छोरालाई सहिद घोषणा गराउन बुवा उम्मेदवार
ढल्केवर : धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका रामजीवन महतो मत माग्न बिहानै मतदाताको घरदैलोमा पुग्छन्। स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उनलाई मतदाता भेटेर भोट माग्ने चटारो छ। उनी वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार हुन्। रामजीवनको चुनावी व्यानरमा दिलीपको तस्बिर राखिएको छ। उनकै समर्पणमा आफू चुनावी मैदानमा उत्रिएको रामजीवनको भनाइ छ।
उनैले चलाएको अभियानलाई सफल बनाएर समृद्ध वडा बनाउने आफ्नो योजना रहेको उनी सुनाउँछन्। ‘गाउँका प्रायजसो सबै मतदाताले एउटा भोट दिलीपका लागि दिने भनेर वाचा गरेका छन्। सबै मतदाताको साथ र समर्थन पाए मेरो जित सुनिश्चित छ,’ रामजीवन भन्छन्, ‘वडा कार्यालयमा दिलीपको फोटो झुन्ड्याएर उनको अभियान शुभारम्भ गर्छु। समृद्ध वडाको निर्माण गरेर छोराको सपना पूरा गर्छु।’
दिलीपलाई पर्यावरण सहिद घोषणा गराउन सरकारसँग पहल गर्न चुनावमा उठेको उनले बताए। उनले भने, ‘कुनै पनि नेता र उम्मेदवारले आफ्नो छोराका अधुरो सपना पूरा गर्ने वाचा नगरेपछि आफैं उम्मेदवारी दिएको हुँ।’
चुरे संरक्षण आफ्नो प्रमुख एजेन्डा रहेको रामजीवनको भनाइ छ। औरही खोलामा असार महिनाको बाढीले किसानको बिघौंबिघा उब्जाउ जमिन कटान हुने चिन्ताले आफूलाई सताउने गरेको उनले सुनाए। दिलीप २०७६ पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा अवैध उत्खनन रोक्न पुगेका उनको टिपरले किचेर हत्या भएको थियो।