जनताले असल नेता नचुनेसम्म दु:ख पाइरहन्छन् : लिङदेन
वीरगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा जनताले राम्रो दल र असल नेता नचुनेसम्म देश र जनता दुवैले दु:ख पाइरहने बताएका छन्।
वीरगन्जमा मङगलबार राप्रपाले आयोजना गरेको चुनावीसभालाइ सम्बोधन गर्दै उनले भने,‘जबसम्म जनताले राम्रो पार्टी र असल नेता चुन्दैनन् तबसम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ती पाउन सक्दैनन्।’ मत दिने कुरा छोरी दिने भन्दा पनि ठूलो कुरा भएको दोहर्याउदै उनले भने,‘तपाईले छोरी दिदाँ हजार पटक सोचेर दिनुहुन्छ, तैपनि कहिले काही लफङगा ज्वाइ परेर दु:ख पाइन्छ तर तपाईंले दिने एउटा मत गलत नेता वा पार्टीमा परेछ भने पुरै समाज र देशले दुःख पाउँछ, आज त्यहि कुरा भईरहेको छ। त्यसैले बैशाख ३० मा जनताका लागि सुअवसर आइरहेकाले राम्रा दल र असल उम्मेदवारलाई मत दिएर यो अवसर सदुपयोग गर्न उनले आग्रह गरे।’
उनले अहिले नेपालको राजनीतिमा भ्रष्टाचार सामान्य जस्तो भएको टिप्पणी गरे। माथिदेखि तलसम्म भ्रष्टाचारले जरा गाडेको भन्दै उनले भने,‘कर तिर्नपनि घुस खुवाउनुपर्छ, कसैले घुस खायो रे! कसैले खुवाएर काम लियो रे! भन्दा तपाईंलाई अचम्म लाग्दैन, किन कि यो त चलन नै भइसकेछ।’ अहिलेसम्म शासनसत्ता काँग्रेस र कम्युनिष्टहरुले चलाएकै कारण मुलुकको दूर्गती भएकाले आसन्न चुनावमा त्यो कुराको ख्याल राखेर मात्र मत दिन उनले आग्रह गरे।
देशलाई झन असफल राष्ट्र बन्नबाट जोगाउन कांग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको र ती सबैको विकल्प राप्रपा नै भएको जिकिर उनले गरे। अबपनि यिनै पार्टीहरुबाट देश बन्छ भनेर यिनीहरुलाई मतदान गर्नु भनेको आफ्नो भावि सन्तती र देशको भविष्यसमेत विगार्नु हो भन्दै उनले भने,‘तर जनताले अब त्यस्तो गल्ती गर्दैनन् भन्ने विश्वास छ।’
उनले हरेक पालिकामा एउटा तालिम केन्द्र बनाएर सीपमुलक तालिमको व्यवस्था मिलाउने, सस्तो व्याजदरमा ऋण उपलब्ध बनाउने, कृषकले पाउने अनुदान सिंधै किसानको खातामा पुग्ने बनाउने, सिंचाई, मल बिउ, कृषको उत्पादनको बजार र भण्डारणको व्यवस्था मिलाउने, पूर्वाधार विकासमा नमुना लायक हुने एजेण्डा राप्रपाको रहेको बताए।
उनले वीराटनगर महानगरका मेयरका उम्मेदवारहरु मध्येसबैभन्दा योग्य मान्छे राप्रपाले गिरीश गिरीलाई बनाएर पठाएको बताए। लिङदेनले भने,‘जाउ गिरीश जाउँ बाउँको सपना पूरा गर, तिमीजस्तो सुयोग्य मान्छे जसले वीरगन्जको बारेमा सँधै चिन्ता लिने मान्छे हौं, तिमिलाई वीरगन्जवासीको खालि हात पठाउँदैन भनेर हामीले कर गरेर पठाएका हौं, अब असल मान्छेलाइ जिताउने या हराउने जिम्मा तपाईंकै हातमा छ र मलाइ विश्वास छ वीरगन्जवासीले असल उम्मेदवार गिरिशलाई नै जिताउने छन्।’
चुनावीसभालाइ राप्रपाकातर्फबाट वीरगन्ज महानगरको मेयरका उम्मेदवार गिरिश गिरीलगायतका नेताले पनि सम्बोधन गरेका थिए।