जाजरकोटका तीन पालिकामा प्रदेश संयन्त्रको निर्णय विपरीत नयाँ गठबन्धन
जाजरकोट : जाजरकोटमा सत्तारुढ दलको प्रदेशस्तरीय संयन्त्रले स्थानीय तहमा गरेको भागबण्डा विपरीत तीन पालिकामा नयाँ गठबन्धन भएको छ। प्रदेश संयन्त्रले कुशे, बारेकोट र छेडागाँड कांग्रेसलाई, नलगाँड, जुनीचाँदे र शिवालय माओवादी केन्द्रलाई र भेरी नगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो।
जिल्लाका चार पालिकामा प्रदेश संयन्त्र अनुसार गठबन्धन कायम भएपनि भेरी, शिवालय र कुशेमा भने फरक ढंगले गठबन्धन भएको छ। कुशे गाँउपालिकामा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ। कुशेमा कांग्रेसबाट अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा देविकासिंह चुनावी मैदानमा उत्रिएका छन्। कुशेमा समाजवादी र माओवादीको गठबन्धन भएको छ। अध्यक्षमा समाजवादीका तप्त हमाल र उपाध्यक्षमा माओवादी केन्द्रका विकास रोकायसहितको नयाँ गठबन्धन भएको छ।
भेरीमा समाजवादीले पाएको भाग खोसेर कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको छ। माओवादी केन्द्रका गगनबहादुर खड्का नगरप्रमुख र कांग्रेसकी सिता जैसी उपप्रमुख हुनेगरी गठबन्धन भित्रको गठबन्धन भएको छ। समाजवादीका अध्यक्ष कमानबहादुर खड्का एक्लै चुनावी मैदानमा उत्रिएका छन्। उनले प्रदेश संयन्त्रले गरेको निर्णय कार्यान्वयन गराउन पहल भैरहेको बताए। भेरीमा कांग्रेसले माओवादीलाई मेयरमा सघाएपछि माओवादीको भागमा परेको शिवालय गाँउपालिका कांग्रेसको भागमा परेको छ। कांग्रेसका शेरबहादुर शाहीलाई अध्यक्षमा माओवादीले सघाउने छ। भने उपाध्यक्षमा माओवादीका गिता शाहीलाई कांग्रेसले सघाउनेगरी गठबन्धन गरिएको छ।
अन्य पालिकामा भने प्रदेश संयन्त्रले गरेको निर्णय कार्यान्वयन भएको छ। छेडागाँडमा कांग्रेसका रत्नबहादुर खड्का नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा, नलगाँडमा माओवादी केन्द्रका डम्बर बहादुर रावत नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसबाट सरिता सिंह, बारेकोटमा कांग्रेसबाट अध्यक्षमा महेन्द्रबहादुर शाह र माओवादी केन्द्रबाट नरबहादुर गिरी उपाध्यक्षमा, जुनीचाँदेमा माओवादी केन्द्रकी शिवा आचार्य अध्यक्ष र कांग्रेसका विरेन्द्र शाही उपाध्यक्षमा मनोनयन परेको छ।
यी पालिकामा सत्ता गठबन्धनकोसहमति अनुसार नै उम्मेदवारी परेको हो। एमालेले भने सबै पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ।