तिलक राईलाई निलम्बन गरेको हो।
प्रदेश समितिले उदयपुरमा बागी उम्मेदवारलाई सघाएको भन्दै रामप्रसाद बराल, दुर्गा बुर्जामगर र तिलक सुवेदीलाई समेत निलम्बन गरेको छ। पटकपटक सचेत गराउँदा पनि पार्टीको आधिकारीक उम्मेद्वारको विरुद्धमा र पार्टीको निर्णय विपरित उम्मेदवारी दर्ता गर्ने र सो उम्मेद्वारी दर्ता गर्न सहयोग गर्ने पार्टी सदस्यलाई कारवाही गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
